बुधबार, भाद्र ३ गते २०८३

अमेरिकामा आतंककारी घटना घट्न सक्ने निकै बिग्रँदो अबस्था


पौष २१, २०८१ आइतबार
अमेरिकामा आतंककारी घटना घट्न सक्ने निकै बिग्रँदो अबस्था
 
  नयाँ बर्ष २०२५ अमेरिकाका लागि शुभ संकेत लिएर आएको देखिदैन । किनभने यो शुरु भएको सालको प्रारम्भमा नै बिभिन्न आतंकारी किसिमका घटनाहरु भएको देखियो । त्यसैले एकथरी बिश्लेषकहरु भनिरहेका छन् कि अमेरिकामा आतंकबाद, हिंसा र प्रतिरोधका जस्ता घटनाहरु यस शुरु भएका बर्षमा घटे त्यसले अमेरिकामा आतंकारी घटना घट्न सक्ने अनुमान गरिदिै रहेको  ।
यही जनबरी २० मा अमेरिकाका नब निर्बाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो कार्यकालका लागि सपथ लिदैछन् । त्यस अघि नै त्यहाँ बिभिन्न अनौठो लाग्ने किसिमका घटनाहरु घटिरहेका छन् । हुन सक्छ कि ती घटनाहरु श्रृंखलाबद्ध र सुनियोजित हुन् । के पनि भनिदै छ भने अमेरिकामा केही शक्तिहरु यतिबेला डोनाल्ड ट्रम्पमाथि केही निश्चित नीतिहरु अनाउनका लागि निकै दबाब पनि दिइरहेका छन् ।
यो नब बर्ष २०२५ शुरु हुनासाथ पहिलो घटना अमेरिकाको न्यू ओर्लियन्समा भयो त्यसलाई निश्चितरुपमा ‘जेहादी आतंकबाद’ भन्न सकिने एकथरीको निष्कर्श छ । दोश्रो घटना लास भेगासमा ट्रम्प होटलको मूख्य द्वारमा बाहन बिस्फोटनको माध्यमबाट घटाइएको देखियो । न्यू ओर्लियन्सका हमलाकारी शामसद्दीन जब्बार अमेरिकी सरकारी सेवामा सूचना प्रौद्योगिकी सहायककोरुपमा सेवा गरिसकेका ब्यक्ति थिए । अमेरिकी सेनामा तिनको कार्यकाल एक दशक जतिको रहेको बताइएको छ ।
अर्कोतिर ट्रम्प होटलको घटनाको हमलाकारी मेथ्यू लिभेहसबर्गर भने बर्तमानमै अमेरिकी सेनामा  कार्यरत रहेका थिए । ती दुबै अमेरिकी सेनामा कार्यरत ब्यक्तिहरुले आफ्नो सैनिक सेवाको कार्यकालमा बिभिन्न मोडलहरुबाट सम्मानित पनि भइसकेका रहेछन् । त्यस प्रकारका गम्भीर हमला भइसक्दा पनि अमेरिकी अधिकारीहरुले भने यसलाई त्यति गम्भीरताकासाथ लिएर सही समीक्षा नगरिएको र  हल्काफुल्का किसिमले लिएको देखिदैैछ । ती घटनाहरु अमेरिकाको युद्धपरस्त नीतिहरु र प्यालेस्टिनमा उत्पन्न भइरहेको मानब त्रासदीलाई वेवास्ता गरिएको परिणमस्वरुप भएको हुन सक्ने कुरामा ध्यान दिएको पनि देखिदैन भन्ने बिश्लेषकहरुको निष्कर्श छ । 
वास्तवमा गएको बर्ष फेब्रुअरी महिनामा एक एक कार्यरत वायु सैनिक बुसनेलले वाशिंगटनमा इजरायली दूतावासका अगाडि आत्मदाह गरेर आफ्नो ज्यान दिएको थियो । आफुलाई आगाको ज्वालाले लपेटिरहेको उसले पेलिस्टिनी जनताको मुक्ति र स्वाधीनताको पक्षमा नारा लगाउँदै आफ्नो ज्यान दिएको थियो ।
आफ्नो यस अतिबादी कदम चाल्नुभन्दा पहिला उसले के भनेको थियो भने ऊ प्यालेस्टिनी जनताको नरसंहारमा सामेल हुन सक्तैन । यो कुरा वास्तवमा अमेरिकी सरकारका लागि खतराको घण्टी थियो । तर अमेरिकाको राजनीतिक संयन्त्र र सञ्चारतन्त्रले बुसनेलको त्यो बलिदानकाप्रति कुनै वास्ता गरेन । आँखा चिम्लेर बस्यो । यदि एकजना अमेरिकी सैनिक प्यालेस्टिनमा हजारौं बालबच्चा र महिलाहरुको मृत्युबाट क्षुब्ध हुनसक्छ भने अरु सर्ब साधारण आम मानिसहरुको मन मस्तिष्कमा कत्तिको ठूलो असर पर्दो हो त्यस कुरालाई गम्भीरतापूर्बक लिएको देखिएन । यति मात्र कहाँ हो र अमेरिकामा बिगत १५ पहिनादेखि जन स्तरमा खाशगरी त्यहाँका बिभिन्न शहरहरुमामा अमेरिकी यूवा–बिद्यार्थीहरुले चलाइरहेको युद्ध बिरोधी प्रदर्शनप्रति पनि सरकारले बेवास्ता गर्दै रह्यो । 
