कोराेनाको कहर र मानिसकै व्यवहारको पीडा :
सन् १९६५मा पहिलो पटक रुघाखोकीको रुपमा निस्केको भाइरसलाई मुकुट(Crown)को आकार भएकोले कोरना नाम दीइएको कथा पढिएको हो। यसले विभिन्न रुप फेर्दै चर्किदै मत्थर हुदै विश्वभरका हजारौं मानिसलाई सताएको ईतिहाँस छ। यस पटक सन् २०१९को अन्त्य तिर चीनको वुहान भन्ने ठाउँको फलफूल तरकारी बजारबाट उठेको भनिएको कोरोनाले भयानक रुप लिई विश्वभरका मानव वस्तीलाई सातै लियो।
शुरुमा चीनमा देखिएकोले यस भाइरसको नाम चिनी भाइरस भनी चीनलाई खुब सराप्ने कामको मुखिया अमेरिकी र पश्चिमी सूचना साम्राज्यवादीहरुले आपनो स्वभाव अनुसार भूमिका निर्वाह गरे। प्रकृतिको प्रकोपलाई प्रयोगशालामा उत्पादन गरी मानव संहार गराउन छरिएको भाइरस भनि खुब प्रचार गरियो। साच्चिनै चीनले जन्माएको त होइन भन्ने शंका जन्माउन सूचना साम्राज्यबादीहरु सफल भए पनि । जसको कारण चीनीया मुखाकृतिसंग मेल खाने विश्वभर स्वकर्म गरिरहेका हजारौ अनुहारहरुले मानसिक र शारीरिक सास्ती पाए। छिमिकी मुलुक भारतमा पनि यस्ता घटनाबाट अछुतो रहेन। सिक्किम, दार्जलिङ्ग, उत्तराखण्डका नागरिक काम विशेषले दिल्ली, बम्बे, चेन्नाई जस्ता ठूला शहरमा बसेका कतिले मध्येरातमा कोठाबाट निकालिएर सडकपेटीमा बस्नु पर्यो। यसबाट मेरो सानो, मात्र एक वर्ष पुग्न थालेको अवोध नाति 'माव्यान' पनि प्रताडित बनेको मलाई अनुभूति भयो। अहिले उसले केहि बुझ्दैन, आउँदा दिनमा जब उ बुझ्न सक्ने उमेरको हुनेछ, यो घटना सुनाई दिने हो भने सम्झेर कति दु:खी होला ? कुरा सिड्नी पारामाटा भन्ने ठाउँको सार्वजनिक चिल्ड्रेन पार्कमा भएको हो। एकजना लेवनिज बच्चाले -"कोरना भाइरस, कोरोना भाइरस" भनि आन्जान धुनमा खेलिरहेको मेरो नाति तिर औंलोले देखाउदै कराएको देखेपछि म विक्षिप्त भएको थिएँ । उसकी आमाले आफ्नो बच्चाको हर्कत आनन्द मानेर हेरीरहेकी थिई। आफ्नो बच्चाको कर्तुतमा रमाउदै थिई । यस्तो किन गरिरहेकी थिई भन्दा उसले यहि विकृत बीज आफ्नो बालकको मस्तिष्कमा रोपेकी थिई। यो घटना मेरै आँखाले देख्यो, कानले सुन्दा हृदय प्रताडित भयो।
कोभिड-१९को महामारीले विश्व दुई ध्रुबमा बाँडियो। एक प्रकारले शीत युद्धको शुरुवात भयो। आमेरिकाको पछाडि ब्रिटेन, युरोपियन, क्यानेडिय,अष्ट्रेलियनहरु पुरै खनिए। हाम्रो मुलुकको छिमेकी भारत पनि उनीहरुकै पोल्टामा देखिएको छ। सन् ९०को दशक जस्तो अहिलेको विश्व छैन। त्यस कालखण्डमा प्रजातान्त्रिक पूँजीवादी मुलुकहरुले आशातित आर्थिक विकास गरिरहेका थिए। कम्युनिष्ट देशहरु आर्थिक जर्जरताले ग्रस्त थिए। साेभियत संघको विघटन साथसाथै शीत युद्धमा पुँजीवादी मुलुकहरु स्वाभाविक विजयी बने। तर पछिल्लो तीन दशकमा