शनिबार, आश्विन १७ गते २०८३

रसुवामा बाढी: ३८४ पर्यटक सम्पर्कविहीन


भाद्र १०, २०८३ बुधबार
रसुवामा बाढी: ३८४ पर्यटक सम्पर्कविहीन

 

काठमाडौं । रसुवामा बुधबार बिहान भोटेकोशी नदीमा आएको पहिरो–बाढीका कारण प्रभावित क्षेत्रमा रहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डले बुधबार अपराह्न सार्वजनिक गरेको ‘स्थिति अद्यावधिक–२’ अनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन् । यो विवरण विभिन्न ट्राभल तथा टुर एजेन्सीबाट प्राप्त प्रारम्भिक अभिलेखमा आधारित रहेकाले अझै प्रमाणीकरण तथा क्रस–चेक भइरहेको बोर्डले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार ट्रेकर्स सोसाइटीबाट ९२ जना, सम्राट टुर्स एन्ड ट्राभल्सबाट ७१, लिफ होलिडेबाट ५५ र हिमालयन ग्लेसियरबाट ५२ जना सम्पर्कविहीन छन् । यस्तै कैलाश यात्राबाट ३१, फिशटेल टुर्स एन्ड ट्राभल्सबाट २७, अल्पाइन इको ट्रेकबाट २०, काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सबाट १७, रिचा टुर्स एन्ड ट्राभल्सबाट १२ र एक्स्प्लोर भ्याकेसनबाट ७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

सम्पर्कविहीन यात्रुमध्ये भारतीय नागरिकको संख्या सबैभन्दा बढी रहेको बोर्डले जनाएको छ । त्यसपछि मलेसिया, बेलायत, दक्षिण अफ्रिका, अमेरिका, अस्ट्रेलिया र नेदरल्यान्ड्सका नागरिक रहेका छन् । केही विदेशी यात्रुको राष्ट्रियता भने अझै पुष्टि हुन बाँकी छ ।

बोर्ड, पर्यटक प्रहरी, ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन तथा सुरक्षा निकायको समन्वयमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ । बोर्डले प्राप्त विवरण प्रमाणीकरण गर्दै थप अवस्था यकिन भएपछि अर्को स्थिति अद्यावधिक सार्वजनिक गर्ने जनाएको छ । बोर्डले सार्वजनिक गरेको ३८४ जनाको संख्या प्रारम्भिक विवरण मात्र रहेको र अन्तिम तथ्याङ्क नभएको स्पष्ट पारेको छ ।