बुधबार, भाद्र ३ गते २०८३

अमेरिकी राष्ट्रपति निर्बाचनको यसरी मूल्यांकन गर्दछन् प्रगतिशील अमेरिकीहरू


कार्तिक २३, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति निर्बाचनको यसरी मूल्यांकन गर्दछन् प्रगतिशील अमेरिकीहरू

 

अमेरिकाको डेमोक्र्याटिक पार्टीले अमेरिकी श्रमिक वर्गको आवश्यकतालाई सम्बोधन गर्न असफल भएपछि सन् २०२४ को चुनावमा डोनाल्ड ट्रम्प विजयी हुन पुगे । विगत एक वर्षदेखि बाइडेन–ह्यारिस प्रशासनले दक्षिणपन्थी राजनीतिक कार्यक्रमलाई अझ बढी अंगीकार गरेको थियो र प्यालेस्टिन गाजाका जनताविरुद्ध इजरायलले गरेको नरसंहारकारी आक्रमणको समर्थनलाई प्राथमिकता दिदै आएको थियो  । अर्कोतिर श्रमिकहरूको कम ज्याला र बढ्दो मूल्यवृद्धिले संयुक्त राज्य अमेरिकामा श्रमिक वर्ग र गरिब जनताका लागि ठूलो कठिनार्इ र पीडा सिर्जना गरेको थियो। त्यसको पनि बाइडेन-ह्यारिस प्रशासनले कुनै वास्ता गरेको थिएन ।

चार बर्ष अघिको सन् २०२० को चुनावको तुलनामा यस निर्वाचनमा मतदाताको संख्यामा पनि ठूलो कमी आएको थियो । ट्रम्पले पपुलर मत र इलेक्टोरल कलेज मत दुवै जितेका छन्, तर उनका मतदाताको कुल संख्या भने सन् २०२० मा उनले प्राप्त गरेको भन्दा बढी छैन । त्यसमा पनि सन् २०२० मा बाइडेनले प्राप्त गरेको मतभन्दा डेमोक्र्याटिक पार्टीका उम्मेदवारको मत अझै बढी अर्थात् एक करोड ४० लाख कम छ । सन् २०२४ मा डेमोक्र्याटिक पार्टीलाई यति कम मानिसले किन भोट हाले ? बाइडनको अनुमोदन रेटिंग किन ऐतिहासिक स्तरमा गिर्न पुग्यो? त्यसका  धेरै महत्त्वपूर्ण कारकहरू छन्, केही स्पष्ट रूपमा राजनीतिक छन् भने अन्य केही डेमोक्रेटिक पार्टी जनताका आर्थिक आवश्यकताहरू पूरा गर्न असफल हुनुसँग सम्बन्धित कुराहरू छन्।

सन् २०२१ मा बाइडेन र ह्यारिसले कार्यभार सम्हाल्दा ह्वाइट हाउस, सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याटिक पार्टीको नियन्त्रण थियो । तर उनीहरू गर्भपतन अधिकारको संरक्षण गर्ने तथा श्रमजीवी परिवारका लागि आवश्यक आर्थिक राहत प्रदान गर्ने कानून बनाउन असफल भए। वास्तवमा, तिनीहरूले ती मध्ये धेरै कार्यक्रमहरू नष्ट वा रद्द गरे। बाइडन–ह्यारिस प्रशासनले कोभिड–१९ का कारण बाल्यकालको गरिबी कम गर्ने, श्रमजीवी परिवारका लागि राहत प्रदान गर्ने र घरनिकालामा रोक लगाउने जस्ता महत्वपूर्ण कार्यक्रमहरू पनि रद्द गरे । बढ्दो खाद्यान्नको मूल्य र आवासको लागतले संयुक्त राज्य अमेरिकाका दशौं लाख मानिसहरूको जीवनस्तरमा भारी गिरावट ल्याएको छ। सात प्रतिशत मतदाताले मात्र देशको दिशाप्रति 'उत्साही' रहेको बताएका हुन्।

इजरायलद्वारा प्यालस्टिनीहरूबाट गरिदै रहेको बर्बर  नरसंहारका पक्षमा बाइडन–ह्यारिसको समर्थनको विरोधमा संयुक्त राज्य अमेरिकाभरी लाखौं मानिस सडकमा उत्रिएका थिए र उत्रिरहेका छन् । जनताका ती आवाज सुन्नुको साटो प्रशासनले प्यालेस्टाइनी जनतामाथि जथाभावी घातक बम खसाल्न अरबौं डलरको बम पठायो । बाइडन–ह्यारिस प्रशासनले युक्रेन, गाजा, लेबनान र अन्य ठाउँमा अन्त्यहीन युद्धलाई प्राथमिकता दिएको थियो । संयुक्त राज्य अमेरिकामा लाखौं परिवारहरू आँधीबेहरी र अन्य जलवायु सम्बन्धि विपत्तिका कारण तहसनहस भइरहेका छन् र बाढी बीमा, वायु बिमा र अन्य आवश्यक उपकरणहरू प्राप्त गर्न असमर्थ हुँदा उनीहरूले मृत्यु र विनाशका लागि वार्षिक लगभग एक ट्रिलियन डलर खर्च गरिरहेका छन्। कमला ह्यारिसले दक्षिणपन्थी रिपब्लिकन लिज चेनीसँग अनवरत अभियान चलाइन्, युद्ध अपराधी डिक चेनीलाई अँगालो हालिन् र सुपर-उग्र सैन्य र विदेश नीतिलाई अंगीकार गरिन्। रिपब्लीकनलाई जिताउन असफल प्रयासमा ह्यारिसले युवा मतदाता र डेमोक्र्याटिक पार्टीको आधारको महत्वपूर्ण हिस्सालाई पनि थप विमुख बनाइन्।

