काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको निर्वाचन आयोगले छिनोफानो गर्दैछ । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सनाखत अर्थात हेड काउण्ट गर्ने भएको छ।सर्वोच्च अदालतले सोमबारको प्रक्रिया रोक्ने अन्तरिम आदेश नदिएपछि जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवले पाउने सम्भावना बढेको ताइन्छ । जसपाकाे ५१ सदस्यीय कार्यकारणीको ३२ जना सदस्य यादवको पक्षमा रहेका छन् । यस्तोमा कार्यकारिणी समिति सदस्यको गणना रोक्न माग गर्दै हालिएको रिटमा अन्तरिम आदेश नआएपछि विवाद निरूपणका लागि निर्वाचन आयोगलाई पनि बाटो खुलेको हाे ।
याे जसपा ०७७ असार २४ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । यस दलको आधिकारिकतासम्बन्धी विवाद निरूपण गर्ने प्रयोजनको लागि आयोगले ‘केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको’ भन्दै एकीकरण हुँदा बखत सनाखत गरेका सदस्यलाई साउन ११ मा बोलाएको थियो । त्यसैगरी निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।
जसपाका कार्यकारिणी समितिका सदस्यहरू नागरिकतासहित उपस्थित हुनुपर्ने आयोगको निर्णयपछि आफूलाई ‘अन्याय भएको’ भन्दै ठाकुरले आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
न्यायाधीश रेग्मीको इजलासले जारी गरेको आदेशमा भनिएको छ- ‘रिट निवेदकलाई उक्त निर्णयले अपूरणीय क्षति पुगेको छ/छैन भन्ने सम्बन्धमा निर्णय हुनु संवैधानिक मर्यादासमेतको दृष्टिकोणले उपयुक्त हुने देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ग) बमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्न मिति २०७८/४/१५ को पेसी तोकी दुवै पक्षलाई जानकारी दिनू ।
यतिबेला दुबै पक्षका जसपा केन्द्रिय कार्यकारिणीका सदस्यहरू निर्बाचन अायाेगमा पुगिसकेका छन् ।