नेपाल कम्युनिष्ट पार्टीकाे गठन
यस प्रकार मार्क्सबाप्रति कमरेड पुष्पलालकाे बढ्दो अभिरुचि र मार्क्सवादी दर्शन र साहित्य अध्ययनमा निरन्तर लागेका कारण अन्ततः उनी कम्युनिष्ट पार्टी गठन गर्ने निर्णयमा पुगे । त्यसका लागि उनैको पहलकदमी र अग्रसरतामा कलकत्ताको श्याम बजारस्थित एक बंगालीको घरमा १२ वैशाख २००६ का दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनका लागि एक पाँच सदस्यीय संस्थापन कमिटी गठन भयो । त्याे सस्थापन कमिटीमा कमरेड पुष्पलालका अतिरक्त अन्य चार जना नारायणबिलाश जाेशी, नरबहादुर कर्माचार्य, निरञ्जनगाेबिन्द बैद्य र माेतीदेबी श्रेष्ठ रहेका थिए । त्याे संस्थापन कमिटीले १२ बैशाख २००६ कै दिन एउटा पर्चा निकाल्दै नेपाल कम्युनिष्ट पार्टी गठनका लागि अपिल गर्याे र यसरी गृह कार्य गर्दै गएर अन्ततः पार्टीकाे घाेषणापत्र, केन्द्रिय संगठन समिति र तदर्थ बिधान सबै अंग पुर्याएर १५ सेप्टेम्बर १९४९ का दिन बिधिबत नेपाल कम्युनिषट पार्टीकाे गठन गरियाे । गठनकाे दुइ बर्ष पछि कलकत्तामा भएकाे पार्टीकाे प्रथम सम्मेलनले संस्थागतरूपमा नै पार्टीकाे स्थापना दिवस १५ सेप्टेम्बर र पार्टीकाे कार्यक्रम नयाँजनबाद हुने संस्थागत निर्णय सार्बजनिक गर्याे ।
नेपाल कम्युनिष्ट पार्टीकाे घाेषणापत्र मार्फत त्यतिबेला राणाशाही विरुद्ध सम्पूर्ण जनतालाई संघर्षमा उत्रन निकै तीखाे शैलीमा आह्वान गरिएको थियो । त्यसमा भनिएको थियाे र छ : — (क) मजदूरलाई आफ्नो रोटी र तलब बढाउन र महँगी भत्ता बढाउनको लागि लड्नुपर्छ । यस कारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । ख) किसानलाई आफ्नो भोक हटाउन, आफ्ना बालीनाली (फसल) को भाउ बढाउन, ज्याला बढाउन, (अँधियामा उचित भाग पाउन) र जमीनको हकको निम्ति लड्नुपर्छ ।यस कारण किसान नागरिक स्वतन्त्रता चाहन्छ । ग) विद्यार्थीलाई विना फिस अथवा कम फिसमा र उच्च दर्जाको शिक्षा पाउन संघर्ष गर्नुपर्छ । यसकारण ऊ नागरिक स्वतन्त्रता चाहन्छ । घ) नारी (महिला) लाई आफ्नो दोहोरो दासत्वको विरोधमा लड्नुपर्छ । यसकारण नारी नागरिक स्वतन्त्रता चाहन्छन् । यसप्रकार सबै जनता एक भई नागरिक स्वतन्त्रताका लागि शानदार युद्ध लड्नुपर्छ ।”भन्ने आह्वान पहिलाे घाेषणापत्रमानै गरिएको थियाे ।
नेपाल कम्युनिष्ट पार्टी गठन हुनुभन्दा पहिला पार्टी संस्थापन कमिटीको तर्फबाट निस्केकाे पर्चामा प्रकाशित जन बर्ग खाशगरी मजदुर, किसान, महिला तथा यूवा-बिद्यार्थीका समस्याका कुरालाई नै घाेषणापत्रमा बिस्तृतरुपमा अझ प्रबलरूपमा उठाइएकाे थियो । राजनीतिक शरणार्थी भएर भारतकाे बनारसमा बस्नु परे पनि भारतले नेपालमा गर्ने गरेका सबै किसिमका हस्तक्षेपहरूको उनी आजीवन कडा आलोचक रहिरहे । नेपालको मामिलामा भारतीय कम्युनिष्ट नेताहरूका कतिपय सल्लाहलाई समेत नेपालको पक्षमा नहुने देख्दा उनले प्रष्टसँग नकार्ने गर्थे।
