ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) आफ्नो २५औं साधारण सभा सम्पन्न गरेको छ । अध्यक्ष सानुबाबु प्रजापतिको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको रुपमा परोपकार प्रशुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठको उपस्थिति रहेका थिए ।
२०४४ सालमा स्थापित ब्लोदानले देशभर रक्त अभाव हुन नदिन रक्त संकलन कार्यक्रमलाइ निरन्तरता दिदै विभिन्न सामाजिक एवं व्यवसायीक संस्था समेतलाइ प्रोत्साहन र उत्पेरणा मुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
कार्यक्रमका सभापतिको तर्फबाट मन्तव्य व्यक्त गर्दै अध्यक्ष सानुबाबु प्रजापतिले ब्लोदानले स्थापनाकालदेखि हाल सम्म रक्तदानका क्षेत्रमा विभिन्न उत्पेरणा मुलक कार्यक्रमहरु नियमित गर्दै आएको र आगामी दिनमा समेत संस्थाले रक्तदान गर्ने संस्थाहरुलाइ गोलबन्द गर्दै अगाडि बढ्ने बताए । तत्काल ज्यान नजाने खोप निशुल्क गर्न सक्ने सरकारले रगतको अभावमा मानिसको ज्यान जाने विषयमा किन निशुल्क गर्न नसक्ने भनि उनले प्रश्न गरे ।
साधारण सभाको सफलताको शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि परोपकार प्रशुति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अनिल बाबु श्रेष्ठले नेपालको रक्त संचारको क्षेत्रमा ब्लोदानले गरेको कार्यको सह्राना गरे ।
सभामा विभिन्न संघसंस्थाहरुलाइ रक्तदानको विभिन्न क्षेत्रमा गर्नु भएको योगदानको कदर सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कान्तिपुर रक्तसंचार सेवाका इन्चार्ज टिकाराम मण्डल, ब्लोदानका केन्द्रिय सदस्य बालकृष्ण श्रेष्ठलाई डोनर अफ दि इयर, बरिष्ठ सल्लाहकार सुभाष गोयल रहेका थिए ।
डोनर पिन तर्फ ११० पटक रक्तदान गर्ने कुलबहादुर पाण्डे सहीत ७ जनालाई डायमण्ड पिन, १४ जनालाइ गोल्डेन, र १२ जनालाइ सिल्भर पिन प्रदान गरिएको छ । नियमित रक्तदान गर्ने १३ संस्थालाइ रनिङ्ग शिल्ड प्रदान गरिएको थियो ।
१७७ पटक रक्तदान कार्यक्रम मार्फत २०४८४ पीण्ट रगत संकलन गर्ने मारवाडी सेवा समितीका साथै एक पटकमा सबै भन्दा बढी २११ पीण्ट रक्त संकलन गर्ने सहयोगी बचत तथा ऋण सहकारी संस्था सहित १३ संस्थालाइ रनिङ्ग शिल्ड प्रदान गरिएको हो ।
संस्थाका वरिष्ठ सल्लाहकार लोकनारायण सुवेदीले स्वंयसेवी रक्तदाताले निशुल्क प्रदान गरेको रगत विरामीका लागी सरकारले पूर्ण रुपमा सोधभर्ना गर्नु पर्छ भन्दै त्यसको लागी ब्लोदानले आवस्यक पहल गर्न जरुरी रहेको बताए ।
साधारण सभामा केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलले ब्लोदानको उद्देश्य अनुसार विरामीलाइ रगत निशुल्क बनाउने कुरामा हामी सधै ब्लोदान संगै रहेका छौ र सधै सहकार्य गरी अगाडी बढने जनाए । पुर्ण रुपमा शाेधभर्नाका लागि रेडक्रस र ब्लोदानबीच सहकार्य अपरिहार्य रहेको कुरामा उनले जोड दिए ।
संस्थाको बरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले आफुले स्थापना गरेको संस्थाको २५औ साधारण सभामा सहभागी हुन पाउँदा आफुलाइ खुसी लागेको बताए ।
कार्यक्रममा कास्कुनका उपाध्यक्ष नवराज अर्यालले ३ वर्ष अघि शुरु गरिएको कास्कुन ब्लोदान संयुक्त रक्तदान बाट १३३० पीण्ट रगत संकलन गर्न सफल भएको बताउदै कास्कुन ब्लोदान कार्यक्रमलाइ उत्कृष्ट रुपमा गर्न नसकिए पनि यसलाइ निरन्तरता भने दिइ रहेको बताए। साथै आगामी दिनमा यस कार्यक्रमलाइ व्यवस्थित गरेर अगाडि बढाइने जानकारी दिए।
बन्द सत्रले महासचिवको प्रतिवेदन तथा कोषाध्यक्षले पेश गरेको लेखा परीक्षण प्रतिवेदन बहुमतले पारित साधारण सभा सम्पन्न भएको घोषणा गरिएको थियो ।