विश्वको चित्र बदलिएको छ। "अमेरिका पहिलो" भन्ने दम्भ खस्किदै छ। राजनीति अधिकार, मानव अधिकार(Human rights)को कुरागरेर जनतालाई अल्मलाएर हुदैन मानिसलाई आर्थिक अधिकार(Economic rights) दिनु पर्छ- "प्रजातन्त्रले मानिसको भोक मेटिदैन यसको लागि आर्थिक समुन्नति आवश्यक छ" भनि लक्ष्य बोकेर बढेको हाम्रो छिमेकी देश चीनले आफ्ना जनताको भोक मात्र मेटाएन कि ब्यापार, कुटनीति, विज्ञान-प्रविधि तीनै क्षेत्रमा विश्व अग्रणीको संघारमा आफ्नो कदम राख्न सफल भै सकेको छ।
अमेरिकाको व्यवहारले विश्व हाँस्यो:
वुहान ल्याबमा तयार पारिएको कोभिड-१९ भाइरसको जाँच गराउने र ताइवानलाई विश्व संघबाट नहटाउने अमेरिकी ट्रंप प्रशासनको दवावलाई विश्व स्वास्थ्य संगठनले हुवहु स्वीकार नगरे पछि संगठनको ठूलो खर्च,आफुले दिई राखेको अनुदान रोक्ने मात्र होईन विश्व संगठनबाट आफु बाहिरिने समेत घोषणा गर्यो।
एक चीन बिरोधी अमेरिकी चालको चीनले ठाडै बिरोध गर्यो भने अर्को तर्फ "यो भाइरस अमेरिकन खैरे सिपाहीहरुले वुहानमा संयुक्त सैनिक अभ्यास गर्न आउदा चीनलाई बर्बाद बनाउन षड्यन्त्रपूर्ण किसिमले छाडिएको हो, तर हामीले यसमाथि बिजयी भै छाड्छौं "भनेर आफ्नो राष्ट्रिय अखंड़ता र सार्वभौमिकतामाथिको अमेरिकी हमला हो भनेर करार गरिदियो। चीनले विश्व रंगमञ्चमा सारेको नारा "मुलुकको सार्वभौमिकता, परस्पर सम्मान र दुबैको बरावर लाभ (win win ) " को नीतिले बास्तवमा चीनले कोभिड-१९ को महामारीबाट आफ्नो देश र जनतालाई जोगाउन जुन जीवन शैलीको शुरुवात गर्यो यो सबैका लागि अनुकरणीय बनेको छ।
ट्रम्प प्रशासनको विश्व स्वास्थ्य संगठनबाट आफ्नो भकुण्डाे(Ball) बोकेर फर्कने पाखण्डी घोषणा सुनेर विश्व एकपटक हाँस्यो, अमेरिकैमा पनि यो नीतिको निन्दा गरियो। अमेरिकाले यो निर्णय लिनुमा उसको हतासा र विश्व रंगमञ्चमा आफ्नो पराजय स्वीकार्नुको दह्रो प्रमाणिकता झल्कन्थ्यो। केही दशकदेखि अमेरिकाको आर्थिक रुपमा ठहराव हुनु अर्को तिर चीनको तीव्रतर विकासले अमेरिकालाई पछ्याई रहनुले अमेरिकालाई, रुनु न हाँस्नुको स्थिति उत्पन्न भै दिग्भ्रमित बनाउनु स्वाभाविक हो ।
रेशम मार्गको आधुनिक रुप (BRI):
हान वंशीय शासन कालमा रेशम मार्ग (Silk Road)को रुपमा सुप्रशिद्ध यस मार्गले प्राचिन चीनको व्यापारलाई फैलाउन महत्व पूर्ण भूमिका निभाएको थियो। आधुनिक विश्वको सान्दर्भिकतालाई ध्यान दिएर सन २०१४ देखि, एक्काइसौ शताब्दीको नयाँ सिल्क रोडको रुपमा चीनिया राष्ट्रपति सि जिन्पिंगको दिमागी उपजको रुपमा Belt and Road Initiative (BRI) परियोजनाले रोम देखि बेजिंग हुदै अफ्रिकासम्म झन्डै ७० मुलुकलाई जोडी परस्पर लाभ उठाई सकेको छ। सडक, रेल, हवाई र