शनिबार, आश्विन १७ गते २०८३

सिवाइसी साकोसको पुँजी ३२ करोड, कुल सम्पत्ति २ अर्ब नजिक

आश्विन ११, २०७८ सोमबार
सिवाइसी साकोसको पुँजी ३२ करोड, कुल सम्पत्ति २ अर्ब नजिक

 

सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १२ ओैं साधारणसभा सम्पन्न भएको छ । सहकारीको बागलुङ, म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै पटक विस्तारित मञ्च तथा साधारणसभा गरेको हो । सिवाइसीका २३ वटै सेवा केन्द्र मार्फत सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा गरेको हो।

सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले राम्रो टिमले दिगो निति र विधीबाट संचालन गरेकोले सिवाईसी सहकारीले छोटो समयमा फड्को मारेको बताउँदै बर्तमानमा अनुदान मुखी भएर सहकारी खुल्ने र परिचान हुँदा सहकारी बदनाम भइरहको बताए ।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १८ हजार ४ सय ६५ शेयर सदस्य, ३२ करोड ५४ लाख ५० हजार शेयर पुँजी तथा कुल सम्पत्ति १ अर्व ९५ करोड ७४ लाख पुर्‍याएको छ । 

हालसम्म ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले यस वर्ष थप आधा दर्जन सहकारी एकिकरण गर्ने प्रस्ताव पारित गरेकाे छ । २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा बागलुङ ,पर्वत म्याग्दी र मुस्ताङमा गरि एक दर्जन नयाँ शाखा विस्तार गर्ने तथा कास्की जिल्लामा नयाँ कार्यक्षेत्र थप लगाएतका प्रस्ताव समेत पारित भएका छन् ।

साधारणसभाको अवसरमा उत्कृष्ट सदस्य, असल उद्यमी, असल बचतकर्ता र असल बालबचतकर्ता लाई सम्मान गरिएको थियो । सो अवसरमा ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षणका लागि नगद ५ हजार सहित सम्मान गरिएको छ ।

संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ ।

यसै वर्षदेखि सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको उच्चशिक्षा सम्मको छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउन विद्यालय अक्षयकोष कार्यक्रम पनि अगाडि सारेको छ। यसै क्रममा श्री जनकल्याण मा.वि. जलजला ८ पर्वतका प्र.अ. कृष्णप्रसाद रेग्मीलाई अक्षयकोषका लागि रु १ लाखको चेक समेत कार्यक्रमका अवसरमा प्रदान गरिएको थियो।