बुधबार, भाद्र ३ गते २०८३

जात भनेको शक्तिवान् र सम्पत्तीवानहरूले अशक्त गरिबहरूलाई हेँला गर्दागर्दै आफसे आफ बन्नगएको एउटा श्रेणीमात्र हो


आश्विन २८, २०८२ मंगलबार
जात भनेको शक्तिवान् र सम्पत्तीवानहरूले अशक्त गरिबहरूलाई हेँला गर्दागर्दै आफसे आफ बन्नगएको एउटा श्रेणीमात्र हो

गुरूप्रसाद मैनाली (वि.सं. १९५७–२०२८) ले ११ वटा सामाजिक कथाहरूद्वारा नेपाली कथा साहित्यको गौरव र आकर्षण बढाउँदै कथाको मैनाली युग बनाए । समाजका उपेक्षित र साधारण पात्रहरूलाई केन्द्रमा राखेर सामाजिक प्रवृत्तिको विभिन्न आयाममा सफल चित्रण गर्नु उनका कथाहरूको विशेषता हो ।

उनको कथा लेखनलाई हिन्दीका कथाकार प्रेमचन्द र रुसी कथाकार म्याक्सिम गोर्कीसँग तुलना गर्न सकिन्छ । प्रस्तुतीमा बेजोड साहित्य प्रतिभाका लागि उनलाई कथाकार विश्वेश्वरप्रसाद कोइराला र महाकवि लक्ष्मीप्रसाद देवकोटाको तहमा राख्न सकिन्छ । यी कथाहरू कुनै न कुनै तहका विद्यार्थीको पाठ्यपुस्तकमा राखिएको छ ।

सर्वप्रथम उनको कथा ‘नासो’ १९९३ सालमा शारदा पत्रिकामा प्रकाशित भएको थियो । धेरैजसो कथाहरू सोही पत्रिकामा छापिएका हुन् ।

सरकारको न्यायाधीश भएर विभिन्न जिल्लामा बस्दा उनले स्थानीय समाज र त्यसका उल्लेखनीय पात्रहरूका मौलिक मुद्दा र सन्देश जान्ने मौका पाए । ‘नासो’ कथा संग्रहमा उनले लेखेको मन्तब्यमा भनिएको छ, “धेरैजसो कथाहरू मैले स्वयं देखेका अथवा निकटबाट सुनेका सामाजिक दृश्यहरूलाई लिएर लेखेको छु । २/४ वटा मेरा कल्पित भावनाका भरमा पनि परेका छन् ।”

Mainalicouple.jpg

सोही कथा संग्रहको भूमिका लेख्दै समालोचक प्रा. तारानाथ शर्माले भनेका छन्, “उहाँको सबैजसो कथाहरू विरह, शोक र पीडाका प्रतीकको रुपमा उभिएका छन्।.....झर्रा शब्दहरूलाई उपयुक्त ठाउँमा प्रयोग गरेकाले पात्रहरूका वार्तालापमा होस् वा लेखक आफैँका वर्णनमा होस् महलो शैली पाइन्छ ।”

‘नासो’ र ‘परालको आगो’ अँग्रेजीमा पनि अनुदित छन् । नासोलाई पहिले थियोडर रिकार्डी र परालको आगो माइकेल हटले अँग्रेजीमा अनुवाद गरे । जापानी भाषामा पनि अनुवाद भएको हुनुपर्छ ।

काभ्रेको कानपुर गाउँमा जन्मेका मैनाली स्वभावमा रसिक र बोलीमा सटिक अभिव्यक्ति दिने (silver tongued) व्यक्तित्वका धनि थिए । थाहा पाइए अनुसार उनले ‘कुकुर’ नामक एक उपन्यास लेख्न थालेका थिए, तर अधुरो अवस्थामै त्यो आफैँले च्यातच्यूत पारेर फ्याँकिदिए । उनका कान्छा छोरा शिक्षाविद् तथा भूगोलविद् डा. माधवप्रसाद मैनालीसँग भाइचाराको घनिष्ठ सम्बन्ध तथा आवतजावत बन्यो।

उपरोक्त भनाई नासोभित्रकै एक प्रेमकथा ‘विदा’ मा उल्लेख छ । २००५-६ सालतिर लेखेको कथामा जाति प्रथाबारे यति आधुनिक विचार हुनुले कथाकार मैनाली कति आधुनिक विचारका रहेछन् भन्ने थाहा पाउन काफी हुन्छ ।

सो कथामा अगमसिंह खत्रीले आफ्नी बिछट्टै राम्री छोरी प्रभालाई कुलिन क्षेत्रीको छोरासँग बिहे गरिदिने सशक्त अडान लिन्छन् । उनले सोचेजस्तो केटा नपाउँदा बिहा गर्न ढिलो हुनथालेको छ ।

यसैवीच मेजर चन्द्रबहादुर थापाको छोरा नरेन्द्रले प्रभालाई मन पराउँछ र भगाएर घर बाहिर डेरामा राख्छ । यता नरेन्द्रले प्रभासँग गरेको भागी विहे स्वीकार्य हुँदैन र दबाबका बीच अर्को मागी बिहे गराउँछन् । बिहेले भाँडेको प्रेमी–प्रेमिकाको विचलनलाई कथामा समेटिएको छ ।