समुद्री मार्गले जोड्न सडक मार्ग, रेल मार्ग, एयर पोर्ट र बन्दरगाह निर्माणको लागि ३ ट्रिलियन अमेरिकन डलर भन्दा बेसी दशक भित्रै खर्च गरिसकेको छ। निकट भविष्यमा यो परियोजना विश्वका बहुसंख्यक जनताको भाग्य रेखा बन्ने दिशामा बढी रहेको छ। चीनले अवलम्वन गरेको जनतालाई आर्थिक आधिकार, "मुलुकको सार्वभौमिकता, परस्पर सम्मान र दुबैलाई बरावर लाभ (win win ) को नीतिले विश्वभरका गरीव तर प्राकृतिक साधन श्रोतको भण्डार रहेका मुलुकहरुले चीनको व्यवहारमा आफ्नो उज्यालो भविष्यको प्रतिविम्व भेट्टाउन थालेका छन्।
पूँजीवादी देशले विकासोन्मुख र अविकसित मुलुकलाई सहयोग केवल कि त आफ्नो नाफालाई कि त आफ्नो मुलुकको सुरक्षा दृष्टिलाई आधार बनाई दिईने परम्परामा कुनै फेर बदल गरेको छैन। तत् तत् मुलुकका राजनीतिक दलका भ्रष्ट र कम्जोर चरित्र भएका नेतृत्वलाई प्रभावमा पारेर ती मुलुकलाई प्रयोगशाला बनाई खनिज,जैविक कच्चा पदार्थमा लुट मच्चाई कंगाल बनाए पछि गृहय युद्धको आगो सल्काई दिएर दोबाटोमा छोडेर जाने काम रोकिएको छैन। पछिल्लो उदाहरण अफगानिस्तान विश्व सामु छ र अमेरिकाका राष्ट्रपति जो वाइडेनले सेना फिर्ता गर्ने आफ्नो निर्णय प्रति कुनै पश्चताप नभएको कुरा बताएका छन्। र उनले भनेका छन् अफगानी जनता र सेना आफ्नो रक्षा गर्न सक्षम हुनेछन। यद्यपि विगत दुई दशकमा २.२६ ट्रीलियन अमेरिकी डलर अफगानी सेनालाई तालिम र हातहतियारले सुसज्जित बनाउन, आफगानी सरकारलाई बलियो बनाउने नाममा खर्च भएको बताईको छ। नाटोको लागि २००९ देखि १३ सम्म अमेरिकी राजदूत रहेका इभो दाल्डरले लेखेका छन् -"अमेरिकाले जति लगानी गरे पनि अफगानी सत्ता तिनीहरुले जोगाउन सक्ने छैनन।"
चीनले २० प्रतिशत भन्दा बेशी विश्व बजार कब्जा:
आज विश्व बजारको २० प्रतिशत भन्दा बेशी बजार ओगटेको चीनले मानिसलाई दैनिक चाहिने उपभोग्य बस्तु लगायत विश्वभर तयार हुने बस्तु मोबाइलमा ७० प्रतिशत, ब्रान्डेड जुत्ता ६० प्रतिशत, सोलार प्यानल ७४ प्रतिशत, एअर कन्डिसनर ८० प्रतिशत, कार अटोमोबाइल ३३ प्रतिशत, समुद्री जहाज ४५ प्रतिशत, सिमेन्ट ६० प्रतिशत उत्पादन गर्दछ। केटाकेटीले खेल्ने खेलाउन ७० प्रतिशत भन्दा बेशी चीन एक्लै तयार पर्दछ। यसरीनै फलफुल स्याउमा उसको ६० प्रतिशत हिस्सा पर्दछ। दोश्रोमा अमेरिका आउछ जसको जम्मा ६ प्रतिशत उत्पादन रहन्छ।
चीनले आफ्ना उत्पादनका संख्या विशाल मात्र होइन बिकशित देशका उपभोक्तालाई समेत ध्यान दिएर त्यतिकै गुण स्तरीय पनि बनाएको छ। आफ्नो सुरक्षाको लागि चाहिने मिसाइल, रकेट, फाइटर प्लेन, अन्तरिक्ष सेटलाइट उत्पादन गरिरहेको । चीनमा निर्माण भएका आकर्षक भवन, विशाल सडक आश्चर्य जनक नदी समुद्र माथिका पुल, सुविधा जनक हवाई अड्डा र बन्दरगाहले चीनको बढ्दो समृद्धि देखाएका छन्। विश्वका १० अति ब्यस्त बन्दरगाहमा ७ वटा त चीनकै छन्। अमेरिकाले विगत एकसय वर्षमा निर्माणमा खर्च गरेको सिमेन्ट चीनले बितेको ३ बर्षमा आवास लगायत आधारभुत संरचना र पुनर्निर्माणमा खर्च गरेरको तथ्यांक पाईन्छ।
