काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा १६ अर्ब २३ करोड १९ लाख ५५ हजार ७९६ रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म ४२२ वटा परियोजनाका लागि उक्त रकम बराबरको लगानी स्वीकृत भएको हो।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा चालु वर्ष विदेशी लगानी प्रतिबद्धता घटेको विभागले सार्वजनिक गरेको तुलनात्मक विवरणले देखाएको छ। गत वर्ष साउनमा उच्च रहेको लगानी प्रतिबद्धता चालु वर्षको साउनमा निकै कम देखिएको छ। यद्यपि भदौ र असोजमा लगानी प्रतिबद्धतामा सुधार आएको छ।
विभागको असोज महिनाको प्रतिवेदनअनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० परियोजनाका लागि १४ अर्ब ५८ करोड ६५ लाख ५५ हजार ७९६ रुपैयाँ र स्वीकृति मार्गबाट १२ परियोजनाका लागि एक अर्ब ६४ करोड ५४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
असोज महिनामा मात्रै ९४ परियोजनाका लागि पाँच अर्ब १० करोड ७५ लाख ५० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यसमध्ये ८८ परियोजना स्वचालित मार्ग र छ परियोजना स्वीकृति मार्गबाट अघि बढेका छन्।
पर्यटनमा सबैभन्दा धेरै रकम, सूचना प्रविधिमा धेरै परियोजना
क्षेत्रगत रूपमा हेर्दा विदेशी लगानीकर्ताको प्रमुख आकर्षण पर्यटन र सेवा क्षेत्र बनेका छन्। तीन महिनामा पर्यटन क्षेत्रका १०८ परियोजनाका लागि छ अर्ब आठ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यो कुल लगानी प्रतिबद्धताको करिब ३७ प्रतिशत हो।
त्यस्तै, सेवा क्षेत्रका ३३ परियोजनामा तीन अर्ब ५७ करोड ५४ लाख ३८ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। पर्यटन र सेवा क्षेत्रको संयुक्त हिस्सा कुल प्रतिबद्धताको करिब ५९ प्रतिशत पुगेको छ।
ऊर्जा क्षेत्रमा दुई परियोजनाका लागि चार अर्ब रुपैयाँ र उत्पादनमूलक क्षेत्रमा २५ परियोजनाका लागि एक अर्ब ६० करोड ५३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
परियोजना सङ्ख्याका आधारमा भने सूचना तथा सञ्चार प्रविधि क्षेत्र अग्रस्थानमा छ। यस क्षेत्रमा २५२ परियोजनाका लागि ९२ करोड ८३ लाख ६७ हजार ६०० रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। कुल परियोजनामध्ये करिब ६० प्रतिशत सूचना प्रविधि क्षेत्रका भए पनि लगानी रकममा यसको हिस्सा करिब छ प्रतिशत मात्रै छ।
कृषि तथा वनजन्य क्षेत्रमा दुई परियोजनाका लागि चार करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। खनिज तथा पूर्वाधार क्षेत्रमा भने यस अवधिमा नयाँ विदेशी लगानी प्रतिबद्धता देखिएको छैन।
गत वर्षको तुलनामा लगानी प्रतिबद्धता घट्यो
विभागको प्रतिवेदनको दोस्रो पृष्ठमा रहेको तुलनात्मक रेखाचित्रअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनामा आएको विदेशी लगानी प्रतिबद्धता चालु वर्षको तुलनामा उल्लेख्य बढी थियो। विशेषगरी गत वर्ष साउन महिनामा लगानी प्रतिबद्धता उच्च देखिएकोमा चालु वर्षको सोही महिनामा ठूलो गिरावट आएको छ।
तर, प्रतिवेदनमा गत आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको कुल लगानी प्रतिबद्धता रकम अङ्कमा उल्लेख नभएकाले कति रुपैयाँ वा कति प्रतिशतले घट्यो भन्ने यकिन गर्न सकिँदैन।
विदेशी लगानीमार्फत सिर्जना हुने प्रस्तावित रोजगारी भने चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार १२९ जना रहेको छ। विभागका अनुसार यस अवधिमा स्वीकृत परियोजनामध्ये ४१७ साना, दुई मझौला र तीन ठूला उद्योग छन्।
यसैबीच विदेशी लगानीकर्ताका लागि जारी हुने व्यावसायिक भिसाको सिफारिस पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ६२५ लगानीकर्तालाई व्यावसायिक भिसा सिफारिस गरिएकोमा चालु वर्षको सोही अवधिमा १४४ जनालाई मात्रै सिफारिस गरिएको छ। यो करिब ७७ प्रतिशतको गिरावट हो।
विदेशी लगानी प्रतिबद्धताको क्षेत्रगत वितरणले पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ताको रुचि बढी रहेको देखाए पनि ठूला उत्पादनमूलक तथा पूर्वाधार परियोजनामा अपेक्षित विस्तार हुन नसकेको सङ्केत गर्छ।

नेपालपत्र संवाददाता