नेपाल बीमा प्राधिकरणले हिल्टन होटेलको पुनर्बीमा प्रकरणमा अनियमितता देखिएको भन्दै नेपाल रिका सिइओ, हिमालयन रि–इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सलाई दुई(दुई लाख रुपैयाँ जरिवाना गरेको छ। यस्तै, एलियन्टपुनर्बीमा ब्रोकर कम्पनीको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ।
प्राधिकरणका अनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा कानुनविपरीत हिमालयन रिमा गरिए पनि दायित्व भने नेपाल रिमा सार्ने प्रयास गरिएको देखिएको थियो। सो विषयमा स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो। जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त हिल्टन होटेलमा करिब ६ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ। उक्त दाबीको दायित्व सरकारी स्वामित्वको नेपाल रिमा पार्न खोजिएको प्राधिकरणको निष्कर्ष छ।
छानबिन समितिले सम्बन्धित कम्पनी र व्यक्तिहरूले निर्देशन उल्लंघन गरेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही आधारमा प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको हो। प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार कारबाही गरिएको जनाएको छ।यस्तै, प्राधिकरणले बीमा ऐनविपरीत काम गरेको भन्दै नेको इन्स्योरेन्स, नेपाल लाइफ, एशियन लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि कारबाही गरेको छ ।
नेपालपत्र संवाददाता