हुन त बर्तमान बिकासका अनेक बिसंगतिहरु बिभिन्न स्तरमा देखा परिरहेका र प्रकट भइरहेका छन् । तर वास्तबिक स्थिति त्यतिबेला मात्र अझ स्पष्ट हुने गर्दछ जब यस बिकासको दौडमा सबैभन्दा अग्रभागमा पुगेको मानिएका देशहरुमा पनि मानिसहरु यस बिकासको सार्थकताका बारेमा प्रश्न उठाउँन थाल्दछन् । बृटिश सोशल साइन्स रिसर्च काउन्सिल(बृटिश समाजशास्त्र अध्ययन परिषद)द्वारा गरिएको एउटा सर्बेक्षणमा यस्तै प्रश्न बर्तमानमा उठाइएको पाइएको छ ।
त्यस सर्बेक्षणमा पाँच बर्षको क्रमा तीन पटक १५०० सामान्य मानिसहरुको स्याम्पल अर्थात नमूना लिएर सोधिएको थियो कि जीवनलाई राम्रो बनाउनका निम्ति उनीहरुले कुन कुरालाई बढी महत्व दिन्छन् र उनीहरुलाई जीवन पहिलाभन्दा राम्रो भइरहेको छ कि छैन के लाग्छ। हुन त बेलायती समाजलाइ पनि अन्य पश्चिमा देशहरुकै जस्तो धेरै भौतिकबादी समाज मानिने गर्दछ । तर त्यहाँका ७१ प्रतिशत मानिसहरुले जीवनको गुणबत्ता(क्वालिटी)लाई बढाउने वा जीवन अझ राम्रो हुनमा जुन कुराहरुमा महत्व दिए त्यसमा तिनको आय या सम्पत्ति बढ्नुसँग कुनै सम्वन्ध देखिदैन । त्यहाँ उपभोक्ता बस्तुहरुलाई भन्दा बढी महत्व ‘राम्रो पारिबारिक जीवन’ र ‘सन्तोषको स्थिति’लाई दिने मानिहरुको संख्या अधिक देखियो । सबैभन्दा महत्वपूर्ण कुरा त त्यस सर्र्बेक्षणबाट के आएको औल्याइएको छ भने सबै नागरिकहरुको मतमा बितेको पाँच बर्षमा उनीहरुलाई उपलब्ध उपभोक्ता बस्तुहरुको मात्रा त बढेको थियो तर जीवनको गुणबत्ता कम भएको थियो । यति मात्र होइन, प्राय जसो सबै मानिसहरुले के बिचार ब्यक्त गरेका थिए भने आउँदो पाँ पाँच बर्षमा पनि यही स्थिति अघि बढ्ने सम्भावना छ कि उपभोक्ता बस्तुहरु त बढ्छन् तर जीवनको गुणस्तरीयता अरु घट्न जानेछ ।
यस सर्बेक्षणबाट के कुरा प्रष्टसँग अगाडि आएको छ भने बर्तमान बिकासका बिसंगतिहरुमाथि जोड दिनु केवल जीवनको गहिराईमा गोता लगाउने केही दर्शनशास्त्रहरु या पर्याबरणबिदहरुसम्ममा सीमित छैन अपितु यस बिकासको क्षेत्रमा अग्रणी मानिने देशहरुका सामान्य मानिसहरुले पनि अब यस पीडालाई बुझ्न थालेका छन् चाहे त्यो बिकल्पहरुको अभावमा पीडाबाट बाहिर निस्कने कुनै दिशा अहिले नै प्राप्त हुन सकेको नहोस् । प्रायःजसो प्रतिब्यक्ति आयलाई नै कुनै पनि देशहको बिकासको सबैभन्दा महत्वपूर्ण द्योतक मान्ने गरिन्छ । चाहे कुनै दुइटा राष्ट्रको तुलना गर्दा होस् या एउटै राष्ट्रको बिगत र बर्तमानको तुलना गर्दा होस् सबैभन्दा प्रचलित तरीका यही अपनाइने गरिन्छ कि राष्ट्रिय आयलाई जनसंख्याले भाग गरेर प्रतिब्यक्ति आय प्राप्त गरिने गरिन्छ । तर