नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८३\८४ को पहिलो त्रैमासमा खुद नाफामा वृद्धि गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा बैंकको खुद नाफा २६ गुणाभन्दा बढीले वृद्धि भएको छ । बैंकको नाफामा आएको उच्च वृद्धिको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थामा भएको ठूलो गिरावट हो । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६०.८१ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो व्यवस्था २ अर्ब ८० करोड ४ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड २ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आवको सोही अवधिमा बढेर ३ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको समीक्षा अवधिमा ०.८८ प्रतिशतले बढेर ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा चालु आवको पहिलो तीन महिनामा बैंकको ग्राहक निक्षेप २.६९ प्रतिशतले बढेर ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो निक्षेप ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ थियो ।
नेपालपत्र संवाददाता