बुधबार, भाद्र ३ गते २०८३

बाढी पहिराेमा परेर अहिलेसम्म ५१ जनाकाे मृत्यु ७१ घाइते

आषाढ २५, २०७८ शुक्रबार
बाढी पहिराेमा परेर अहिलेसम्म ५१ जनाकाे मृत्यु ७१ घाइते

 


काठमाडौं / मनसुन शुरू भएयता अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानमा परेर ५१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । बताइए अनुसार मृत्यु हुनेमा २६ पुरुष, १५ महिला, १० बालबालिका छन्।

यसरी मृत्यु हुनेमा  सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन/तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई–दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका छन्। 

अहिले पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको बताइएकाे छ। प्रहरी प्रधान कार्यालयले दिएकाे विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक/एक जनाको मृत्यु भएको जनाइएकाे छ ।

यतिखेरसम्बाम ढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएकामध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका  छन्। यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन्। तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेकाे जनाइएकाे छ। 

बाढी पहिराेकाे चपेटामा परेर बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई।दुई तथा बाजुरा र बाग्लुङमा एक/एक जना छन्। त्यसरी  बेपत्ता भएकाहरूकाे खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिएका छन्।

अहिलेसम्म बाढी पहिराेमा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको, एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको पनि जनाइएकाे छ। यस चपेटामा परेर एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित हुनपुगेका छन्।