काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। २०८३ वैशाखमा सञ्चालन गरिएको विशेष मासिक योजनाअन्तर्गत व्यवसायिक लक्ष्य पूरा गरेका अभिकर्ताका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा देशभरबाट आएका करिब ३०० जना वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक, शाखा प्रमुख, विभागीय प्रमुख तथा उत्कृष्ट अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ।
कार्यक्रम उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा प्रथम बीमाशुल्कसहित समग्र व्यवसायिक सूचकमा कम्पनीले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउन दक्ष र परिणाममुखी अभिकर्ता सञ्जाल निर्माण कम्पनीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै अभिकर्ताको क्षमता विकासलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
प्रशिक्षणमा ग्राहकको आवश्यकता बुझ्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने सीपलाई प्रभावकारी बीमा व्यवसायको आधारका रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्ट्यान्ड–अप कमेडियन सुमन कार्की, गायक रामचन्द्र काफ्ले, जुनु रिजाल तथा दीपक बज्राचार्य एण्ड रिदम ब्यान्डको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो। कम्पनीले यस्ता कार्यक्रमले अभिकर्ताको क्षमता अभिवृद्धिसँगै बीमा सेवाको गुणस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपालपत्र संवाददाता