नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई आर्थिक मुद्दामा एकढिक्का हुनुपर्ने बताएका छन् । सप्तरी उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । व्यवसायिक संघसंस्थामा चुनाव भए पनि कसैको हारजीतलाई भुलेर व्यवसायिक हकहित र आर्थिक मुद्दामा सबै एकढिक्का हुनुपर्नेमा उनले जोड दिए । ‘निजी क्षेत्रका संघ÷संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक हो’, वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘त्यसलाई जीत वा हारका रुपमा लिन हुँदैन ।’
आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वउपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको वरिष्ठ उपाध्यक्ष ढकालले उल्लेख गरे । निर्वाचनले एकजनालाई मुख्य जिम्मेवारी दिए पनि अरुहरुको आवश्यकता र भूमिका उत्तिकै जरुरी हुने उनको भनाई थियो ।
साधारणसभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने ढकालले बताए । उनले देशका ७७ वटै जिल्लाका व्यवसायीलाई महासंघको नेतृत्वसँग जोड्ने प्रयास भइरहेको उल्लेख गरे ।
आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले चन्द्रागिरीको पर्यटन पूर्वाधारको सफलतासँगै सातवटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरु जुटेको जानकारी दिए । उनले महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरु भएको र अबको एक वर्षभित्र उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए ।