बुधबार, भाद्र ३ गते २०८३

सन्दर्भ ब्याजदर अध्ययन गर्न बनाइयो कार्यदल, १४.७५ बाट घट्ला कि नघट्ला भन्नेमा अभियानको चासो

श्रावण १७, २०७८ आइतबार
सन्दर्भ ब्याजदर अध्ययन गर्न बनाइयो कार्यदल, १४.७५ बाट घट्ला कि नघट्ला भन्नेमा अभियानको चासो

 

सहकारी क्षेत्रमा विगत २ वर्षदेखि लागु हुँदै आएको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्ने विषयमा उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको छ । 

सहकारीको ब्याजदर कार्यान्वयनको अवस्था र पुनरावलोकनका सम्बन्धमा आज बसेको  ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’को बैठकले यस सम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको हो । कार्यदलले दिएको सुझावका आधारमा समितिले ब्याजदरमा तय गर्ने बताइएको छ । 

सहकारी विभागका उपरजिष्ट्रार पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ, राष्ट्रिय सहकारी बैंकका सीइओ बद्रिकुमार गुरागाईं, र नेफ्स्कुनका सीइओ प्रकाश प्रसाद पोखरेल रहेका छन् । त्यसैगरी सहकारी विकास बोर्डका उपप्रबन्धक, राष्ट्र बैंकका प्रतिनिधि र विभागका तर्फबाट एकजना सदस्य सचिवको रुपमा कार्यदलमा रहेका छन् । 

कार्यदलका संयोजक उपरजिष्ट्रार पौडेलले खुल्ला बजार अर्थतन्त्र भएकाले बजारलाई हेरेर मात्रै सन्दर्भ ब्याजदर तोक्न सकिने बताए । उनले भने ‘ब्याजदर घट्ने वा बढ्ने भन्ने सन्दर्भमा अहिले केहि भन्न सकिँदैन, सहकारी नियमावली २०७५ को नियम २३ मा भएको व्यवस्था अनुसार वित्तीय क्षेत्रको भारित औसत ब्याजदरका आधारमा सन्दर्भ ब्याजदर तोकिन्छ । कार्यदलले सबै क्षेत्रको ब्याजदर अध्ययन गरेर मुल समितिलाई सन्दर्भ ब्याजदर निर्धारणका लागि शिफारिष गर्ने हो ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति जारी गर्न बाँकी छ । बैंकहरुको निक्षेप र ऋणको भारित औसत दर, सहकारी बैंक, नेफ्स्कुन, नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघ र बजारको ब्याजदरलाई आधार मानेर सन्दर्भ ब्याजदर निर्धारण गरिने कानुनी प्रावधान रहेको छ । 

कार्यदलले राष्ट्र बैंक लगायतका अन्य सरोकारवाला निकायलाई वस्तुगत अवस्थाका बारेमा जानकारी गराउन लिखि पत्र पठाउने र त्यसपछि कार्यदलले दुईचारवटा अन्तक्रिया गरेर मात्रे समितिलाई सुझाव दिने बुझिएको छ । ‘बिना अध्ययन हचुवाका भरमा सुझाव दिन मिल्दैन’, पौडेलले भने ‘बजारको बस्तुगत अवस्थालाई सन्दर्भ मानेर ब्याजदर तोक्न सिफारिश गर्ने हो । ’

सन्दर्भ ब्याजदर निर्धारण समितिका सदस्य तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले आधार र सिद्धान्तका आधारमा नेफ्स्कुनले आफ्ना धारणा सार्वजनिक गर्ने बताए । नेफ्स्कुनका सिइओ समेत कार्यदलको सदस्य रहेकाले नेफ्स्कुनमा आवद्ध संस्थाहरुको ब्याजदर सर्वेक्षण गर्ने र त्यसकै आधारमा ब्याजदर निर्धारणका लागि सुझाव दिने उनले बताए । 

यस अघि पहिलो पटक २०७६ साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा अधिकतम् १६ प्रतिशत ब्याज लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकिएको थियो । त्यसैगरी त्यसलाई पुनरावलोकन गरेर २०७७ साल कार्तिक १५ गतेदेखि लागु हुनेगरी १४.७५ प्रतिशत ब्याजदर समितिले तोकेको थियो । यस आर्थिक वर्षको लागि सन्दर्भ ब्याजदर निर्धारणका लागि कार्यदल गठन भएको हो । 

सहकारीकर्मीहरु भने सन्दर्भ ब्याजदरका विषयमा फरक मत राख्दै आएका छन् । उनीहरुले सन्दर्भ ब्याजदरको नाममा सिलिङ लगाउन नहुने भन्दै यसको विरोध गर्दै आएका छन् । सन्दर्भ ब्याजदर निर्धारण समितिका एक सदस्यले हाल कायम रहेको सन्दर्भ ब्याजदर नघट्ने गरी छलफल भइरहेको जनाए ।