अहिले पनि मुलुकमा जनसंख्याको ठूलो हिस्सा बीमाको पहुँचबाट बाहिर रहेको पाइएको छ। पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा २७ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको छ। वैदेशिक राेजगारमा जाने कामदारहरूकाे म्यादी बीमालाइ समेत गणना गर्दा उक्त प्रतिशत जनसंख्यामा बीमाकाे पहुँच देखिएकाे हाे ।
अझै ७३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुर्याउन बाँकी देखिए पनि ६५ वर्ष माथिका मानिसकाे जीवन बीमा नहुने भएकाले बीमा समितिले जनाएकाे छ । यस अर्थिक वर्षमा ३३ प्रतिशत जनसंख्यामा बीमाकाे पहुँच पुर्याउने लक्ष्य सरकारकाे छ । यसका लागि स्थानीय तहहरूसँग समन्वय गरेर बीमा सम्बन्धि जनचेतना जगाउने र बीमा गर्न उत्प्रेरित गर्ने समितिकाे याेजना छ ।
न्युन आय भएका सीमान्तिकृत वर्गका लागि लघु जीवन बीमा याेजना ल्याउने तयारी गरिएकाे र यसका लागि सरकारसँग अनुदानका लागि पत्राचार गरिएकाे छ । सरकारले अनुदान लगायत अन्य सुविधा उपलब्ध गराए बीमाकाे पहुँच वृद्दि गर्न सकिने समितिले जनाएकाे छ।
गत आ.व.काे अन्त्यसम्म बीमा कम्पनीहरुले बीमा प्रिमियम बापत रू १ खर्ब ५३ अर्ब परिचालन गरेका छन्। आर्थिक वर्ष २०७७/७८ मा कुल बीमामा लघु बीमाको अनुपात ६ प्रतिशत रहेको छ । वीमाको क्षेत्र तथा वीमा सेवाका उपकरणहरुमा पर्याप्त विविधिकरण भइनसकेका कारण साना मझौला तथा घरेलु व्यवसायीहरुको संरक्षणको लागि आवश्यकतानुसार लघुबीमा सेवा प्रदान गर्न सकिएको देखिदैन।