शनिबार, आश्विन १७ गते २०८३

को बन्ला उत्कृष्ट साकोस व्यवस्थापक ?

श्रावण ३१, २०७८ आइतबार
को बन्ला उत्कृष्ट साकोस व्यवस्थापक ?

 

नेफ्स्कुनले विगत ११ वर्षदेखि स्थापना दिवसको अवसर पारेर उत्कृष्ट व्यवस्थापक छनौट गर्दै आएको छ । २०६७ सालमा पहिलो पटक नेफ्स्कुनले उत्कृष्ट व्यवस्थापक छनौट गर्ने परम्पराको थालनी गरेको हो ।

नेफस्कुनले हरेक वर्ष संघमा आवद्ध प्रारम्भिक संस्थामध्येबाट एकजनालाई उत्कृष्ट व्यवस्थापकको रुपमा छनौट आएको छ । नेफ्स्कुनमा आवद्ध साकोसहरुका व्यवस्थापकहरुले आवेदन दिने र आवेदनहरुमध्येबाट एकजनालाई उत्कृष्ट व्यवस्थापक घोषणा गर्ने गर्छ ।

छनौट समितिले आवेदकको योग्यता र अनुभव, संस्था सञ्चालनको प्रक्रिया, नीति, विधि र प्रविधिको प्रयोग, संस्थागत पूँजीको अवस्था, सदस्यता वृद्धि, कुल सम्पत्तिको वृद्धिदर लगायतका सूचकलाई आधार मानेर उत्कृष्ट व्यवस्थापक घोषणा गर्दछ । 
नेफ्स्कुनबाट छनौट हुने उत्कृष्ट व्यवस्थापक नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको संयोजक बन्ने व्यवस्था छ । विगत २ वर्षबाट यो व्यवस्था भएको हो । त्यसअघि यस्तो व्यवस्था थिएन । म्यानेजर्स क्लबको संयोजक समेत हुने भएकाले सहकारी क्षेत्रमा कार्यरत मानव संशाधन मध्ये अहिले पनि थोरैले मात्रै सहकारीमा भविष्य देखिरहेको अवस्थामा सहकारीमा कार्यरत सबैको भविष्य सुनिश्चित हुने वातावरण बनाउनु अब छनौट हुने उत्कृष्ट व्यवस्थापकको दायित्व हुन आउने देखिन्छ ।

नेफ्स्कुनबाट पहिलो पटक विकु साकोसका सिइओ माधवप्रसाद पौडेल उत्कृष्ट व्यवस्थापक घोषित भएका थिए । त्यसयता एकदशकको क्रममा विभिन्न संस्थाका एघार जना उत्कृष्ट व्यवस्थापक घोषित भइसकेका छन् । गत वर्ष मिलिजुली कालिञ्चोक साकोस दोलखाका सीइओ ईश्वर न्यौपाने उत्कृष्ट बनेका थिए । नेफ्स्कुनको भोलि हुने ३४औं स्थापना दिवसबाट उत्कृष्ट व्यवस्थापक छनौट हुनेछन् । कुन संस्थाबाट को उत्कृष्ट व्यवस्थापक बन्लान् भन्ने विषयलाई साकोस अभियानमा चासोपूर्ण रुपमा हेरिएको छ । 

 

के हो नेफ्स्कुन साकोस म्यानेजर्स क्लब

नेफ्स्कुन म्यानेजर्स क्लब २०६९ सालमा शुरु भएको हो । नेपालमा पहिलो पटक ५ वटा संस्थाले एक्सेस ब्राण्ड प्राप्त गरेपछि यो क्लबको शुरुवात भएको थियो । त्यस बेलामा एक्सेस ब्राण्ड पाउने संस्थाका म्यानेजरहरुका बीचमा छलफल हुँदा सहकारीका असल अभ्यासहरुबारेमा एकापसमा आदानप्रदान गर्ने कुनै साझा माध्यम बनाउने अभिप्रायले क्लबको अवधारणा आएको थियो ।

अभियानलाई अगाडि बढाउने क्रममा त्यतिबेला कुनै प्लेटफर्म नभएको र सहकारीमा काम गर्ने प्रोफेसनल व्यक्तिहरुको बीचमा एउटा प्लेटफर्म बनाउँ भन्ने उदेश्यका साथ क्लब अगाडि बढेको चन्द्रागिरि साकोसका सीइओ कृष्ण कुमार श्रेष्ठले बताए । ‘यो अवधारणा मैले नै अघि सारेको थिएँ,’ नेफ्स्कुनबाट दोश्रो उत्कृष्ट व्यवस्थापक समेत घोषित भएको श्रेष्ठले भने ‘हामीले देशभरका साथीहरुको प्रतिनिधित्व हुने गरी क्लब बनायौं र त्यसलाई नै नेफ्स्कुन साकोस म्यानेजर्स क्लब नामाकरण ग¥यौं ।’  

क्लबको मुख्य काम सहकारी अभियानलाई व्यवस्थित र व्यवसायिक बनाउने, सहकारी अभियानभित्रको मानव संशाधनको क्षमता अभिवृद्धि गर्ने, साझा विषयहरुमा छलफल गरी निचोड निकाल्ने एवं अभियानलाई उपयोगी हुने नवप्रवर्धन र अनुसन्धान गर्ने रहेको छ ।

सोही क्लबको आयोजनामा पहिलो पटक सन् २०१३ मा राष्ट्रिय स्तरको सम्मेलन समेत भएको थियो । त्यो सम्मेलनमा बैंकिङ, आइटी र सहकारी क्षेत्रका साथै अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको सहभागिता रहको थियो । त्यसपछि यो क्लब देशभर जस्तै फैलिएको छ । कतैकतै यसलाई कर्मचारी युनियन जस्तो गरी प्रयोगमा ल्याइएको भएपनि यसको अवधारणा युनियनको नरहेको श्रेष्ठ बताउँछन् । क्लबलाई विशुद्ध प्रोफेशनल प्लेटफार्मको रुपमा लिनुपने उनको सुझाव छ । पोखरामा कोअपरेटिभ म्यानेजर्स क्लब ९सीएमसी० को नाममा, काठमाण्डौमा पनि सीएमसीकै नाममा क्लब गठन भएका छन् । यो अहिले देशभर फैलिने क्रममा छ । जिल्लागत रुपमा पनि क्लब गठन भइरहेका छन् । तर म्यानेजर्स क्लबको अहिलेसम्म राष्ट्रिय स्तरको छातासंघ बन्न सकेको छैन । एउटा अनौपचारिक मञ्चको रुपमा भने फैलिरहेको श्रेष्ठले बताए । तर कतिपय क्लबहरुले कार्यक्रमको आयोजना गर्दा साकोस म्यानेजर्स क्लबसँग सहकार्य गर्ने र फिडब्याक लिनेजस्ता कार्य भने हुँदै आएको छ । कार्यपत्र प्रस्तुत गर्दा, श्रोत व्यक्ति छनौट गर्दा जिल्लास्तरीय क्लबहरुले  साकोस म्यानेजर्स क्लबसँग सहकार्य गर्ने गरेका छन् ।

नेफ्स्कुनले आयोजना गर्ने सीइओ वर्कशपको व्यवस्थापन पनि यहि क्लबले गर्ने गरेको छ । विगतमा क्लबमा सहभागीहरुले नै आर्थिक व्यवस्थापन गर्ने गर्दै आएको भएपनि अहिले भने नेफ्स्कुनले समेत यसका लागि बजेट छुट्याउने गरेकाले कार्यक्रम फराकिलो बन्दै गएको छ ।