बिभिन्न अर्थशास्त्रीहरु तथा गैर अर्थशास्त्री अन्य बिद्वानहरुले पनि राष्ट्रिय आय या प्रतिब्यक्ति आयलाई वास्तविक बिकासको द्योतक मान्ने कुरामा अब बिभिन्न प्रश्न उठाउन थालेका छन् । राष्ट्रिय आयमा बिभिन्न किसिमका बस्तुहरु र सेवाहरुको जोड्ने गरिन्छ । यस कुरालाई कुनै महत्व दिइदैन कि त्यो बस्तु जन कल्याणसँग जोडिएको छ कि समाजका लागि हानीकारक छ । यदि कुनै देशमा एक दशकको कालखण्डमा अन्य कुरा समान रहे पनि मदिरा, सूर्तिजन्य पदार्थ, बेश्याबृत्ति र जुवाघरहरुको तीब्र गतिमा बिकास भइरहेको छ भने पनि राष्ट्रिय आय या प्रतिब्यक्ति आयको तथ्यांक अनुसर बिकासको गति काफी तीब्र भइरहेको मानिन्छ । यो राष्ट्रिय आय या प्रतिब्यक्ति आयद्वारा बिकासलाई बुझ्ने जान्ने एउटा प्रमुख कमजोरी के छ भने पर्यावरणमाथि हुने गरेको क्षतिको उचित आकलन पनि यसमा गरिएको हुँदैन । बरु उल्टै कयौ पटक गलत र बिपरीत आकलन गरिने गरिन्छ । कुनै अमुक देशमा बन जंगललाई राम्रोसँग सुरक्षित राखिएको रहेछ भने त्यो देशको भबिष्यमा जल तथा माटोको संरक्षणको कार्य राम्रोसँग भइरहेको हुन्छ । अन्य देशमा केह बर्षभित्रै सारा जंगल काटेर त्यसबाट प्राप्त काठ बेचिने गरिन्छ र त्यसबाट प्राप्त धनराशी अनेक अनैतिक कार्यहरुमा खर्च गरिन्छ भने पनि राष्ट्रिय आयको तथ्यांकले त यही कुरा बताउँदछ कि त्यहाँ अर्को देश(जंगल संरक्षण गर्नेदेश)भन्दा बढी बिकसित भएको छ । किनकि जंगल फाँडेर काठ बिक्रीबाट आएको धनराशीको गन्ति राष्ट्रिय आयमा गर्ने गरिन्छ । देशले जंगल बचाएर राखेको कुरालाई राष्ट्रिय आयमा पहिचान नै गरिदैन ।
यसरी बिकासको द्योतकका रुपमा राष्ट्रिय आय तथा प्रतिब्यक्ति आयको अन्य प्रमुख थप कमजोरीहरु के छन् भने त्यसबाट हामीलाई आयको बितरणको बारेमा केही पनि थाहा हुँदैन । प्रतिब्यक्ति आय जुन दशकमा सबभन्दा बढेको छ, हुनसक्छ त्यसै दशकमा अर्थब्यवस्थामा तलका ५० प्रतिशत मानिसहरुको अभाव पहिलाभन्दा पनि बढी हुन पुगेको होस् । प्रतिब्यक्ति औसत आयमा बृद्धि पूर्णरुपले सम्पन्न तप्काको आयमा तीब्र गतिले बृद्धि आश्रित हुन सक्छ । यस स्थितिमा अतिरिक्त आय फजुल खर्चमा जान्छ र गरीब बिपन्न मानिसहरुको आधारभूत आवश्यकतामा पनि कटौति गर्नु पर्ने स्थिति आउँदछ । तर राष्ट्रिय तथा प्रतिब्यक्ति आयको तथ्यांकले बताउँदछ कि बिकास तीब्र गतिमा भइरहेको छ । कुनै पन देशका मानिसहरुको पनि आर्थिक स्थितिभन्दा फरक अनेक कुराहरु हुनसक्छन् जुन कुराहरु प्रतिब्यक्ति आयको तथ्यांकको पहुचभन्दा धेरै टाढा पर्दछन् । त्यस्ता देशहरुमा भाइचारा र राम्रो नागरिक हुने भावाना कत्तिको प्रबल होला, पारिबारिक सम्बन्ध कत्तिका कत्तिको राम्रो बनिरहेको या बिग्रिरहेको होला, शिक्षा प्रणाली कस्तो किसिमले चलिरहेको होला, बचपन र बृद्धाबस्ता कत्तिको सुरक्षित र सहज होला जुन देशमा मानिसहरु प्रतिब्यक्ति आयको परिधिभन्दा बहिर परिरहेका हुन्छन् । यद्यपि मानिसहरु त जुनै पनि समाजका लागि बहुत महत्वपूर्ण हुन्छन् नै ।
