शुक्रबार, मंसिर ११ गते २०८३

प्रत्येक नेपालीको भागमा ९९ हजार ऋण, सरकारको दायित्व ३० खर्ब नजिक


मंसिर १०, २०८३ बिहीबार
प्रत्येक नेपालीको भागमा ९९ हजार ऋण, सरकारको दायित्व ३० खर्ब नजिक

 

नेपालको सार्वजनिक ऋण दायित्व २०८३ कात्तिक मसान्तसम्म आइपुग्दा झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार सरकारको कुल ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ छ। यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो।

यसको अर्थ सरकारले अर्थतन्त्रको कुल वार्षिक उत्पादनको आकारको झन्डै आधा बराबर ऋण लिएको छ। तर सार्वजनिक ऋणको आकार मात्रै हेरेर अर्थतन्त्रको जोखिम निर्धारण हुँदैन। ऋण कुन प्रयोजनमा लिइयो, त्यसबाट कति प्रतिफल प्राप्त भयो र साँवा–ब्याज भुक्तानी गर्ने क्षमता कस्तो छ भन्ने कुराले यसको वास्तविक प्रभाव निर्धारण गर्छ।

प्रतिव्यक्ति ऋण करिब ९९ हजार रुपैयाँ
राष्ट्रिय तथ्याङ्क कार्यालयको जनसङ्ख्या प्रक्षेपणअनुसार सन् २०२६ मा नेपालको जनसङ्ख्या ३ करोड ३४ हजार ४० जना पुग्ने अनुमान छ। यसैलाई आधार मानेर कुल सार्वजनिक ऋणलाई जनसङ्ख्याले भाग गर्दा प्रतिव्यक्ति ऋण दायित्व करिब ९९ हजार ५८ रुपैयाँ हुन्छ। अर्थात् औसतमा प्रत्येक नेपालीको भागमा करिब ९९ हजार रुपैयाँ सार्वजनिक ऋण पर्छ। 

यो प्रतिव्यक्ति ऋणको हिसाब हो, प्रत्येक नागरिकले व्यक्तिगत रूपमा तिर्नुपर्ने रकम होइन। सरकारले कर तथा अन्य सार्वजनिक आम्दानीबाट ऋणको साँवा र ब्याज भुक्तानी गर्छ। यसमा बालबालिका, वृद्धवृद्धा, रोजगारीमा रहेका र नरहेका सबै जनसङ्ख्या समान रूपमा गणना गरिएको छ।

तर सार्वजनिक ऋणको आकार मात्रै होइन, यसको प्रयोग र त्यसबाट प्राप्त उपलब्धि महत्त्वपूर्ण हुन्छ। ऋण बढ्नु सधैँ खराब र घट्नु सधैँ राम्रो संकेत पनि होइन। विकासका लागि आवश्यक पुँजी जुटाउन ऋण लिनु सामान्य आर्थिक अभ्यास हो। सडक, जलविद्युत्, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र उत्पादनमूलक पूर्वाधारमा लगानी गर्दा त्यसले भविष्यमा आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, उत्पादन वृद्धि र सरकारी राजस्व बढाउन सक्छ। यस्तो अवस्थामा ऋणले अर्थतन्त्रको उत्पादन क्षमता बढाएर भविष्यको ऋण भुक्तानीलाई समेत सहज बनाउन सक्छ।

यसको विपरीत, ऋणबाट उठेको रकम अनुत्पादक खर्च, अनावश्यक प्रशासनिक संरचना, कमजोर प्रतिफल दिने आयोजना वा राजनीतिक स्वार्थका परियोजनामा खर्च भए त्यसले भविष्यको आर्थिक दायित्व मात्रै बढाउँछ। आयोजना समयमै सम्पन्न नहुनु, लागत बढ्दै जानु, निर्माणपछि पनि सञ्चालनमा नआउनु र अपेक्षित आम्दानी नदिनु सार्वजनिक ऋणको सदुपयोग हुन नसकेको अवस्था हो। यस्तो ऋणको साँवा र ब्याज भने सरकारले करदाताबाट उठाएको रकम वा नयाँ ऋणबाट तिर्नुपर्ने हुन्छ। यसले विकासका अन्य क्षेत्रमा खर्च गर्न सकिने बजेटसमेत साँघुरो बनाउँछ।

ऋण घटेको देखिए पनि वास्तविक अवस्था के हो ?
प्रतिवेदनको एउटा महत्त्वपूर्ण पक्ष के छ भने चालु आर्थिक वर्षको सुरुवातमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण कात्तिक मसान्तमा २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँमा झरेको छ। यस अवधिमा सरकारले १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ नयाँ ऋण प्राप्त गरेको छ भने १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ।

नयाँ ऋण प्राप्ति र साँवा भुक्तानीको अन्तरले ऋण दायित्व ३६ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ बढ्नुपर्ने देखिन्छ। तर प्रतिवेदनअनुसार विदेशी विनिमय दरमा भएको अनुकूल परिवर्तनबाट ४३ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको लाभ प्राप्त भएकाले कुल ऋण दायित्व घटेको हो। यसरी हेर्दा कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको मौज्दात ६ अर्ब ५८ करोड ४८ लाख रुपैयाँले घटेको छ। अर्थात् ऋण घट्नुको मुख्य कारण सरकारले ऋण परिचालन रोकेको वा आम्दानीबाट ठूलो परिमाणमा ऋण तिरेको नभई विनिमय दरबाट प्राप्त लाभ हो। public debt 