तथ्यांकको दृष्टिले हेर्दा पनि प्यालेस्टिनको गाजा तथा लेबनान र सीरियामा भएको जन हत्या र हानी बिश्वमा पहिला पहिलाका यस्ता घटनाहरुभन्दा कम भएको होस् । तर अमेरिकामा के कुरा पहिलो पटक भएको छ भने सामाजिक सञ्जाल (सोशियल मिडिया)को पूरै निगरानीमा यो अहिलेको मानब त्रासदी सबैका सामुमा आइरहेको छ । प्रत्येक दिन जसो लाखौं लाख मानिसहरु त्यसमा पनि निर्दोष बाल बच्चाहरु र महिलाहरुका क्षत–बिक्षत शबहरु प्रत्यक्ष देखिने गरेका छन् ।
हुन पनि यतिबेला पूरै गाजा क्षेत्र डरलाग्दो खण्डहरमा परिणत भइसकेको छ ।एकजना सैन्य बिशेषज्ञका अनुसार प्यालेस्टिनमा जति बम खसालिएका छन् त्यसबाट भएको भयावह क्षति हेर्दा त्यो ५–६ वटा शक्तिशाली परमाणु बम खसालेजति नै छ । आत्म रक्षाको नाममा मृत्युको यो भयंकर ताण्डवबाट आम जनमानसमा ठूलो र त्रासद आहत पुगिरहेको छ । तर पनि मानिसहरु बिवस र सहाराहीन जस्तो असैह्य अबस्थाबाट गुज्रिरहेका छन् । यसै परिप्रेक्षमा बर्तमानमा अमेरिकामा घटिरहेका त्रासद घटनाहरुलाई बुझ्नु र त्यसको आकलन  बढी सही हुन्छ ।
यस्तो दुःखद परिप्रेक्षमा अमेरिका र पश्चिमा देशहरुमा फेरि पनि ‘जेहादी आतंकबाद’को खतरा मडारिने ढोल पिटिदैछ । तर के आत्म चिन्तन भइरहेको देखिदैन भने अफगानिस्तान,इराक, लीबिया, सीरिया र लेबनानमा धार्मिक कट्टरतालाई कसले बढावा दियो ? ती देशहरुमा किन एकतर्फीरुमा र मनोमानी तरीकाले सैन्य हस्तक्षेप गरिदै आयो । हालसालै बंगलादेश र सीरियामा धर्मनिरपेक्ष सरकारहरुलाई  सत्ताबाट च्यूत गरियो । कतिपय परिपक्क जानकार बिशेषज्ञहरुको के प्रष्ट मान्यता रहेको देखिन्छ भने यी सबै घटनाक्रमहरुमा अमेरिका र पश्चिमा देशहरुको निश्चित र प्रत्यक्ष तथा परोक्ष  भूमिका रहेकै छ  ।
त्यसैले यतिबेला सीरियामा बशल अल असदको स्थानमा बिद्रोही अर्थात जेहादी नेता अबू मोहम्मद जोलानी सत्तामा जमेका छन् । अनि पश्चिमा देशका सञ्चार माध्यमहरु भने आजभोली तिनको छबि सुधार्नमा लागेका देखिन्छन् । तर आउँदा दिनहरुमा यो कुरा अझ स्पष्ट हुँदै जाने देखिन्छ कि पश्चिमा देशहरुले मध्यपूर्बमा कस्तो भस्मासुर तयार गरिरहेका छन् ।
अनि यता बंगलादेशमा पनि यस्तै यस्तै खालको स्थिति देखापरेको जानकारहरुको पछिल्लो आँकलन छ । त्यहाँ शेख हसिनाको स्थानमा सेना र इस्लामी तत्वहरुको कठपुतलीकारुपमा मोहम्मद युनूसलाई सत्तारुढ गराइएको भनिन्छ । त्यहाँ इस्लामी धार्मिक कट्टरताबादीहरुको एक किसिमको ताण्डब नै चलिरहेको छ । त्यसको शिकार त्यहाँका हिन्दू अल्पसंख्यक बनिरहेका छन् । त्यहाँ पनि तत्कालीनरुपमा बंगलादेशको घटनाक्रम पश्चिमा देशहरुको भू–रणनीतिक हित अनुकूल रहेको होस् तर त्यसको दूरगामी परिणाम भयावह हुन सक्ने गम्भीर आकलन पनि बिश्लेषहरुबाट गरिदैछ । त्यसले गर्दा दक्षिण एशियाका अन्य देशहरु र वरिपरकिा छिमेकी देशहरुमाथि पनि खतरा मडारिएको गम्भीर र अशुभकारी निष्कर्श निकालिदैछ । त्यसैले तेश्रो बिश्वका देशहरुले अत्यन्तै सतर्क, सावधान र एकताबद्ध रहनु पर्ने अपूर्ब स्थिति बिकसित भइरहेको छ ।