शनिबार, आश्विन १७ गते २०८३

सहकारीमा सन्दर्भ ब्याजदर परिमार्जनः अशोज १ देखि १३ प्रतिशत कायम हुने

भाद्र ३१, २०८३ बुधबार
सहकारीमा सन्दर्भ ब्याजदर परिमार्जनः अशोज १ देखि १३ प्रतिशत कायम हुने

 

काठमाडाैं । सहकारीमा सन्दर्भ ब्याजदर १३ प्रतिशत कायम हुने भएको छ । संघीय सहकारी रजिष्ट्रार कार्यालयले २०८३ साल अशोज १ गते देखि लागु हुने गरी सहकारी संस्थाले अधिकतम १३ प्रतिशत ब्याजमा ऋण लगानी गर्न पाउने व्यवस्था गरेकाे हाे । 

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिकाे सिफारिशमा यस्ताे व्याजदर ताेक्ने गरिन्छ । विगत लामाे समयदेखि सन्दर्भ ब्याजदर पुनरावलाेकन भएकाे थिएन । यसअघि २०७८ साल फागुनमा सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन गरी १४.७५ बाट वृद्धि गरी १६ प्रतिशत कायम गरिएको थियो । सहकारीमा सन्दर्भ ब्याजदर तोकिएको यो चौंथो पटक हो । 

सहकारी ऐन, २०७४ ले सहकारी संस्थाले बचत तथा ऋण कारोबार गर्दा लागू हुने सन्दर्भ ब्याजदर निर्धारण गर्ने व्यवस्था गरेको छ। ऐनको दफा ५१ अनुसार रजिष्ट्रारको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा सन्दर्भ ब्याजदर तोकिने र यस्तो दर सहकारी संस्थाका लागि निर्देशक ब्याजदर हुने व्यवस्था छ। साथै ऐनले बचत र ऋणको ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ।

सहकारी नियमावली, २०७५ को नियम २३ ले सन्दर्भ ब्याजदर निर्धारणका आधार तोकेको छ। यसअनुसार सहकारी संस्था, सहकारी बैंक तथा ‘क’ वर्गका बैंकको औसत ब्याजदर, नेपाल राष्ट्र बैंकका अध्ययन तथा प्रतिवेदन, सम्बन्धित संघसंस्थाको सुझावलगायतका आधारमा दर निर्धारण गर्नुपर्ने व्यवस्था छ। बचतको भारित औसत ब्याजदरभन्दा सन्दर्भ दर बढी र ऋणको भारित औसत ब्याजदरभन्दा सामान्यतया कम हुने गरी दर तोक्नुपर्ने तथा आवश्यकताअनुसार यसको पुनरावलोकन गर्न सकिने प्रावधान छ।