फणीश्वरनाथ मण्डल ’रेणु’ (१९२१ – १९७७) प्रेमचन्द पछि आधुनिक हिन्दी आख्यान साहित्यका सफल र प्रभावशाली लेखक हुन् । उनको चर्चित उपन्यास ‘मैला आँचल’ (१९५४) लाई प्रेमचन्दको उपन्यास ‘गोदान’ पछिको प्रख्यात मानिन्छ । आञ्चलिक विषयवस्तु र शैलीमा आधारित उपन्यास अर्थात प्रतिनिधि कथा सृजना मार्फत समकालीन बिहारको ग्रामीण भारतीय आवाजलाई राष्ट्रिय भावनाको रुपमा मुखरित गर्नमा उनले ख्याती कमाए त्यसैले क्षेत्रीय आवाजलाई मूलधारको हिन्दी साहित्यमा विषयवस्तुको रुपमा सजाउने अग्रज लेखकको स्थानमा उनी स्थापित छन् ।
हामी नेपालीले कृतज्ञतापूर्वक उनको नाम लिनुपर्नेमा, २००३ सालको मजदूर आन्दोलन तथा २००७ सालको जनक्रान्तिमा विराटनगरमा बसेर बौद्धिक र भौतिक दुवै तरिकाले उनी सक्रिय भए, गोली लागेर घाईते भए र स्वतन्त्रता सेनानीको रुपमा असाधारण योगदान पुर्याए। नेपाललाई विषयवस्तु बनाएर उनले अनेक कृति सृजना गरे । नेपाललाई उनी ‘सानीमा’ भन्नेगर्थे । रेणु आफ्नो संस्मरणमा लेख्छन्, “जब कभी नेपाल की धरती पर पाँव रखता हूँ, पहले झुककर एक चुटकी धूल सिर पर डाल लेता हूँ । रोम रोम बज उठते हैं—स्मृतियाँ जग पड़ती हैं । ...जय नेपाल ! नेपाल मेरी सानोआमा ।”
आफ्नो उपनाम ‘रेणु’ भएको रोचक किस्सा, उनले संस्मरणमा लेखेका रहेछन् । उनी जन्मिएको वर्ष, एउटा भयानक फौज्दारी मुद्दा लागेर उनको परिवार ऋणमा फसेछ । त्यसै भएर बज्यै र आमाले लाड–प्यारका साथ उनलाई ‘रिनवा’ (ऋणवा) भन्थे भने गाउँले र दौंतरीले रनवा, रुनु, रुनुक, रीनू.....भनेर बोलाउँथे । विराटनगरस्थित कोइराला निवासमा बस्न थालेपछि एकदिन ‘पिताजी’ कृष्णप्रसाद कोइरालाले ‘तिमीलाई घरमा के नामले बोलाउँछन् ?’ भनेर सोद्धा रेणुले रिनवा नामलाई सकेसम्म सुधारेर ‘राणा भन्छन्’ भनी बताएछन् । सबै हाँस्न थाले । तब उनी सँगसँगै काम गर्ने, विशेष हिमचिम भएका तारिणीप्रसाद कोइरालाले भने, “हैट, यह राणशाही यहाँ नहीं चलेगी !” तब ‘पिताजी’ कृष्णप्रसादले भने “लो, यह अब रेणु हो गया !”
रेणु कोइराला निवासमा परिवारकै सदस्य भएर बसे । आदर्श विद्यालयमा पढेर नेपालबाटै मेट्रिक उत्तीर्ण भए। भन्छन्, “इसके बाद, कभी लगातार तीन महीने तक अपने गाँव में नहीं रहा । आज तक नहीं । १९३५ से १९४२ तक पिताजी के सहज स्नेह का अधिकांश हिस्सा मुझे मिलता रहा । आश्रमतुल्य कोईराला निवास में मेरी सारी महात्वाकांक्षा को सहारा मिला । साहित्य, राजनीति और कला की त्रिवेणी कोइराला निवास । जहाँ भी रहा, मन विराटनगर पर टंगा रहा । बाहर से जब लौटता सीधे विराटनगर पहुँचता । मेरे इस व्यवहार से मेरे बाबुजी, माँ दुखित होते, कभी कभी ।”
‘नेपाली क्रान्ति कथा’ मा बीपी कोइरालालाई उद्धृत गर्दै उनी लेख्छन्, “सबसे बढ़कर रेणु मेरा छोटा भाई था । उसकी क्रान्तिकारी प्रवृत्ति और अन्याय तथा दमन का विरोध करने की उग्रता मेरी ही जैसी थी । उसके विचार मेरे अपने जैसे लगते थे । वास्तव में वह मेरा ही था।.......मेरे लिए रेणु मरा नहीं है । वह मेरे हृदय में जीवित है, हम प्रजातंत्र के सारे नेपाली या भारतीय सिपाहियों के हृदय में जीवित है ।”
रेणुको जन्म ४ मार्च १९२१ मा बिहारको अररिया जिल्लाको सानो गाउँ औरही (हिंगना) मा भएको थियो। बिहारको कट्टर जातीय भेदभावद्वारा बञ्चितीकृत ‘मण्डल’ परिगणित जातिबाट उठेका उनी हिलोमा फूलेका कमल हुन् । तर उनको परिवारले सामाजिक प्रतिष्ठाका कारण जमिन, शिक्षा र सामाजिक अवसरका लागि कदर पनि पायो । उनका किसान पिता शिलानाथ मण्डल, आधुनिक विचार, संस्कृति र कलामा गहिरो चासो लिने प्रबुद्ध व्यक्ति हुनाको साथै भारतीय स्वाधीनता आन्दोलनका सेनानी थिए ।
हिन्दी साहित्यमा सर्वोत्कृष्ट कृति मैला आँचल (१९५४) ले बिहारको विपन्न, बञ्चित र पिछडिएको आम जनजीवनको चित्रण गरेको छ । यसैका आधारमा उनलाई भारतको सर्बोच्च नागरिक सम्मान पद्मश्री (१९७०) द्वारा विभूषित गरिएको थियो । तर प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकाल (१९७५) लागु गरेको विरोधमा उनले सो सम्मान फिर्ता गरे ।
उनको छोटो कथा– मारे गए गुलफाम लाई बासु भट्टाचार्य (कवि–गीतकार शैलेन्द्र) द्वारा उत्कृष्ट फिल्म तीसरी कसम (१९६६) बनाईयो, जसको संवाद उनैले तयार पारेका थिए । अर्को लघुकथा “पाँचलाइट” (पेट्रोम्याक्स) लाई टीभी–चलचित्र बनाइयो । उनले तीन पटक विवाह गरे । पटना मेडिकल कलेज र अस्पतालमा भर्ना हुँदा उनले आफ्नी तेस्री पत्नी लतिका नर्सलाई भेटे, १९५१ मा विवाह गरे । मैला आँचल, मारेगए गुलफाम सृजनामा उनी प्रेरणा बनेकी छिन् । पेटको अल्सरका कारण रेणुको दुखद निधन (११ अप्रिल) पटनामा भयो ।
चन्द्रमणि गाैतम