बुधबार, भाद्र ३ गते २०८३

अमेरिकाबाट जोन्सन एण्ड जोन्सनको १५ लाख डाेज खोप भोलि आउँदै

आषाढ २७, २०७८ आइतबार
अमेरिकाबाट जोन्सन एण्ड जोन्सनको १५ लाख डाेज खोप भोलि आउँदै

 

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ ।

यो खोप एक मात्रा लगाए पुग्ने खोप भएको जनाइएको छ । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको जनाएका छन् । 

हालै सम्पन्न जी–७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरे अनुसार अमेरिकी सरकारले सो बैठकले पारित गरेको खोपसम्बन्धी निर्णयलाई कार्यान्वयन गर्ने बताउँदै आएको छ । 

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् । नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ ।