बागमती प्रदेश सहकारी संघले प्रथम वार्षिकोत्सवको अवसर पारेर ललितपुरको सातदोबाटोमा कार्यालय उद्घाटन गरेको छ ।
संघका अध्यक्ष रामशरण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए ।
अध्यक्ष कँडेलले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका थिए । संघका अध्यक्ष घिमिरेले बागमती प्रदेशमा सबैभन्दा बढी सहकारी संस्थाहरु रहेको र समस्या पनि उत्तिकै रहेकाले त्यसको व्यवस्थापन तर्फ आफुहरु लागिपर्ने बताए । नयाँ सहकारी ऐनले संस्थाहरुको अनुगमन गर्न सक्ने अधिकार संघहरुलाई दिएको र संस्थाहरुको अनुगमन गरी समस्या समाधानका लागि सहजीकरण गर्ने बताउँदै अटेर गर्ने संस्थाहरुलाई कारवाही गर्न सम्बन्धित निकायसमक्ष सिफारीस समेत गर्ने उनले प्रष्ट पारे । ‘अन्य संघहरुले भन्दा बागमती प्रदेश संघले फरक काम गर्छ’ उनले भने, ‘सहकारीमा देखिएको विकृति हटाउने देखि सदस्यको बचत अपचलन गरेका संस्थाहरुलाई कानुनी कारवाही गर्न समेत संघले सघाउँछ ।’
प्रारम्भिक संस्थाहरुलाई वित्तीय भार नपरोस् भन्ने उद्देश्यले सरल रुपमा सदस्य बनाउने प्रक्रिया अगाडि बढाएको र नवीकरण लगायतका अन्य कुनै शुल्क नलिने निर्णय भएको उनले जानकारी दिए । संघले प्रवेश शुल्क एक हजार तोकेको र संस्थाहरुले ५ हजारदेखि १ लाखसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था मिलाइएको उनले जनाए । सदस्यहरुबाट दुइपाँच शुल्क लिएर र वार्षिक साधारणसभा शुल्क उठाएर संघ चलाउनु हुँदैन भन्ने मान्यता आफ्नो रहेको भन्दै उनले थपे, ‘संस्थाहरुलाई धेरै वित्तीय भार पार्नु हुँदैन, अन्तरलगानी सजिलो काम भएकाले धेरै संघहरुले गर्दै आएकाले हामी भने यसतर्फ लाग्दैनौं ।’
संघले ४ वर्षे रणनीतिक योजना बनाएको र दीर्घकालिन परियोजनाको सम्भाव्यता अध्ययन गरी लगानी बढाउने योजनामा रहेको छ । बागमती प्रदेश सहकारी ऐनका कतिपय बुँदाहरु बाझिएकाले त्यसलाई संशोधन गर्न पनि पहल भइरहेको उनले जानकारी दिए ।
५६ वटा संघहरु मिलेर दर्ता भएको उक्त प्रदेश संघमा हाल १३० वटा सदस्य संस्था आवद्ध भएका छन् भने ३० लाख हाराहारीमा पुँजी संकलन भएको छ । संघले निकट भविष्यमा नै १३ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १० वटा उपसमिति बनाउने भएको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक, नेफ्स्कुन, जिल्ला संघ, बचत संघ, बहुउद्देश्यीय संघ लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