जब ट्रम्पले आप्रवासी परिवारहरूविरुद्ध घृणित, कामदार विरोधी र जातिवादी उन्मादलाई बढावा दिए, ह्यारिस अभियानले पनि अझ बढी सीमा सुरक्षा, आप्रवासनमा प्रतिबन्ध, र मेक्सिको र संयुक्त राज्य अमेरिकालाई छुट्याउने पर्खाल निर्माण गर्ने वाचा समेत गर्यो। ह्यारिसले आप्रवासी कामदारहरूमाथि राक्षसीकरण र अमानवीय आक्रमणहरूको सामना गर्ने कुनै प्रयास गरिनन्। यो असफलताले आप्रवासी विरोधी उन्माद बढ्न र ट्रम्पको डेमोगोजिक(जनतका पूर्बाग्रह र संबेदनशील भ्रमहरूबाट फाइदा उठाउने यथार्थ तर्कबाट होइन) अपीलमा एक महत्वपूर्ण कारक बन्न अनुमति दियो।

सामान्यतः सत्ताविरोधी मतको घटना समकालीन विश्व पूँजीवादी राजनीतिको विशेषता नै बनेको छ । बेलायत, फ्रान्स, जर्मनी, जापान र अन्य देशमा सत्तारुढ दलले पछिल्लो समय पराजय भोगेको यसको प्रमाण हो । सन् २०२० मा कोभिड–१९ को महामारीबाट सुरु भएको विश्वव्यापी पूँजीवादी संकटले सबै पूँजीवादी अर्थतन्त्रलार्इ बढदो पीडा र दुःख दिइरहेको छ जसले जनताको आवश्यकताभन्दा कर्पोरेट मुनाफाको अधिकतमतालाई प्राथमिकतामा राखेको छ र राखेको हुन्छ । तसर्थ, संयुक्त राज्य अमेरिकामा श्रमजीवी वर्गका मानिसहरूले सामना गर्नुपरेको संकट सबै विकसित पूँजीवादी अर्थव्यवस्थाहरूमा अनुभव भइरहेको संकटसँग गहिरो रूपमा मिल्दोजुल्दो छ। वर्तमान राजनीतिज्ञ र राजनीतिक दलहरूलाई मतदाताले दण्डित गरिरहेका छन्, तर यसको वास्तविक समस्या भने पूँजीवाद नै हो । नेताहरू त त्यसका बाहक मात्र हुन् ।

ट्रम्पको निर्वाचन जनताको प्रतिक्रियावादी पछौटेपनको सङ्केत मात्र हो भन्ने केही उदारवादीहरूको तर्कलाई त्यहाँके एकथरी प्रगतिशील खेमाले अस्वीकार गर्दछ । त्यो खेमाका मानिसहरू भन्दछन्र - यो झूटो हो, र पूँजीवादको उन्मूलन गर्ने र जनता तथा वातावरणको आवश्यकतालाई पूँजीवादी कर्पोरेशनभन्दा माथि राख्ने नयाँ, तर्कसंगत समाजको निर्माण गर्ने चुनौती लिन नचाहने मानिसहरूको हात हल्लाउने अर्को एउटा रूप मात्र यो हो भन्ने उनीहरूको निचोड छ। ट्रम्पले जितेका राज्यहरूमा समेत थुप्रै प्रगतिशील मतपत्रहरू सफल भए। उदाहरणका लागि- १० वटा राज्यमा जहाँ गर्भपतनको अधिकार मतदानमा थियो, तीमध्ये आठ राज्यमा स्पष्ट बहुमतको पक्षमा थियो - रूढ़िवादी-बाहुल्य नेब्रास्का र दक्षिण डकोटामा मात्र तिनले हारे।

ट्रम्प प्रशासनको यो कार्यक्रम श्रमिक वर्ग विरुद्ध युद्धको घोषणाभन्दा कम छैन भन्ने उनीहरूको निष्कर्श छ। त्यसैले उनीहरू भन्दछन् - तथाकथित एमएजीए आन्दोलन श्रमजीवी वर्गलाई विभाजित गर्नु जातिवाद र जेनोफोबियाको प्रयोग गर्नु अति दक्षिणपन्थीहरूको ठूलो, विश्वव्यापी प्रयासको एक अंश मात्र हो। आप्रवासी कामदारहरूमाथि उनको केन्द्रित आक्रमणहरू श्रमिक आन्दोलन, नागरिक अधिकार आन्दोलन, महिला, एलजीबीटीक्यू(भिन्न लिंगी) समुदाय  र पर्यावरणको रक्षा तथा पृथ्बीको रक्षाको लागि बढ्दो आन्दोलन र संघर्षको परिणाम थियो कि सामाजिक र आर्थिक सुधारहरुलार्इ नष्ट गर्नको लागि एक अर्बपतिको एजेंडालार्इ डिजाइन गरियो। पूँजीवादी कर्पोरेसनहरूको निर्बाध शासन  नै उनीहरूको वास्तविक कार्यसूची हो । जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारको रक्षाका लागि नयाँ जनआन्दोलन निर्माण गर्न जरुरी छ । साथै, जनताको आवश्यकता पूरा गर्न नसक्ने तथा सैन्यवाद र युध्दको लतमा फसेकोले वास्तविक समस्या, पूँजीवादी व्यवस्थालाई सम्बोधन गर्न सामूहिक, राष्ट्रव्यापी समाजवादी आन्दोलन निर्माण गर्नु आवश्यक छ भन्ने मान्यता त्यो प्रगतिशील खेमाको रहेको देखिन्छ ।