सहकारी ऐन २०७४ ले घर जग्गा र शेयर जस्ता क्षेत्रमा सहकारी संस्थाहरूलाई लगानी गर्न बन्देज गरेको छ । तर कतिपय सहकारी संस्थाले सदस्यबाट संकलित पुँजीलाई ऐनले बन्देज गरेका घरजग्गा, शेयर लगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिले ती संस्था समस्यामा परेका छन् ।
सहकारी ऐन २०७४ को परिच्छेद ७ मा सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोवार गर्न भनिएको छ । ऐनको दफा ५० को १ मा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको मात्र बचत स्वीकार गर्न, सो को परिचालन गर्न र सदस्यलाई मात्र ऋण लगानी गर्न भनिएको छ ।
त्यसैगरी सोहि दफाको ६ मा सहकारी संस्थाहरुले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्न बाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निमार्ण, कारोबारमा लगानी, फर्म वा कम्पनी वा सहकारी बैंक बाहेक कुनै बैंकको शेयर खरिद वा अन्य कुनै प्रयोजनामा उपयोग गर्न नपाइने व्यवस्था गरिएको छ । तर कतिपय सहकारी संस्थाले ऐनमा भएको व्यवस्थालाइ धज्जी उडाउँदै कानुनले बन्देज गरेको क्षेत्रमा लगानी गर्दा अहिले हजारौं सदस्यको बचत जोखिममा परेको छ ।
ऐनमा भएको व्यवस्थालाई ख्यालै नगरी अन्धाधुन्दा बढी नाफा हुने क्षेत्रमा सहकारी संस्थाले लगानी गर्दा त्यसको असर अहिले समग्र सहकारी क्षेत्रमा परेको छ । कतिपय सहकारी संस्थाले त घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको र विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण मुलुकको अर्थतन्त्र समेत प्रभावित भएकाले घरजग्गा विक्री भएपछि मात्रै सदस्यको बचत फिर्ता गर्ने बताएका छन् ।
पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले एक विज्ञप्ति निकाल्दै आर्थिक मन्दी र तरलताको अभावको कारण संस्थाबाट प्रवाह भएको ऋण तथा व्याजको असुली अत्यन्तै कम भएको, घर जग्गाको खरिद बिक्री न्यून र निक्षेपकर्ताको निक्षेप प्राप्ति समेत शुन्य प्राय भएको कारणले संस्थाले निक्षेपकर्ताको निक्षेप फिर्ता र व्याजको भुक्तानी नियमानुसार गर्न नसकेको प्रति क्षमा मागेको छ। निक्षेपकर्ता एवं शेयर सदस्यहरुको निक्षेप सुरक्षित गर्न संस्थाबाट प्रवाह भएको ऋणको असुली सुमेरु ग्रुप भित्र रहेका विभिन्न कम्पनीको शेयर एवं जग्गामा शेयर वितरण गर्ने एव कम्पनीको नाममा रहेको घर जग्गा बिक्री वितरण गरी यथाशिघ्र छिटो निक्षेप सुरक्षित गर्ने मूल अभियानमा लागेको हुदाँ सो समय सीमासम्म निक्षेपकर्ता शेयर सदस्यहरुलाई धैर्य धारण गरिदिन संस्थाले अपिल गरेका छ ।
विगत २५ वर्ष देखी सहकारी मूल्य मान्यता र प्रचलित सहकारी ऐन नियमविनियम अनुसार संचालित भएको दाबी गरेको उक्त संस्थाले ऐनले सहकारीलाई कुन कुन क्षेत्रमा लगानी गर्न बन्देज गरेका छ भन्ने सामान्य ज्ञान समेत नभएको प्रमाणित गर्छ । सुमेरु सहकारीले सदस्यबाट संकलन गरेको बचतलाई सुमेरु ग्रुप स्थापना गरी सुमेरु अस्पताल, सुमेरु मार्ट, सुमेरु प्रिन्टिङ प्रेस, एसियन कलेज लगायत विभिन्न १५ कम्पनीमा लगानी गरेको पाइएको छ ।
त्यसैगरी भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउदेश्यी सहकारी संस्थाले पनि सदस्यबाट संकलन गरेको बचतलाई सदस्यमाझ परिचालन गर्नुको साटो विभिन्न २१ कम्पनी खडा गरिए घरजग्गा र ऐनले बन्देज गरेको क्षेत्रमा लगानी गरेको पाइएको छ । सदस्यबाट १० अर्ब ५० करोड बचत संकलन गरेको उक्त संस्थाले १ अर्ब ९० करोड मात्रै सदस्यमाझ परिचालन गरि बाँकी ८ अर्ब ६० करोड रुपैया शिखर अर्गनाइजेशनको नाममा अरु भगिनी संस्था स्थापना गरि लगानी गरेको सहकारी विभागले जानकारी दिएको छ । ऐनले चल अचल सम्पती खरिद र सदस्य बाहेक अन्य कम्पनीमा लगानी गर्न बन्देज गरेको भएपनि शिवशिखरले ऐमा भएको व्यवथालाइ कुल्चिँदै मनोमानी ढंगले सदस्यको बचत लगानी गरेको देखिएको छ ।
त्यसैगरी ललितपुरमा रहेको देउराली बहुउद्देश्यीय, मीनभवनमा रहेको कान्तिपुर सेभिङ लगायत धेरै सहकारी संस्थाहरूले ऐनले रोक लगाएको क्षेत्रमा लगानी गरेको देखिन्छ । यस अघि समस्याग्रस्त भएको ओरेण्टल सहकारीले पनि सदस्यको बचत यस्तै क्षेत्रमा लगानी गरेको थियो । सिभिल सेभिङ, पशुपति सेभिङ र अन्य थुप्रै सहकारीले ऐन विपरीत ती क्षेत्रमा लगानी गर्दा हजारौं सदस्यले अहिलेसम्म बचत फिर्ता पाउन सकेका छैनन् ।
ऐनमा व्यवस्था भएको प्रावधान कार्यान्वयन गराउने जिम्मा सहकारी विभागको भएपनि जनशक्तिको अभाव देखाउँदै त्यसबाट विभाग पञ्छिने गरेको छ । विभागको कमजोरीको फाइदा उठाउँदै सहकारी संस्थाहरूले ऐनले बन्देज गरेका क्षेत्रमा अन्धाधुन्द गरेको लगानी फस्न पुगेको छ । बचतकर्ताको अर्बौं रकम फिर्ता होला कि नहोला भन्ने धरमरमा परेको छ ।
नेपालपत्र संवाददाता