शनिबार, कार्तिक १५ गते २०८३

जलाशययुक्त आयोजनाका लागि अन्तर्राष्ट्रिय प्रविधि र लगानी आव्हान


कार्तिक १२, २०८३ बुधबार
जलाशययुक्त आयोजनाका लागि अन्तर्राष्ट्रिय प्रविधि र लगानी आव्हान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालका ठूला जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायसँग लगानी, प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यको आग्रह गरेका छन्।

क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’लाई सम्बोधन गर्दै डाँगीले बाँध इन्जिनियरिङ, जलाशय आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधारमा क्यानडाको अनुभव नेपालका लागि उपयोगी हुने बताए। सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने आयोजना निर्माणमा दुई देशबीच सहकार्यको ठूलो सम्भावना रहेको उनको भनाइ छ।

उनले तमोर ७६२, दूधकोशी ६७०, बूढीगण्डकी १२०० र माथिल्लो अरुण १०६० मेगावाटलगायत आयोजनामा अन्तर्राष्ट्रिय लगानी, आयोजना वित्त व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण र आधुनिक प्रविधिको आवश्यकता रहेको बताए।

डाँगीका अनुसार सन् २०१९ मा जल तथा ऊर्जा आयोगको सचिवालयसहित विभिन्न अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना देखाएका छन्। रन अफ रिभर, पिकिङ रन अफ रिभर, जलाशययुक्त र पम्प्ड स्टोरेज आयोजना विकास गरेर नेपाल दक्षिण एसियाको प्रमुख स्वच्छ ऊर्जा केन्द्र बन्न सक्ने उनले बताए।

सरकारले २०३५ सम्म विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसका लागि हालको क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमता विकास गर्नुपर्ने बताए। यसका लागि निजी क्षेत्रको लगानी निर्णायक हुने उनको भनाइ छ।

उनले विद्युत् उत्पादनसँगै प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापारको पूर्वाधार विस्तार गरेर छिमेकी मुलुकमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने अवसर रहेको बताए। जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएयता उत्पादन क्षमता उल्लेख्य बढेको र हाल करिब ४.३ गिगावाट जडित क्षमतामध्ये ८० प्रतिशतभन्दा बढी निजी क्षेत्रका आयोजनाको योगदान रहेको उनको दाबी छ।

डाँगीले जलविद्युत् आयोजना विकास, लगानी, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम तथा जलवायु उत्थानशील पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र प्राविधिक विज्ञलाई नेपालसँग सहकार्य गर्न आग्रह गरे।