आर्थिक रुपमा एक नम्वर बन्ने संकेत:
चीनले विशेष्टिकरणको आधारमा औधिगिक शहरहरुको विकास गरेको छ जसको कारण उत्पादनमा सहजीकरण भै लागत मूल्यसमेत कम हुन जाने निश्चित हुन्छ। अर्को तर्फ मजदुरको शीप र दक्षता बढाउन आवश्यक तालिम र गुणस्तरीय शिक्षामा चीन सरकारले लगानी गर्न कुनै कसर छाडेको छैन। भारतीय भन्दा यहाँका कामदारको केहि महगो ज्याला भए पनि भारतीय २ जना बराबर १ जना चीनियाहरुले गर्ने पाईएको छ। जसको कारण अन्य मुलुकमा उत्पादित बस्तुले चीनी उत्पादनसंग प्रतिस्पर्धा गर्न सहज छैन। ईलोक्ट्रनिक्समा बेजिंग, स्वास्थ्य तथा शैक्षिक सामग्रीमा हंकंग, संघाई आर्थिक तथा ब्यापारिक केन्द्र र तिंजिन एरो स्पेस र अटोमोबाइल्स जस्ता सयौं केन्द्र तयार पारिएको छ। सन् २००१ मा डब्ल्यु.टि.ओ.को सदस्य बने यता बहुराष्ट्रिय कम्पनिहरु स्थापनाको लागि पनि ठूलो अवसर उत्पन्न हुनुको साथै रोजगारीको वृद्धि भै चीनिया जनताको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याएको छ। अटोमोबाइल्समा भोक्स वेगन, जेनरल मोटरस, मर्सडिज-बेञ्ज, फोर्ड, सुजुकी, डायत्सु, होन्डा, सुभारु, टोयटा आदिले संयुक्त लगानीमा उत्पादनगरि राम्रो फायदा गरिरहेका छन्।
चीनले विगत तीन दशकमा शिक्षा, स्वास्थ्य, कृषि र आधारभूत संरचनामा खरबौ लगानी गर्नुको साथै, सुशासन र राजनीतिक स्थिरता दिएकै कारण आज उपरोक्त प्रतिफल पाएकोमा शंका छैन। सन् २०२५ को अन्त्य सम्ममा चीनले आफ्नो ग्राहर्स्थ्य उत्पादन २७ ट्रीलिएन अमेरिकी डलर बराबर बनाई विश्वको नम्बर १ काेआर्थिक मुलुक बन्ने अद्यापि अर्थविदहरुले बताई रहेका छन्।
हाम्रो छिमेकी भारतले पनि आर्थिक वृद्धिदरमा तीब्रता ल्याउन प्रयत्न गरिरहेको पाईन्छ। मोदी सरकारको आगमन पछि केही सकारात्मक परिसूचक पनि देखा पर्न थालेको पाइन्छ। मोदी सरकारले आफ्नो ग्राहस्थ्य उत्पादन तीन ट्रीलियनबाट ५ ट्रीलियन बनाउने लक्ष्य लिएको छ। तर मोदी सरकारको यो लक्ष पुग्नेमा स्वयम् भारतीय अर्थविदहरुले नै शंका उठाई रहेका छन्।
चीनमा कोभिड भाइरस देखिदा शुरुमा पूँजीवादी देश रमाए :
