मंगलबार, कार्तिक १८ गते २०८३

पहिलाे त्रैमासमा बैंकहरूकाे मुनाफा ४५ प्रतिशतले बढ्यो, नबिल सबैभन्दा अगाडि


कार्तिक १६, २०८३ आइतबार
पहिलाे त्रैमासमा बैंकहरूकाे मुनाफा ४५ प्रतिशतले बढ्यो, नबिल सबैभन्दा अगाडि

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको खुद नाफा ४५.५९ प्रतिशतले बढेको छ। असोज मसान्तसम्म बैंकहरूले कुल १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा नबिल बैंकले सर्वाधिक २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

प्रतिशतका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा सर्वाधिक २ हजार ५२२.४६ प्रतिशतले बढेको छ। बैंकको नाफा ४ करोड ५० लाखबाट बढेर १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुगेको छ। कृषि विकास बैंकको नाफा १ हजार ८०३.७१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १७५.५२ प्रतिशत, सिद्धार्थ बैंकको १६२.७५ प्रतिशत र सानिमा बैंकको १३१.१३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा १६ बैंकको नाफा बढ्दा तीन बैंकको भने घटेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशत, प्राइम कमर्सियल बैंकको ५.६२ प्रतिशत र हिमालयन बैंकको ६.८३ प्रतिशतले घटेको छ।

यता, गत वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक चालु वर्षको सोही अवधिमा १० करोड ७७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ। यससँगै पहिलो त्रैमासमा सबै २० वाणिज्य बैंक नाफामा रहेका छन्।