क्यान्सर जस्तो घातक रोगले नेपाली कम्युनिष्ट आन्दोलनका एक भरपर्दो र बिश्वनीय समकालीन क्रान्तिकारी योद्धा नेता कमरेड एकदेब आलेलाई पराजित गर्दा पुष्पलालको हृदय बिदिर्ण बनेको थियो । मुटुमा ठूलो चोट लागे जस्तो भएको थियो । क्यान्सरका बिरुद्ध अन्तिम युद्ध लड्दै गरेका क आलेले ‘डाक्टर साहेब मलाई बचाउनु होस्, म आफ्नै देशमा माटोमा सामन्तबादसँग लड्दै मर्न चाहन्छु’ भनेको अन्तिम वाक्यांशले क.पुष्पलाललाई अति नै छोएको थियो । त्यतिबेला कमरेड आले भारत दरभंगाको लहरियासरायमा अबस्थित दरभंगा मेडिकल कलेजको अस्पतालमा भरना भएका थिए । मृत्युशैयामा पुगेका कमरेड आलेले आफ्नो गाउँ घर र क्षेत्रमा मर्ने कुरा नगरेर आफ्नै देशको माटोमा लड्दै मर्ने जुन इच्छा कमरेड आलेले जाहेर गरे त्यसले सामन्ती बयवस्थाप्रति आलेको मनमा कस्तो घृणा रहेछ भन्ने सन्देश कमरेड पुष्पलालले अनुभूत गरे । त्यसैले क.पुष्पलालले त्यतिबेला पार्टीको तर्फबाट क. आलेको उच्च मूल्यांकन गर्दै एक शोक बक्तब्य निकालेर हार्दिक श्रद्धाञ्जली मात्रै दिएनन् कमरेड आलेको समाजबादी धेय र नयाँ जनबादी क्रान्तिप्रति अबिचलित सिद्धान्तनिष्ठा र दृढ समर्पणको रक्षा गर्दै शोकलाई शक्तिमा बदलेर कमरेड आले जस्तै अबिचलितरुपमा अघि बढ्न पार्टी पंक्तिलाई आह्वान पनि गरे । आलेप्रति उच्च सम्मान प्रकट गर्दै ‘साधु कामी र कमरेड आले’ शीर्षकको एउटा शिक्षाप्रद र महत्वपूर्ण लेख पनि कमरेड पुष्पलालले लेखे । जुन लेख त्यसबेला निस्किएको ‘भुकभुको’ नामको साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो । त्यसपछि त्यसलाई बिभिन्न पत्रपत्रिकाले साभार गरेर पनि छापेका छन् र कमरेड आलेको स्मृतिलाई अबस्मरणीय तुल्याएका छन् ।
‘जनताका अनुकरणीय योद्धा क. एकदेब आल’े शिर्षकका अर्को एउटा लेखमा कमरेड पुष्पलालले लेखेका छन् — ‘कमरेड एकदेब आलेको जीवन क्रान्तिकारी जीवन मात्र नभै समस्त क्रान्तिकारीहरुको निम्ति अनुकरणीय जीवन छ । उहाँ सिद्धानत र ब्यवहार दुबै पक्षमा पक्का क्रान्तिकारी कम्युनिष्ट हुनुहुन्थ्यो नेपालको राजनीतिक जीवनमा प्रबेश गरेदेखिन् आफ्नो अन्तम दिनसम्म चाहे प्रजातान्त्रिक आन्दोलनमा होस, चाहे कम्युनिष्ट आन्दोलनमा, उहाँ हमेशा नै सही बामपन्थ पक्षमा रहनु भयो । ब्यबहारिक क्षेत्रमा उहाँ हमेशा नै ‘पीर, बबर्ची, भिस्ती,खर’कोरुपमा देखिनु भयो । उहाँको सम्पर्कमा आएका प्रत्येक ब्यक्तिले ृ्उहाबाट केवल क्रान्तिकारी भावना मात्र नलिई श्रमप्रति सम्मान गर्ने बानी पनि सिकेका छन् । त्यसको कारण हो – कमरेड आले सम्पूर्ण दैनिक कार्यमा आफै अग्रसर हुनुहुन्थ्यो’ ।