जब सन् २०१९को अन्त्यमा कोविड-१९ पहिलो चोटी चीनको युवान शहरमा देखियो, शुरुमा पूँजीवादी देशका संचार माध्यमहरु खुब रमाए। अब चीन स्वाहा हुन्छ। भारतीय मेडियाहरुमा पनि धेरै दिनसम्म यस्ता संवाद र विश्लेषण चलिरहे। चीनको बर्बादीको सपना देखेर रमाएको अभिव्यक्ति दिन पछि परेनन्- "यही बेलामा अब हामीले चीनको भन्दा आर्थिक वृद्धि दर बढाउनु पर्दछ। आफ्नो उत्पादनमा वृद्धि गरि चीनको बजार आफ्नो प्रभावमा पार्नु पर्छ।" तर प्रकृतिको प्रहार विश्वभर पर्यो, धनी गरीब राष्ट्र कोही बाँकी रहेनन्। यूरोप अमेरिकाले सबै भन्दा बेशी क्षति बेहर्नु पर्यो। चीनले कम क्षति मै कोविड-१९लाई नियन्त्रणमा राख्न सफल भयो। चीनले परम्परागत र आधुनिक उपचार पद्धतिबाट जनजीवनलाई कसरी सुरक्षित राख्न सफल रह्यो सो ज्ञानबाट लाभ उठाउन भन्दा पनि यो भाइरस "चीनिया ल्याबमा" उत्पादन गरी हामी माथि आक्रमण गर्न पठाइएको हुँदा यसको क्षति पुर्ती चीनले गर्नु पर्छ भनी कसरी चीनलाई चंगुलमा पारी लुट्न सकिन्छ भनी अमेरिकी र यसका साझेदारहरु अग्रसर बने । अमेरिकाको पछि लाग्दा अष्ट्रेलिया र भारतीयहरुले ठुलै आर्थिक घाटा बेहेर्नु परिरहेछ। बेलायत अमेरिकनहरुले यो वैश्विक महामारीबाट आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने उपाय सोच्नु भन्दा बेशी चीनिया भाइरस भन्दै सराप्दै बस्ने गरे।
सन् २०५० सम्ममा अमेरिकामा ६५ वर्ष भन्दा माथिका बृद्ध-बृद्धाहरु २२ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने सन् २०४६ सम्म बेलायतमा ७० वर्ष भन्दा माथिका नागरिकको संख्या २४.७ प्रतिशत पुग्ने बताईन्छ। कोविडले यिनै उमेर समूहकालाई धेरै हताहत बनायो। यसैले यी देशमा त गाएँगुई पनि चल्यो -"आर्थिक रुपमा ओरालो लाग्दै गरेको कारण आफ्नो हैसियत जोगाउन धौ धौ परिरहेको कारणले गर्दा उमेर पुगेकालाई कोविड भाईरस लगाई दिने मराउने राजनीति गरे !" सरकारको संवेदन हिनता र असक्षमताका कारण बेलायती नागरिक र अधिकांश बुढाबुढी १,३०,८०१ ले र अमेरिकन ६,२१,००० ले ज्यान गुमाउनु पर्यो।
अब अमेरिका प्रथम भन्ने युगको अन्त्य हुदै:
बिडम्बना, सन् २०२० मा विश्वभरका धनाड्य शक्तिशाली मुलुकहरुको ऋणात्मक आर्थिक स्थिति हुँदा चीनको भने ३ प्रतिशत सम्म भए पनि वृद्धि कायम रह्यो। तर २०२१ मा भने आर्थिक वृद्धिदर चीनको ८.४ भारतको ८.३ र अमेरिकाको मात्र ४ प्रतिशतमा सम्म रहने The Wall Street Journal सर्भेक्षणको हवाला दिदै Wikipedia मा प्रकाशित गरिएको छ। चीनको आर्थिक वृद्धि दरले २०२५ सम्ममा चीनले अमेरिकालाई उछन्ने अड्कल कोविड महामारीले पनि असर पारेको छैन।
