शनिबार, आश्विन १७ गते २०८३

बागमती प्रदेश बचत संघको चारवर्षे रणनीतिक योजना कार्यशाला सम्पन्न

भाद्र १३, २०७८ आइतबार
बागमती प्रदेश बचत संघको चारवर्षे रणनीतिक योजना कार्यशाला सम्पन्न

 

वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (वागमती प्रोस्कून) को आगामी चार वर्षे कार्यकालका लागि रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । 

काभ्रेपलाञ्चोक भाद्र ११ र १२ गते आयोजिम कार्यशालाको समुद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले गरेका हुन् । प्रमुख अतिथिको आसनबाट बोल्दै कंडेलले छोटो समयमा प्रदेश बचत संघले उल्लेख्य प्रगति गरेको र अब निर्माण हुन लागेको रणनीतिक व्यवसायिक योजनाले व्यवसायिक र क्षमतावान संघ निर्माण हुनेमा विश्वास व्यक्त गरे । उनले वागमती प्रदेशको बचत तथा ऋण सहकारी संघसंस्थाहरुको व्यवसायिकीकरण गर्दै सुरक्षित साकोस निर्माणमा संघले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखे ।

कार्यक्रममा विशेष अतिथि वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटाकोले सहकारी मार्फत साना व्यवसायिक परियोजनामा जोड दिनु पर्ने उल्लेख गर्दै प्रदेश सहकारी विकास बोर्ड र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ बीच साझेदारी र समन्वय गर्न विकास बोर्ड तयार रहेको कुरा उल्लेख गरे । 

कार्यक्रमको समापन बोल्दै नेफ्स्कूनका अध्यक्ष परिताेष पाैडेलले प्रदेश बचत तथा ऋण सहकारी संघले स्थापनाको पहिलो वर्षमा नै उत्कृष्ट रणनीतिक व्यवसायिक योजना निर्माण गरेकोमा बधाई दिए । बचत तथा ऋण अभियानमा नेफ्स्कूनले नेतृत्वदायी भूमिका खेल्ने र त्यसमा प्रदेश बचत तथा ऋण सहकारी संघको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । सदस्य संघसंस्थाहरुको क्षमतामा सुधार ल्याउन संघ लाग्नुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (वागमती प्रोस्कुन) को संचालक समिति, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित १७ को उपस्थिति रहेको थियो । कार्यक्रमलाई राष्ट्रिय सहकारी महासंघले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । 

संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यशालाले आगामी ४ वर्षमा संघको कूल सम्पत्ति ९ अर्व पु¥याउने, ४ वटा कार्यालय स्थापना गर्ने, कूल २०२५ सदस्य पु¥याउने र वार्षिक कम्तीमा ६५ देखि बढीमा ११५ वटा सम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्दै प्रदेश सहकारी ऐन, नियमावली अनुसार स्तरीकरण कार्यक्रमको विकास गरी सदस्य साकोसहरुको गुणस्तर वृद्धि गर्ने लक्ष लिएको छ ।