घोषणापत्रको भाग–४ को पहिलो बुँदामा ‘सामन्ती एकतन्त्रशाही तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधीनता’, तेस्रो बुँदामा सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता, आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी र सम्पूर्ण भेदभाव अन्त्य गर्ने ‘बालिग मताधिकारमा आधारित संविधान’ मा जोड दिइएको छ । त्यसै खण्डको आठौं बुँदामा ‘दमनकारी कानूनहरू खारेज गर्न’ माग गरिएको छ ।
जनतान्त्रिक मूल्यलाई पार्टीको आधारभूत नीतिमा समेटेका पुष्पलालले जनतन्त्रको झण्डालाई निरन्तर उँचो उठाएको उनको व्यवहारले नै सिद्ध गर्छ । जसले जनतन्त्रको मोर्चामा उनलाई अग्रणी स्थानमा उभ्याएको छ ।
स्वाभिमान र देशभक्तिको प्रतीक पुष्पलाल
पुष्पलालमा साम्राज्यवादप्रति चरम घृणा थियो । उनले आफ्ना लेख–रचनाहरूमा गोर्खा भर्तीको कटु आलोचना गरेका छन् । राणाशाहीला बेलायती साम्राज्यवादको नोकर भएको भन्दै उनले ब्रिटिश र राणाहरूको मिलिभगत र थिचोमिचोको तीब्र आलोचना गरेका छन् ।
हक्की र स्वाभिमानी कमरेड पुष्पलालको देशभक्तिको भावना अत्यन्त बलियो थियो । भारतको बनारसमा राजनीतिक शरणार्थी भएर बस्नु परे पनि भारतले नेपालमा गर्ने गरेको हस्तक्षेपको उनी आजीवन चर्काे आलोचक रहे । नेपालको मामलामा भारतीय कम्युनिष्ट नेताहरूका कतिपय सल्लाहलाई समेत नेपालको पक्षमा नहुने देख्दा उनले नकारे ।
राजनीतिक जीवनको आरम्भदेखि नै उनी स्वाभिमानी र बाह्य हस्तक्षेप विरोधी भएको प्रमाण भेटिन्छ । नेपाली राष्ट्रिय कांग्रेसको बनारसमा भएको तेस्रो अधिवेशनका बेला भएका गतिविधिको चर्चा गर्दै उनले ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ नामक पुस्तकमा लेखेका छन्, “...सम्मेलनको दौरानमा प्रत्येक कुरामा डा. लोहिया नै मुख्य प्रवक्ता हुन्थे ।
भारतीय समाजवादी दलसँग सम्पर्क हुने व्यक्तिहरूलाई छोडी यो कुरा अरू कसैलाई पनि मन परेको थिएन । त्यसपछि मैले ‘नेपालको नेता नेपाली नै हुनुपर्दछ र हाम्रो आन्दोलनमा भारतको केवल एक पार्टी समाजवादीको मात्र सहयोग नलिई भारतीय कंग्रेस, कम्युनिष्ट आदि सबैको सहयोग लिनुपर्दछ’ भन्ने कुराहरू उठाएँ ।
यसैबीच डा.लोहियाले मलाई बोलाएर राजनीतिक कुराकानी गर्दै निचोडमा भने, “देखो भारतमें बहुत पार्टीयाँ और नेताएँ होते हुए भी महात्मा गान्धी एक सर्वमान्य राष्ट्रिय नेता हैं । उसी तरह नेपालमें भी एक ऐसे ही राष्ट्रिय नेता की आवश्यकता है, वह विश्वेश्वरप्रसाद कोइराला हो सकते हैं ।” मैले कुरा काटिनँ तर मलाई चित्त बुझेन । नेता प्रधान नभई नीति प्रधान हुनुपर्दछ भन्ने मेरो मनमा लागेको थियो ।”