बेलायतमा बितेको चार दशमा कत्तिको बिकास भयो यो कुरा थाहा पाउनका लागि एउटा अपेक्षाकृत निकै इमानदार प्रयास ‘नब अर्थशास्त्र प्रतिष्ठान’ले गरेको छ । त्यस प्रतिष्ठानले एउटा टिकाऊ कल्याणको योजना पनि अघि सारेको छ ।त्यसको अनुमान अनुसार जहाँ बेलायतको राष्ट्रिय आयमा १९५० देखि १९९० सम्ममा २३० प्रतिशतले बृद्धि भएको छ तर त्यहाँ टिकाउ आर्थिक कल्याणमा मात्र ३ प्रतिशतले बृद्धि भएको छ । त्यसमा पनि अझ १९७५ देखियताको मात्र तथ्यांकलाई हेर्ने हो भने त्यस कालखण्डमा राष्ट्रिय आयमा त एक तिहाईले बृद्धि भएको तर टिकाउ आर्थिक कल्याण्मा ५० प्रतिशत गिरावट आएको देखन्छ । त्यसो हुनुमा ब्यापक पर्यावरणको बिनाश तथा संसाधनको आधारलाई क्षति पुर्याएका कारणले भएको प्रष्ट उल्लेख छ । अर्को शब्दमा भन्दा १९७५–९० को १५ बर्षको समयमा बेलायतमा अबन्नति भइरहेको थियो जबकि राष्ट्रिय आयको तथ्यांकले बिकासको ठूलो ढोल पिटिरहेको थियो । बास्तवमा बिकासको सही पहिचान गर्ने काम बिभिन्न किसिमका बिबादहरुबाट घेरिएको छ । तथापि यति त स्पष्टै छ, या भइरहेको छ कि राष्ट्रिय आय तथा प्रतिब्यक्ति आयको संकेत या द्योतक एकदमै अपर्याप्त तथा सन्तोष मान्न नसकिने कुरा ठहरिएको छ ।
के पनि अझ स्पष्ट भइरहेको छ भने यदि जन कल्याणका समस्याहरुलाई ठीक ठीक किसिमले पत्तो लगायउने अझ ब्यापक र गहन प्रयास गर्ने हो भने परिणाम राष्ट्रिय आयमा आधारित तथ्यांकका भन्दा धेरै फरक आउन सक्छन् । यो केवल एकजना बुद्धिजीवीको बहसको कुरा मात्रै होइन अपितु, यस किसिका अझ राम्रा जानकारीहरुबाट यस बारेमा जनमत तयार पार्न र सही निष्कर्शमा पुग्न धेरै महत्वपूर्ण मद्दत मिल्न सक्छ कि हामी कुन दिशामा गइरहेका छौं र यो बाटो कतिसम्म सही र उचित बाटो हो । अनि जन कल्याणमा कस्तो किसिमले परिबर्तन भइरहेकोछ, हाम्रो जीवन अझ राम्रो हुँदै गइरहेको छ कि अझ बिग्रदै गइरहेको छ यसको ठिक ठिक मूल्यांकन गर्नका लागि यतिबेला बहुतै इमानदारीपूर्बक गरिने प्रयाशहरुको आवश्यकता छ । यसो नगरीकन प्रचलित परम्परालाई अनुसरण गरिरहने मात्र हो भने कुनै नबीनतम निष्कर्श बिना पुरानै यथास्थितिमा अल्मलिने र अड्किने बाहेक अरु केही निष्कर्श ननिस्कने प्रष्टै छ ।