बुधबार, भाद्र ३ गते २०८३

प्रतिगमन र अग्रगमनको घर्षणको बेला दलहरू मूल मुद्दाबारे संगठित हुनुपर्छ: डा. हर्क गुरूङ्


आश्विन ८, २०८२ बुधबार
प्रतिगमन र अग्रगमनको घर्षणको बेला दलहरू मूल मुद्दाबारे संगठित हुनुपर्छ: डा. हर्क गुरूङ्
विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क गुरुङ्ग (वि.स. १९९५– २०६३) चढेको हेलिकप्टर उनीसहित तल्लो तस्बिरका २४ जना स्वदेशी एवं विदेशीले ७ असोज २०६३ का दिन आफ्नो ज्यान गुमाएका थिए ।
 
अन्तरास्ट्रिय ख्याति आर्जन गरेका भूगोलविद, योजनाविद्, लेखक, चित्रकार, खेलाडी आदि बहुआयामिक व्यक्तित्व डा. हर्कको अदभुत थियो काम गर्ने क्षमता। मद्यपान, धुमपान, साथीभाईसँग तास खेल्न देखि फुटबल (एनआरटी) का राम्रो खेलाडीसम्म, गजबको समन्वय थियो डा. हर्क गुरुङ्गको जीवनमा विलक्षण विद्वत्ता र नैसर्गिकताको। बालकृष्ण समको सान्निध्य र संरक्षणमा चित्रकलातिर प्रवृत्त भएर डा. हर्क गुरुङ्गले कोरेका डाँफे र मुनालका चित्रहरू ५० वर्षअघि नै हुलाक टिकटका रूपमा छापिएका थिए।
 
भुलभुले गाउँका लाहुरे पिता पारस गुरुङ्ग र माता मैँस्यो गुरुङ्गबाट ठूल्कान्छा छोराको रूपमा उत्तरी लमजुङको बाहुनडाँडा नाइँचेस्थित मावलमा उनको जन्म भयो। नौ वर्षम्म भेडीगोठ र गाईगोठको सहारामा रमाईरहेका हर्क पेन्सन थाप्न काठमाडौँ आएका आफ्ना पितालाई पछ्याउँदै खाली खुट्टा सात दिन पैदल हिँडेर काठमाडौँ आइपुगे र काठमाडौँको दरबार स्कूलमा भर्ना भए। लाहुरे परिवार भएकाले त्यसपछि भारतको देहरादून र जालन्धरमा पढ्न गए। काठमाडौँको त्रिचन्द्र कलेज, भूगोल विषयमा पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा बी.ए. अनर्स, तत्पश्चात् एडीनवर्ग विश्व–विद्यालयबाट पहिले डिप्लोमा र पछि सन् १९६५ मा भूगोल विषयमा (२६ वर्षकै उमेरमा) पीएच.डी. गर्ने पहिलो नेपाली बने । 
 
अध्ययन पूरा गरेर स्वदेश फर्किएपछि देश भ्रमणलाई निरन्तरता दिए। पर्यटनमा उत्तिकै चासो राख्ने तत्कालीन कुमार खड्गविक्रम शाह र उनको दोस्तीकै कारण २०२९ मा नेपाल पर्वतारोहण सङ्घ स्थापना भयो। त्यसको दुई वर्षपछि नै पर्यटन मन्त्रालय गठन भयो । डा. गुरुङ्गले त्यस मन्त्रालयको बागडोर सम्हाले, पर्यटनसम्बन्धी धेरै ऐन र नियमावली बनाउने नेतृत्व र समन्वय गरे ।
 
२०४० मा डा. हर्क गुरुङ संयोजक रहेको एक अध्ययन समितिले ७० बुँदे सुझावसहितको 'नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ' प्रतिवेदन तयार पार्यो। यो प्रतिवेदनले उनलाई खासगरी मधेसी समुदायबीच विवादमा पनि पार्यो।
२०४९ तिर उनी एसियन एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक बनेर मलेसिया पुगे। त्यहाँ पाँचवर्ष बिताउँदा उनले अनुभव गरे, 'देशको समग्र विकास गर्नु छ भने पहिला अल्पमतमा परेका र पिछडिएका जातिको उत्थान गर्नुपर्छ।' त्यही चेतले उनी अल्पमत र आदिवासी जनजातिका सशक्त प्रवक्ता बन्नपुगे। राज्यसंरचना को सन्दर्भमा उनी जम्मा २५ जिल्ला र अधिकतम विकेन्द्रीकरणको पक्षमा थिए ।
 
माथि उल्लिखित उनको भनाई 'विषय विविध' नामक उनका विभिन्न लेखहरूको सँगालोको एक लेखबाट झिकिएको हो।