त्यही भएर नेपाल कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्रमा उनले ‘नेपालमा सामन्तवादी र साम्राज्यवादी प्रभुत्वलाई सदाका लागि अन्त्य गर्ने’ उल्लेख गर्दै लेखे– “सामन्तवादी निरंकुश राजसत्ता र विदेशी शोषणको जुकालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने । ... अंग्रेज–अमेरिकन साम्राज्यवादीहरू र तिनका भारतीय कठपुतलीहरूसँग नाता तोडी सबै जातिको स्वतन्त्रता र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग नाता जोड्ने ।”
आफ्नो यही मान्यतामा अविचल रहँदै उनले दिल्ली सम्झौताको विरोध गरे र मध्यस्थताको नाममा भारतले खेलेको हस्तक्षेपकारी भूमिकाको लागि नेहरू सरकारको कडा आलोचना गरे । सन् १९५० को असमान सन्धि; कोशी, गण्डक सम्झौता लगायत भारतका प्रत्येक हस्तक्षेपकारी घटनाको विरोध गर्दै नेपालको स्वतन्त्रता, स्वाधीनता र आफ्नो निर्णय नेपालले आफैं गर्छ भन्दै देशभक्तिको आफ्नो अडानमा कायम रहे ।
भारतको कलकत्ताबाट निस्कने फ्रन्टियर पत्रिकाको ७ फेब्रुअरी १९७० को अंकमा पुष्पलालको ‘इन्डिया एन्ड नेपाल’ शीर्षकमा लेख छापिएको थियो। लेखमा नेपालबारे जवाहरलाल नेहरूले लेखेका विचार, लिएको नीति र तत्कालीन भारतीय सरकारको नेपालप्रतिको नीतिको समेत उनले आलोचना गरेका छन् । उक्त लेखमा उनले प्रष्ट शब्दमा लेखेका छन्– ‘भारतले स्वतन्त्रता हासिल गरेपछि पनि भारत–नेपाल सम्बन्धले सही गोरेटो लिन सकेको छैन ।
भारतको कलकत्ताबाट निस्कने फ्रन्टियर पत्रिकाको ७ फेब्रुअरी १९७० को अंकमा ‘इन्डिया एन्ड नेपाल’ शीर्षकमा पुष्पलालले लेखेका छन्– ‘भारतले स्वतन्त्रता हासिल गरेपछि पनि भारत–नेपाल सम्बन्धले सही गोरेटो लिन सकेको छैन। भारतमा ब्रिटिश शासनको अन्त्य हुँदा पनि नेपालप्रतिको भारतीय आधिकारिक विचारधारामा कुनै असर परेन।’
दुई छिमेकी देशहरूका बीच समझदारी तथा मित्रता बढ्नुको साटो जटिलताहरू थपिंदै गएका छन् । ... यो दुःखलाग्दो कुरा हो कि भारतमा ब्रिटिश शासनको अन्त्य हुँदा पनि नेपालप्रतिको भारतीय आधिकारिक विचारधारामा कुनै असर परेन ।’
यसबाट नयाँदिल्लीले ब्रिटिश साम्राज्यवादद्वारा स्थापित तथा हुर्काइएको ठूलो दाजु अथवा ठूलो राष्ट्रको अहंकारको परम्परावादी नीतिलाई छोड्न नसकेको देखिने उनले उल्लेख गरेका छन् । भारतीय शासक वर्गको नीतिले गर्दा भारतीय जनताको नाममा नेपालमा मात्र नभई भारतका सबै छिमेकी देशहरूमा नराम्रो धब्बा लागेको उनको विश्लेषण थियो ।
जीवनकालभरि पुष्पलाल नेपालमा हुने कुनै पनि बाह्य हस्तक्षेपको विरुद्धमा दृढतापूर्वक उभिए । उनले नेपालको स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा आवाज उठाइरहे र नेपाली कम्युनिष्ट आन्दोलनलाई देशभक्तिको बाटोबाट विचलित हुन नदिन निरन्तर मार्गनिर्देशन गरिरहे । देशभक्ति र जनतन्त्रको मार्गमा लागिरै मात्र नेपालमा कम्युनिष्ट आन्दोलन सुदृढ हुनसक्छ भन्ने उनकाे प्रष्ट दृष्टकाेण थियाे ।
गणतन्त्रका संवाहक