अमेरिका पहिलो(America First)भन्ने अवस्था आगामी केहि वर्षमा समाप्त हुने निश्चित भएको छ। भविष्यको चिन्ताले कसरी हुन्छ चीनलाई अवरोध खडा गरी रोक्न सकिएला भनी अमेरिका राजनीतिक,सामरिक घेराबन्दि गर्न सक्रिय देखिन्छ। दक्षिण चीन सागरमा चीनको एकछत्र बढ्दो प्रभावलाई कसरि रोक्ने, जहाँबाट चीनले वर्षेनी तीन ट्रीलियन अमेरिकी डलर बरावरको ब्यापार गरिरहेको छ। यो सागरको बाटो गरेर चीनले आफ्नो ८० प्रतिशत उर्जा आयात गर्दछ र ३९.५ प्रतिशत ब्यापार गरिरहेको छ। यति मात्र होइन आफ्नो भुमिसंग जोडेर बर्षेनी कृतिम टापू बनाएर जमिन थपि आधुनिक बस्ति समेत बसाली रहेको छ। यो सागरको मनी बिशाल तेलभण्डार रहेको र यसमा चीनको मात्र होइन ब्रुनाई, ताइवान, इन्डोनेशिया,मलेशिया फिलिपिन्स, भियतनामको पनि समान अधिकार लाग्ने भनि अमेरिकाले काउसो लगाई दिएर बर्षौ देखि विवाद खडा गरिदिएको छ। यति मात्र होइन यस सागरको बाटो स्वतन्त्र प्रयोग गर्न पाउने लोभमा अमेरिकी साझेदार मुलुकहरु बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान र भारत मिलेर बारम्वार यस क्षेत्रमा युद्धपोत लगी शैनिक अभ्यास गरिरहेका छन्। चीनले यस कार्यको आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप हो भन्ने बताई रहेको छ। अमेरिकी पक्षधरहरु(American Allies)ले चीनलाई युद्धमा घसेट्ने कोशिश गरिरहेका छन् तर चीन संयमित छ। हालै सम्पन्न चीनिया कम्युनिष्ट पार्टीको एकसय वर्ष पूरा भएको अवसरमा चीनका राष्ट्रपति सी जिनपिङ्गले उद्घोष गरेका छन् "हामीले पहिलो आक्रमण गर्ने छैनौ, तर कसैले आक्रमण गरेमा उनीहरुको टाउको निर्ममताका साथ् पिल्सिदिने छौं। "
Millennium Challenge Compact (MCC) नेपालीले मान्ने छैनन् :
अमेरिकाले गरिवी उन्मुलन र समृद्धि दिने नारा सहित संचालन गर्न खोजिएको Millennium Challenge Compact (MCC) हाम्रो मुलुकमा हाल ठुलो चर्चाको बिषय रहेको छ। पाँच पाँच वर्ष लगाएर खर्च गरिने जम्मा रु पचपन्न अरब वर्षमा ११ अरबको दरले खर्च हुनेछ। यसबाट मुख्य दुई काम हुनेछन एक- क्रस बोर्डर हाईटेन्सन ट्रान्समिसन विद्धुत लाईन निर्माण र दोश्रो-पूर्व पश्चिम राजमार्गको साथै काली गण्डकी करिडोर सडक बिस्तार गरिने भनिएको छ। नेपालको राष्ट्रिय ग्रीडमा नजोडी कनै सुनौली नाकाबाट सिधै भारतीय ग्रीडमा जोडिने र सडक बिस्तार यस्तो गरिने छ, जहाँ आवश्यकता पर्दा ठूला युद्ध ट्यांक दौडने मात्र होइन, फाइटर जेटप्लेन सम्म बस्न मिल्ने गरी निर्माण गरिने छ। यी दुवै परियोजना आफैमा रहस्य बोकेका छन् र नेपालको उत्पादन विकास र समृद्धिसंग कुनै नाता जोडिएको पाइदैन। नत गाउँ गाउँलाई बिद्युतको चर्चा छ, न शहर, नत औद्याेगिक क्षेत्रलाई विद्यूत आपूर्ति गरि उत्पादनमा र रोजगारी वृद्धि गरिने प्रसंगनै उठाइएको छ । उल्टै नेपालले थप ३ अरब प्रति वर्षको दरले पांच वर्षमा १५ अरब लगानी गर्नु पर्ने छ।