कमरेड आलेका बारेको त्यस लेखमा कमरेड पुष्पलालले थप भन्नु भएको छ – ‘क्रान्तिकारी गुणलेयुक्त भएका कमरेड एकदेब आले नेपालको कुनै सुबिधासम्पन्न परिबारको हुनुहुन्नथ्यो । कमरेड आले नेपालको एक पछौटे मगर जाति र गरीब किसान बर्गको हुनुहुन्थ्यो । उहाँमा क्रान्तिकारी गुण हुनुमा यो बर्गीय श्रोत एक प्रमुख कारण थियो । उहाँको जन्म थलो बीच(मध्य) नेपालको तनहूँ जिल्ला अन्तरगत मनौं गाउँ हो । नेपालका गरीब किसानका छोरा छोरीले जस्तै उहाँले पनि हली र गोठालाको काम गर्नु भएको थियो । बन जंगलको माझ मादी र सेती नदीको बीचमा उहाँको गाउा पर्ने हुँदा बालक कालदेखि नै शिकार खेल्न, जाल हान्न र पौडी खेल्न उहाँ पोख्त हुनुहुन्थ्यो । त्यस भेकका बुढापाका मानिसहरुले आज पनि भन्छन् ‘आले आफ्ना दौतरीहरुको ‘गोठाले’ अर्थात् नेता थियो’ ।
किशोर अबस्था नपुग्दै क. आलेको यो यौवन क्रम टुट्यो । उहाले आफ्नो घरबाट मात्रै होइन देशबाट पनि टाढा जान पर्यो । सामन्ती ब्यवस्थाको शोषणले गर्दा बाँच्न मुश्किल पर्नेहरुको जीवन–क्रम चलाउने अभिमारा सामन्ती राणशाहीले अंग्रेज साम्राज्यबादलाई दिएको थियो । नेपालमा दास प्रथा खतम गरी छोराछोरी बेच्ने अधिकारबाट बाबु आलाई बञ्चित गरे तापनि नेपालका राजका हातमा आफ्नो ‘रैती’ बेच्ने अधकार कायमै थियो र अहिले पनि छ । यसै ब्यबस्था अन्तरगत किशोर आले गल्लावाल हस्ते अग्रेजी साम्राज्यबादको गोर्खा पल्टनमा आफ्नो परिबारको पेट पाल्नका निम्ति भर्ना हुन बाध्य हुनु पर्रयो ।
यो दोश्रो बिश्व युद्धको बखत थियो । नर्मन,जापान र इटलीका फाशिष्ट शक्तिले सारा संसारलार्य निल्न कोशिश गरिरहेको बेला थियो । यस फाशिष्ट शक्तिलाई परास्त गर्नका निम्ति समाजबादी राष्ट्र रुस लगायत अग्रेज,अमेरिका, आदि देशका सरकारहरु पनि एकजुट भएका थिए । यस्तो स्थितिमा क. आले गोर्खा पल्टनको सैनककोरुपमा जर्मन, इटिली, जापान आदि देशमा गाई फाशिष्ट शक्तिसँग मुकाबिला गर्नुभयो । अनजान र अचेतरुपमै किन नहोस् क.आलेले पनि फाशिष्ट शक्तिलाई परास्त गर्नमा योगदान दिनु भयो ।
त्यसरी नै त्यतिबेला नेपाल कम्युनिष्ट पार्टीका नेता हालका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित) पनि कमरेड आलेको क्रान्तिकारी दृढता र समर्पणबाट प्रभावित भएर कमरेड आलेको क्रान्तिकारी धेय र भावना सदा अमर रहने छ र त्यसबाट क्रान्तिकारी कम्युनिष्टहरुले सिक्नु पर्दछ भन्ने भाबनाको कबिता लेखेर आलेप्रति श्रद्धा सुमन ब्यक्त गरेका छन् ।
लामो समयसम्म भारतीय जनवादी लेखक संघका अध्यक्ष रहेका बनारस बिश्व बिद्यालयको अग्रेजी प्रोफेसर चन्द्रवली सिंंहले आलेको स्मरण गर्दै भनका थिए कि मकहाँ कम्युनिष्ट बिचारधाराका बारेमा सिक्न आउने गर्दथे, तर वास्तवमा हामीले उनीबाटै कम्युनिष्ट चरित्र, चिन्तन र दिन चर्या सिक्यौं । कम्युनिष्ट दर्शन, बिचार, सिद्धान्त र नीतिप्रति अत्यन्तै आत्म बिश्वास र दृढता उनमा थियो । त्यो हामी सबैले सिक्ने कुरा हो ।आले जस्ता देश र जनताप्रति निरन्तर निष्ठापूर्ब समर्पित मानिसहरुबाटै कम्युनिष्ट आन्दोलन सही दिशामा सही तरीकाले अघि बढ्न सक्छ । आले साच्चैका अब्बल दर्जाका क्रान्तिकारी कम्युनिष्ट थिए । उनको जीवन र राजनीतिक संघर्षको यात्रा प्रेरणास्पद रहेको छ ।