अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्ने भएका छन् । यस डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास ड्यान शेलीले व्यक्त गरे । नेपाललाई निकै ठूलो सहयोग लिएर यस डाइटरी सप्लीमेन्टका अनुसन्धानकर्ता डा. न्याथन ब्रायनसँगै आएका पूर्व सिनेटर ड्यान शेलीले भने –‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन । कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो ।’
नाइट्रिक अक्साइडसँग सम्बन्धित खोजमा २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस. ब्रायनले हालसालै कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी देखिएको नोभिरिसिड नामक औषधि समेत बनाइसकेका छन् । हाल अमेरिकामा यो औषधिको तेश्रो फेजको क्लिनिकल ट्रायल चलिरहेको छ । डा. ब्रायन आणविक चिकित्सा विषयको अन्तर्राष्ट्रिय लिडर समेत हुन् ।
कोभिड १९ भाइरसले विश्व अर्थतन्त्र र संसारको हेल्थकेयर सिस्टमको संरचना नै परिवर्तन गरिदिएको छ । नेपाल समेत विश्वका विभिन्न देशममध्ये कोभिडबाट निकै धेरै प्रभावित भएको देश रहेको हो । अहिले पनि औसत ३ हजार हाराहारीमा दैनिक संक्रमितहरुको पहिचान भइरहेको छ भने ८ लाख १७ हजारभन्दा बढी पहिलो र दोश्रो लहरमा संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १० हजार ३९६ बढीको ज्यान गइसकेको छ ।
सरोकारवालाहरु संभावित तेश्रो लहरको तयारीमा लागिरहँदा कोरोनाबाट हुनसक्ने स्वास्थ्य जोखिमलाई कम गर्ने अनेकन उपायहरुको विषयमा खोजअनुसन्धान समेत भइरहेका छन् । यो क्रममा वैज्ञानिकहरुले संक्रमण बढ्ने कारण, संक्रमित भएपछि अस्पताल नै भर्ना हुनुपर्ने जोखिमको कारण र ज्यान नै जानसक्ने जोखिमको कारण समेत पत्ता लगाइसकेका छन् । यो क्रममा कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको पत्ता लागेको छ । नाइट्रिक अक्साइड भनेको प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ । यसका साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य समेत गर्छ ।
हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्छ ।
अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको पाइएको छ । यो डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ । दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ । यस्तो जीवनरक्षक डाइटरी सप्लीमेन्ट कोरोना भाइरसविरुद्धका भ्याक्सिनको कम उपलब्धता हुने नेपालजस्तो मुलुकका लागि वरदान सावित हुनसक्छ । किनभने नेपालमा ४७ लाख ८५ हजारभन्दा केही बढी जनसंख्याले खोपको पहिलो मात्रा र ३४ लाख ४९ हजार ७ सयभन्दा केही बढीले मात्र खोपको दुवै मात्रा लगाउन पाएका छन् ।