बुधबार, भाद्र ३ गते २०८३
६९औँ राष्ट्रिय सहकारी दिवस

सहकारी केवल संस्था होइन, साझा सपना होः जोगाउने जिम्मेवारी हामी सबैको

चैत्र २०, २०८२ शुक्रबार
सहकारी केवल संस्था होइन, साझा सपना होः जोगाउने जिम्मेवारी हामी सबैको

 

आज नेपालमा ६९औँ राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । “उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मूल नारासहित मनाइँदै गरेको यस दिवसले केवल उत्सवको औपचारिकता मात्र होइन, आत्ममूल्यांकन र दिशा निर्धारणको अवसर पनि प्रदान गरेको छ ।

नेपालमा सहकारीको औपचारिक यात्रा वि.सं. २०१३ सालमा चितवनको बखान सहकारी संस्थाको स्थापनासँगै सुरु भएको मानिन्छ । त्यसपछि विभिन्न चरण पार गर्दै सहकारी आन्दोलन आज देशको अर्थतन्त्र, सामाजिक संरचना र ग्रामीण जीवनको महत्वपूर्ण आधार बनेको छ । चैत २० गतेलाई सहकारी दिवसका रूपमा मनाउने परम्परा पनि यही ऐतिहासिक यात्राको स्मरण र सम्मानस्वरूप स्थापित भएको हो ।

सहकारीको मूल दर्शन “एकका लागि सबै, सबैका लागि एक” ले नेपाली समाजमा आर्थिक मात्र होइन, सामाजिक रूपान्तरणको पनि आधार तयार गर्‍यो । साना बचतकर्तालाई संगठित गर्ने, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलालाई आर्थिक रूपमा सशक्त एवं नेतृत्वदायी बनाउने र स्वरोजगार सिर्जना गर्ने कार्यमा सहकारीहरूले उल्लेखनीय योगदान दिए । कतिपय ठाउँमा सहकारी नै बैंक, बीमा र सामाजिक सुरक्षाको विकल्प बने ।

तर, सहकारीकाे आज त्यति सहज छैन । पछिल्ला वर्षहरूमा केही सहकारी संस्थामा देखिएको बचत अपचलन, अनियमितता, ठगी, अपारदर्शिताका लगायतका घटनाहरूले सम्पूर्ण सहकारी क्षेत्र शंकाको घेरामा छ । लाखौं बचतकर्ताको पसिनाकाे कमाइ जोखिममा परेको छ, विश्वास डगमगाएको छ, र “सहकारी” शब्दप्रति नै आशंका जन्मिएको छ ।

तर यो बेचैनी केवल संस्थागत कमजोरीको परिणाम मात्र होइन, फितलाे नियमन, राजनीतिक हस्तक्षेप, नेतृत्वको विचलन र सदस्यहरूको निष्क्रियताको संयुक्त प्रतिफल हो । सहकारीको मर्मलाई बिर्सेर नाफामुखी प्रतिस्पर्धामा होमिँदा यसको आत्मा नै कमजोर बन्दै गएको देखिन्छ ।

यद्यपि, यति भन्दैमा सहकारीको भविष्य अन्धकारमय छ भन्ने निष्कर्ष निकाल्नु हतार हुनेछ । सहकारीको आधारभूत दर्शन अझै सशक्त छ, यसको सामाजिक आवश्यकता अझै प्रासंगिक छ, र यसको सम्भावना अझै विशाल छ । प्रश्न केवल यसको अभ्यास र व्यवस्थापनमा सुधारको हो ।

सहकारीको भविष्य सुन्दर बनाउन तीन आधारभूत पक्ष अपरिहार्य देखिन्छन् । पहिलो, कडा र प्रभावकारी नियमनः सहकारी विभाग, नियामक निकाय,  केन्द्रिय र विषयगत संघहरूले स्पष्ट भूमिका निर्वाह गर्नुपर्छ । दोस्रो, पारदर्शिता र उत्तरदायित्वः प्रत्येक सहकारीले आफ्ना सदस्यप्रति पूर्ण जवाफदेहि बन्नुपर्छ । र तेस्रो, सदस्य–केन्द्रितताः जहाँ सहकारी पुनः आफ्नै मूल मर्मतर्फ फर्किनुपर्छ । सँगै प्रविधिको प्रयोग, वित्तीय साक्षरता अभिवृद्धि, सुशासनको संस्कार र नेतृत्वको नैतिकता सुदृढ पार्न सके सहकारी क्षेत्रको स्थायित्व मात्र हैन पुनराेदय निश्चित छ।

आजको दिन केवल उत्सव मनाउने दिन होइन, गल्तीकमजाेरी स्वीकार गर्ने, सुधारको प्रतिबद्धता जनाउने र नयाँ सुरुवात गर्ने दिन हो । वेचैन वर्तमानलाई आत्मसात गर्दै, सहकारीलाई पुनः जनताको भरोसाको आधार बनाउने संकल्प लिन सके मात्र यसको भविष्य साँच्चिकै सुनौलो बन्न सक्छ।सहकारी केवल संस्था होइन, साझा सपना हो, त्यो सपना जोगाउने जिम्मेवारी हामी सबैको हो ।