
लाेकनारायण सुबेदी
बिश्व इतिहासमा दोश्रो बिश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ का दुइ दिन मानबताका बिरुद्ध पहिलो पटक जापामाथि बिध्वंशकारी आणबिक अस्त्र प्रयोग गरिएको दुर्दान्त र अबिस्मरणाीय दिनकोरुपमा अंकित छन् । तिनै दुइ दिन हुन् — बीसौ शताब्दीको बिश्वमा मानिसलाई आणबिक घाउ लागेको अपूर्ब क्रूरतम दिन पनि । अगष्ट ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन क्षणभरमै जापानको हिरोशिामा शहर खरानीमा परिणत भएको र डेढ लाख मानिस एकै चिहान बनेकाे दिन थियाे ।

आजभन्दा ७६ बर्ष पहिला अगष्ट महिनाका ती दुइ दिन मानबताको इतिहासमा कलंक र मानबता बिरोधी त्रासद कालो दिनकोरुपमा बिश्वले देख्नु र भोग्नु परेकाे थियो । वास्तवमा घना मानब बस्तीमा परमाणु बम जस्तो अत्यन्तै घातक र खतरनाक हतियारको प्रयोग अमेरिकाले त्यस दिन गरेको थियो । त्यसैले ती अगष्ट ६ र ९ दिनले अमेरिका र जापान बीचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउँदैन, आणबिक तथा परमाणिबिक शस्त्रास्त्र मानब सभ्यता, सँस्कृति र मानब जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछन् ती दुइ दिनका घटनाले । पहिलो आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै हिरोशिमा शहर त्यतिबेला तहसनहस भएर तातो खरानीमा परिणत भएको थियो । तत्काल १ लाख मानिस एकै निमेषमा कालकलिबत भएका थिए भने त्यसको असरले हजारौ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिन पछि अगष्ट ९ दिन जापानको अर्को शहर नागाशाकीमा अर्को आणबिक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५०औ हजार निर्दोष मानिसहरु कालकलबित भएका थिए ।

त्यस अमानबीय र कहालीलाग्दो आणबिक प्रहारयता जापानले युद्धका घाउहरु र जापानी जनताको घोर अपमानलाई पुर्दै ठूलो प्रगति गरेको छ । तर अझै पनि जापानमा अमेरिकी सैनिक अखण्डा त्यही बेलादेखि राखिएको छ । यद्यपि अहिले हिरोशिमाको त्यो बर्बादीमाथि शान्ति संग्राहलय खडा गरी शान्ति पार्ककोरुपमा कायम गरिएको छ । बर्षेनी जापानीहरु त्यहाँ त्यो क्रूर आणबिक युद्धमा मारिएका आफ्ना प्रियजन र पूर्खाहरुको सम्झनामा प्रार्थना गर्न र आणबिक शस्त्रास्त्रको बिरोध गर्न जाने गर्दछन् ‘हिरोेशिमा दिवस’का दिन !
वास्तवमा ६ अगष्टका दिन अमेरिकाको फाइटर बिमान – बी – २९ ले जमिनको सतहदेखि झण्डै ३१००० फीटको उच्चाई माथिबाट हिरोशिमा शहरमा परमाणुबम खसालेको थियो । त्यतिबेला हिरोशिमा शहरका मानिसलाई त्यो परमाण बम बिस्फोट यति भयानक लाग्यो कि आकाशमा कुनै अर्को सूर्य उदाएको छ । हेर्दा हेर्दै लाखौ लाख मानिस धुवाँसँग बिलाए । हुन पनि आजभन्दा ७६ बर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानब इतिहासको सबैभन्दा क्रुरतम् र एउटा भयंकर त्रासद घटनाकोरुपमा बिश्वमा अंकित छ । हिरोशिमामाथि आक्रमण गर्ने त्यो परमाणु अस्त्रको ‘कोड’ नाम ‘लिटिल ब्वाई’ थियो । तर त्यो ‘सानो केटा’ले जापान र मानबताको इतिहासलाई अत्यन्तै ठूला र गहिरो चोट लगायो । त्यो बम दोश्रो बिश्व युद्धको क्रममा अमेरिकाको ‘मेनहटन प्रोजेक्ट’ अन्तरगत अमेरिकाकाे ‘लासअलामोश’मा निर्माण गरिएको थियो । झण्डै ४००० किलो ग्राम तौलको त्यो संहारकारी बमको लम्बाई तीन मिटर र ब्यास(गोलाई) ७१ सेण्टिमिटरसम्मको थियो भनिन्छ । त्यस बमले आफ्नो बिस्फोटक क्षमता ‘यूरेनियम – २३५ को न्यूक्लियर फिशन प्रोसेस’ – जसलाई ‘नाभिकीय बिखण्डन प्रकृया’ भनिन्छ – बाट प्राप्त गरेको थियो । त्यसको बिध्वंशक क्षमता १३—१८ किलोटन टीएनटी(ट्राइनाइट्रोटालुइन) बराबरको मानिएकाे थियो ।

अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्य तथ्य बाहिर नआएको या नल्याइएकोले यस बारेको अन्दाज र अनुमानमा पनि बिबादमा नै छ । तर हिरोशिमा शहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको तथ्यांक थियो । त्यो जनसंखया मध्ये आधाभन्दा केही कम अर्थात १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मारिएको र मृृृत्यु भएको मानिएको छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजार देखि ८० हजारसम्म मानिस ‘फ्याट म्ँयान’नामको अर्को परमाणु बमद्वारा मारिएकाे अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रेडिएशन फैलिएका कारणले हजारौं हजार जापानीहरु बिकलाङ्ग भएर रहेका या मारिएका या बाँचेका पनि दुःखपूर्ण जीवनको बोकिरहेका थिए ।रेडिएशनले गर्भमा पनि धेरै पछिसम्म असर पारेकाे अध्ययनहरूले बताएकाे छ ।
त्यो घातक परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने अमानबीय निर्णय अमेरिकाले त्यतिबेला जुन गरेको थियो त्यसप्रति अहिलेसम्म उसले कुनै पश्चाताप गरेको र माफी मागेको छैन । बरु त्यसलाई सही नै ठहराउँदै आएको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा पनि राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । यद्यपि हिरोशिमा पुग्ने र त्यहाँ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यस अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले झण्डै ६ बर्ष जति अघि हिरोशिमा परमाणु बम खसालेको ७० बर्ष पछि गरेका हुन् ।
अहिले त बिश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै ध्रुबमा उभ्भिएका छन् । तर इतिहाले अगष्ट ६ र ९ काे जापानमाथि खसालिएको ती प्रलयकारी र बिध्वंशक परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छैन र त्यसलाई मानब इतिहासको एउटा कालो दिन र कलंककै रुपमा भने लिइराख्ने छ । अनि यस्तो त्रासद घटना दोहोरिनु हुँदैन भन्ने मानबीय आवाज बिश्वमा उठिरहने छ ।