पुष्पलालले गणतन्त्रको पक्षमा आजीवन आफ्नो आवाज मुखर गर्दै रहे । कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै उनले गणतन्त्रात्मक शासन प्रणालीप्रति पार्टीको प्रतिबद्धतालाई स्पष्ट रूपमा जनतासमक्ष राखे । सैद्धान्तिक र राजनीतिक रूपमा गणतन्त्र किन आवश्यक छ भन्ने कुरो उनले जति प्रष्ट रूपमा नेपालका कुनै पनि नेताले व्याख्या गरेका छैनन् ।
जुनवेला विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर राजा र मेरो घाँटी एकआपसमा जोडिएको छ भनिरहेका थिए, त्यसैताका पुष्पलालले ‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त)’ शीर्षकमा विचारोत्तेजक लेख लेखे । ‘मुक्तिमोर्चा’ नामक भूमिगत पत्रिकाको २०३३ वैशाख–जेठमा प्रकाशित तेस्रो अङ्कमा छापिएको उक्त लेखमा उनले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका ऐतिहासिक, आर्थिक, सामाजिक तथा राजनीतिक कारणको विश्लेषण गर्दै अन्ततः राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुने ठोकुवा गरेका छन् ।
लेखमा पुष्पलालले ‘यस निरंकुश राजतन्त्रलाई निरपेक्ष रूपले नहेरी सापेक्ष रूपले हेर्दा यसको अन्त्य अनिवार्य छ । नेपालमा निरंकुश राजतन्त्रको गठन भएको यो पहिलो पटक होइन । ... जति पटक नेपालमा राजा निरंकुश राजतन्त्र गठन गर्न सफल भए उति नै पटक त्यसको पतन पनि भएको छ’ भन्दै त्यसका कारणको समेत विश्लेषण गरेका छन् ।
सोही लेखको अर्को एक ठाउँमा पुष्पलाल लेख्छन्, “... इरान तथा अरबका केही निरंकुश राजतन्त्र जो आफैं तेल रूपी धनराशिका मालिक छन्— आफ्ना जनताको उग्र विरोधको सामना गरिरहेका छन् भने हाम्रो देशको राजतन्त्र जसलाई आफ्नो प्रशासनयन्त्रको खर्च चलाउनलाई पनि विदेशी दानमा भर पर्नुपर्दछ, त्यसको अन्त्य नभई कसको होला त ?”
जुनवेला विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर राजा र मेरो घाँटी एकआपसमा जोडिएको छ भनिरहेका थिए, त्यसैताका पुष्पलालले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका ऐतिहासिक, आर्थिक, सामाजिक तथा राजनीतिक कारणको विश्लेषण गर्दै अन्ततः राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुने ठोकुवा गरे ।
पुष्पलालले यो लेखको अन्त्यमा विशेष जोड दिंदै ‘अब नेपालमा हुने क्रान्ति एक राजतन्त्रलाई हटाई अर्को राजतन्त्र कायम गर्ने क्रान्ति’ नहुने भन्दै ‘यस्तो क्रान्तिको मूल उद्देश्य नै सामन्ती र विदेशी स्वार्थलाई नेपालको माटोबाट उखेलेर फ्याँकी जनताको गणतन्त्रीय व्यवस्था कायम गरी समाजवादमा लम्कने हुनुपर्दछ’ भनेर प्रष्ट लेखेका छन् ।
यसरी सारा राजनीतिक दल र शक्तिहरू कोही निरंकुश राजतन्त्र र कोही संवैधानिक राजतन्त्रको पक्षमा लागेको वेला पनि पुष्पलालले सैद्धान्तिक, वैचारिक र नीतिगत रूपमा आफूलाई गणतन्त्रको पक्षमा दृढतापूर्वक उभ्याएको देखिन्छ । त्यसैले पुष्पलाल नेपाली धर्तीमा गणतन्त्रात्मक विचार र मान्यताका संवाहकका रूपमा भूमिका खेल्ने प्रथम राजनेता हुन् भनेर निर्विवाद रूपमा भन्न सकिन्छ ।