यसले सार्वजनिक ऋणको आकार विदेशी मुद्रा विनिमय दरबाट पनि प्रभावित हुने देखाउँछ। नेपालको कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत छ। विदेशी मुद्रामा लिइएको ऋणको नेपाली रुपैयाँमा मूल्य विनिमय दरअनुसार बढ्न वा घट्न सक्छ। नेपाली मुद्रा कमजोर हुँदा विदेशी ऋणको नेपाली रुपैयाँमा दायित्व बढ्छ भने नेपाली मुद्रा बलियो हुँदा घट्न सक्छ। त्यसैले विनिमय दरबाट भएको लाभलाई दीर्घकालीन ऋण व्यवस्थापनमा भएको संरचनात्मक सुधारका रूपमा बुझ्न मिल्दैन।

ऋणको साँवा–ब्याज भुक्तानीमै सवा खर्बभन्दा बढी खर्च
ऋणको आकारसँगै यसको भुक्तानी दायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।

उक्त अवधिमा १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ साँवा र २३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ ब्याज भुक्तानी भएको छ। कुल ऋण सेवा खर्च कुल गार्हस्थ्य उत्पादनको २.१४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। यसले सरकारले विकास तथा अन्य सार्वजनिक सेवाका लागि छुट्याउनुपर्ने स्रोतको एउटा उल्लेख्य हिस्सा ऋणको साँवा र ब्याज भुक्तानीमा खर्च गर्नुपरेको देखाउँछ। 

वैदेशिक ऋणभन्दा आन्तरिक ऋणमा बढी निर्भरता
कात्तिक मसान्तसम्म सरकारले कुल १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त गरेकोमा आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत छ। चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर चार महिनामा लक्ष्यको २३.३७ प्रतिशत मात्रै ऋण प्राप्त भएको छ। आन्तरिक ऋण परिचालन लक्ष्यको ३०.४९ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण प्राप्ति ११.६२ प्रतिशतमा सीमित छ। 

आन्तरिक ऋण परिचालनले सरकारलाई तत्काल स्रोत जुटाउन सहयोग गरे पनि यसको लागत र प्रभाव अर्थतन्त्रभित्रै पर्ने हुन्छ। सरकारले आन्तरिक बजारबाट ठूलो परिमाणमा ऋण उठाउँदा बैंक तथा वित्तीय संस्थामा उपलब्ध लगानीयोग्य रकम सरकारी ऋणपत्रमा केन्द्रित हुन सक्छ। यस्तो अवस्थामा निजी क्षेत्रले उत्पादन, उद्योग र व्यवसाय विस्तारका लागि कर्जा पाउने अवसर प्रभावित हुन सक्ने जोखिम रहन्छ। अर्कोतर्फ सहुलियतपूर्ण ब्याज र लामो भुक्तानी अवधि भएका वैदेशिक ऋणलाई उत्पादनमूलक पूर्वाधारमा परिचालन गर्न सके त्यसले अर्थतन्त्रको दीर्घकालीन क्षमता बढाउन सक्छ।

सार्वजनिक ऋणको अर्को चुनौती ऋणको रकमभन्दा त्यसबाट प्राप्त उपलब्धिको मापन हो। कुनै आयोजना निर्माणका लागि ऋण लिइएको छ भने त्यसले कति उत्पादन बढायो, कति रोजगारी सिर्जना गर्‍यो, आयात प्रतिस्थापन वा निर्यात विस्तारमा कस्तो योगदान गर्‍यो र सरकारी राजस्वमा कति वृद्धि ल्यायो भन्ने आधारमा प्रतिफल मूल्याङ्कन हुनुपर्छ। ऋण लिएर आयोजना घोषणा गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्ने प्रवृत्तिले लागत र ब्याजको भार बढाउँछ। त्यसैले ऋणको सदुपयोग सुनिश्चित गर्न आयोजना छनोट, सम्भाव्यता अध्ययन, समयमै निर्माण, पारदर्शी खर्च र प्रतिफलको नियमित मूल्याङ्कन आवश्यक हुन्छ।

समग्रमा, नेपालको सार्वजनिक ऋण अहिले कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत र प्रतिव्यक्ति करिब ९९ हजार रुपैयाँ पुगेको अवस्था छ। यो आफैँमा मुलुक ऋण संकटमा पुगिसकेको प्रमाण होइन। तर ऋणको आकारसँगै भुक्तानी दायित्व बढ्दै जानु, वैदेशिक ऋण प्राप्तिको कमजोर गति र ऋणको उपयोगबाट पर्याप्त आर्थिक प्रतिफल सुनिश्चित गर्न नसक्नु चिन्ताका विषय हुन्। ऋणलाई उपभोग र प्रशासनिक खर्च धान्ने स्रोत नभई उत्पादन, पूर्वाधार र आम्दानी सिर्जना गर्ने पुँजीका रूपमा परिचालन गर्न सके मात्रै त्यसले भावी पुस्तामाथिको आर्थिक भार घटाउन सक्छ। अन्यथा आज लिइएको ऋणको साँवा र ब्याज भुक्तानीको दायित्व भविष्यका करदाताले बेहोर्नुपर्नेछ।