यो नितान्त अमेरिकाको सुरक्षा छाता भित्र नेपाललाई पारी नेपाली भूमीमा आफ्नो प्रतिरक्षा स्थल स्थापना गर्न पेन्टागनको जाल हो भन्ने घाम जत्तिकै छर्लंग भएको छ। अब हुने अमेरिकन सहयोग पेन्टागन मार्फत हुनेछ र चीनलाई घेराबन्दी गरी चीनको अप्रत्याशित बिकास र वैश्विक बढ्दो प्रभावलाई रोक्ने,आधुनिक रेशम मार्गलाई रोक्न, रणनीति केन्द्रित हुन पुगेको छ।
अमेरिकाले नेपाल विकास र समृद्धिको लागि लालायित छ भन्ने कुरा राम्रै बुझेको छ। प्राकृतिक साधन श्रोतको प्रचुरता रहेको, मेहनती, स्वाभिमानी र शौर्यले कुटकुट भरिएका जनतामाथि शासन गरिरहेका राजनीतिक पार्टीका नेताहरु कति भ्रष्ट र दुर्बल चरित्रका छन् भन्ने तथ्य पनि राम्रै बुझेको छ। यी भ्रष्टहरुलाई हरियो घाँस हाले पछि आफ्नो चीनलाई घेर्ने कुटील नीति सफलहुने सपना देख्नु स्वाभाविक हो। यस कुटीलतालाई ढाकछोप गर्न मरिहत्ते गर्ने, देशघाती कथित बुद्धिजीवि-विज्ञ र पाल्तु मिशनरीहरुको जमात पनि यहाँ बाक्लै छ । यिनीहरुले एमसीसी परियोजनाले नेपाललाई समृद्ध स्वर्ग बनाउने र यसका बिरोध गर्ने विकास बिरोधिहुन् भनि कथा वाचन र गीत गाईरहेका छन्। यी दुष्टहरुले एमसीसी सम्झौता गरे पछि हाम्रा जडीबुटी, हाम्रा खनिज पदार्थ खासगरी युरेनियमत लुटिने छन्, हाम्रो भूमि विदेशी शक्तिदेशको युद्ध स्थल बन्ने छ, नेपालको अस्तित्व नै नष्टहुनेछ भन्ने कुरा भने गर्दैनन्।
केही दिन अगाडि सम्म आफु सत्ताबाहिर रहँदा सरकारले एमसीसी परियोजना किन सदनमा ल्याउदैन भनि बुर्कुसी मार्दै थिए । आज संयोगले सत्तामा आई पुगेका छन् र आफ्नो प्राथमिकता पहिलो खोप दोश्रो खोप र तेश्रो खोप भनेर सिधासादा जनतालाई दंगदास बनाई दिएका छन्। तर सत्य कुरा यस सरकारको, यसका सहयोगीहरुको र यसका प्रतिपक्ष यी तीनै थरीको पहिलो प्रथामिकता एमसीसी भएर पनि भनेको छैनन।
उता यिनीहरुका धर्म पिता जो' बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्दै गर्दा भनेका थिए "सितम्बर ११ , २००१ (जसलाई ९ /११ को घटना भनिन्छ ) मा अलकायदाद्वारा अमेरिकमाथि आत्मघाती आक्रमण गरे पछि यसको मास्टरमाइन्ड बिन लादेन मारिए पछि पनि बिगत दुई दशकसम्म मध्ये पूर्वमा हामीले वितायौं । "अब आउने दुई दशकमा हाम्रो प्रतिष्पर्धी र बिरोधीहरुलाई परास्त पार्न आवश्यक छ। अहिले पहिलो प्राथमिकता महामारीको बिरुद्ध लड्नु हुनेछ " यति भन्दै गर्दा चीन आफ्नो मूख्य प्रतिष्पर्धी र बिरोधि रहेको बाइडेनले औलाउन चुकेका छैनन्।
आज नेपाली भ्रष्ट शासकहरुको र दुष्ट शक्ति राष्ट्र दुबैको तत्कालिन र दुरगामी लक्ष साझा भएको कुरा छर्लंग भएको छ। तर विश्वास छ, नसा नसामा स्वाभिमानी रक्त संचार भै रहेका शौर्यशाली नेपालीले आफ्नो शान्ति भूमिमा, भ्रष्ट र दुष्टहरुको क्रिडास्थल किमार्थ सम्भव हुन दिने छैनन्। ईति:
*माझघर, लुँखु, महाशिला-५ , पर्वत। cpnsharan@gmail.com