बुधबार, भाद्र ३ गते २०८३

सहकारीसँग बाझिएका ऐननियम संशोधनको पहल गर्छुः मन्त्री लामा 

आश्विन ८, २०७८ शुक्रबार
सहकारीसँग बाझिएका ऐननियम संशोधनको पहल गर्छुः मन्त्री लामा 


बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले केहि बचत ऋण सहकारीमा समस्या रहेको गुनासो आएको बताएका छन् । आफु मन्त्री भएसँगै सिभिल सहकारी लगायतका केहिले सदस्यबाट बचत लिएको तर फिर्ता नगरेको गुनासो निरन्तर आइरहेको उल्लेख गरे ।

काठमाण्डौ बचत तथा ऋण सहकारी संघको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सहकारीमा देखिएका यस्ता समस्या समाधान गर्न संघहरुले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिए । सहकारीका कतिपय ऐननियमहरु परिमार्जन गर्नुपर्ने त्यसलाई परिमार्जन गरी सहकारी क्षेत्रलाई सहज बनाउन आफु सधैं तयार रहेको उल्लेख गरे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि मीनराज कँडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका कारण राजनीतिज्ञ र निजामती कर्मचारीले सहकारीप्रति हेर्ने दृष्टिकोण नकारात्मक रहेको जनाए । बचतऋण सहकारीलाई सुशासनमा ल्याउन राज्यका निकायहरुले समेत आवाज उठाइरहेकाले काठमाण्डौमा त्यसको अगुवाई कास्कुनले गर्नुपर्ने उनले औंल्याए । सहकारी क्षेत्रका समस्यालाई समाधान गरी सदस्यहरुको बचतको सुरक्षण एवं आर्थिक–सामाजिक रुपान्तरण लयउन संघहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीहरुले सघाउनुपर्ने भन्दै उनले राष्ट्रसंघले अघि सारेका १७ वटा लक्ष्य पुरा गर्न सहकारीको समते दायित्व भएको चर्चा गरे ।

संस्थाहरुलाई पारदर्शी रुपमा चलाउन  संघहरुको भूमिका अपरिहार्य हुने भन्दै अध्यक्ष कँडेलले अब सहकारी क्षेत्रलाई प्रविधिमा जोडेर अघि बढ्नुपर्ने उल्लेख गरे । सहकारीलाई अर्थतन्त्रको ३ मध्ये १ खम्बाको रुपमा लिएपनि जिडीपीमा सहकारीको योगदान ५ प्रतिशत मात्र रहेकाले अर्थतन्त्रमा एकतिहाइ ओगट्ने गरी काम गर्ने बेला आएको उनले जनाए ।

kasccun.jpg

सरकारले हालै ल्याएको संशोधित बजेटले सहकारीले भगिनी संस्था खडा गरी ५० प्रतिशतसम्म उत्पादन र सेवामूलक क्षेत्रमा लगानी गर्नसक्ने बताएपनि बचतको पैसा उत्पादनमा जोड्न नमिल्ने भएकाले संस्थागत पूँजी र अन्य कोषहरुको भने ५० प्रतिशतसम्म त्यस क्षेत्रमा लगाउन सकिने उनले उल्लेख गरे ।

कार्यक्रममा ओमदेवी मल्लले सहकारीहरुमा समस्या रहेकाले सदस्य संस्थाहरुको अनुगमन र एकिकरणका लागि संघले भूमिका निभाउनुपर्ने औंल्याइन् ।  

एकिकरणबाट ठूलो र सक्षम संस्था बनेमात्रै सदस्य र कर्मचारीले राम्रो सुविधा पाउने भन्दै त्यसतर्फ लाग्नुपर्ने बेला आएको बताइन् । बजारमा बैंकहरुले  ब्याजदर बढाइरहेकाले सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत नै कायम गर्न आफुले पहल गर्ने मल्लको भनाइ छ । 
महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारीमा लेखासमितिको भूमिकाबारे प्रष्ट्याएका थिए । सञ्चालक समिति र लेखा समितिको हैसियत बराबर भएपनि व्यवहारमा लेखा समितिलाई छायाँमा पार्ने गरिएको उनको भनाई छ । सञ्चालक समितिले साधारण सभाले निर्धारण गरे अनुसारको काम गरे नगरेको भन्ने अनुगमन गर्ने र संस्थालाई गलत बाटोमा लैजान खोजे त्यसको खबरदारी गर्ने काम समेत लेखा समितिको रहेको उनले प्रष्ट्याए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले काठमाडौंमा भएका कमजोर संस्थाहरु संस्थागत रुपमा बलियो र सुदृढ बनाउने र राम्रा संस्थाहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणमा जोड्नुपर्ने उल्लेख गरे । काठमाडौंको सहकारी अभियान राम्रो भए मुलुकभरकै सहकारी अभियानमा सुशासन र राम्रो प्रभाव पर्ने हुँदा संघहरु त्यसतर्फ अग्रसर हुनुपर्ने उनले औंल्याए ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले  स्तरिकरण र स्थिरिकरण कोष सहकारी अभियानका दुइपाटा भएकाले यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । सहकारीलाई डिजिटाइजेशनमा जोड्नुपर्ने भन्दै उनले डिस्कभरी, इनोभेसन र न्यू इनोभेसनकासाथ अघि बढ्न पर्ने बेला आएको जनाए ।

कास्कुनका अध्यक्ष दिपक पनेरुको सभापतित्वमा भएको सभामा कोषाध्यक्ष निरन्जन सेढाईंले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सुवासचन्द्र घिमिरेले लेखा प्रतिवेदन र सचिव शालिकराम पुडासैनी आ. व. २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।