शनिबार, कार्तिक १५ गते २०८३

राष्ट्र बैंकले ८ दिनका लागि १५० अर्ब निक्षेप संकलन गर्दै


कार्तिक १३, २०८३ बिहीबार
राष्ट्र बैंकले ८ दिनका लागि १५० अर्ब निक्षेप संकलन गर्दै

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँको ८ दिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार कात्तिक १२ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत निक्षेप संकलनको बोलकबोल हुनेछ। यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ।

राष्ट्र बैंकले ८ दिने अवधिका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोल गर्न सकिने जनाएको छ। बोल गरिने रकम १० करोड रुपैयाँले निःशेष भाग जाने हुनुपर्नेछ। निक्षेपको साँवा तथा ब्याज कात्तिक २० गते भुक्तानी हुनेछ। बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। बैंक तथा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा समेत एकभन्दा बढी बोलकबोल गर्न सक्ने व्यवस्था छ। निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।