बुधबार, भाद्र ३ गते २०८३

नेपाली बोलेरै बेलाइतीहरूलाई धपाउन सकिन्छ भने मातृभाषालाई हेला गर्नु हुँदै-रतनलाल ब्राह्मण


बैशाख ८, २०८३ मंगलबार
नेपाली बोलेरै बेलाइतीहरूलाई धपाउन सकिन्छ भने मातृभाषालाई हेला गर्नु हुँदै-रतनलाल ब्राह्मण

नेपाली बोलेर बेलाइतीहरूलाई धपाउने हामी शक्ति पाउँछौं भने हाम्रो मातृभाषालाई हेला–होचो गर्ने कारण छैन। नेपाली हिन्दूस्तान आजादीको भाषा हो : रतनलाल ब्राम्हण ‘माईलाबाजे’
जनबोलीमा सम्मानजनक ‘माईलाबाजे’ को रुपमा लोकप्रिय, रतनलाल ब्राह्मण (१९००–८९) दार्जिलिङको सेरोफेरो र बङ्गालमा कम्युनिस्ट (भा.क.पा.मार्क्सवादीका) बरिष्ठ नेता थिए । भारतीय संसद, लोकसभाका सांसद (१९७१–७७) र त्यसअघि १९४६ मा युनाईटेड बङ्गाल प्रान्तको विधानसभा सदस्य हुँदा, उनले संसद बैठकमा नेपाली पोशाक र नेपालीमै भाषण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाए । बङ्गाल विधानसभामा दौरासुरवाल, भानुभक्तीय टोपी, पटुका, खुकुरी भिरेर बैठकमा पस्न लाग्दा गार्डले खुकुरीसहित प्रवेश गर्न नदिएपछि उत्पन्न भनाभन पनि रोचक रहेछ ।
औपचारिक शिक्षा नभए पनि, माईलाबाजेले भारतमा नेपाली भाषालाई संवैधानिक मान्यताको लागि कठिन संघर्षका साथै नेपाली जाति र संस्कृतिको लागि गरेको योगदानलाई सबै नेपालीले कृतज्ञतापूर्वक चिन्नुपर्छ । उनी १८ औँ शताब्दीमा हिन्दू सुधार आन्दोलनको रुपमा ब्यापक भएको दयानन्द सरस्वतीको आर्य समाजका सक्रिय सदस्य पनि थिए ।
माईलाबाजेको सन्दर्भ नेपाली काँग्रेसको एउटा पूर्वरुप, नेपाल प्रजातन्त्र काँग्रेसका साथै विराटनगरको मजदूर हडताल र ने.क.पा. को स्थापनासँग पनि जोडिन आईपुग्छ । नेपाली काँग्रेस गठनअघि नेपाल प्रजातन्त्र कांग्रेसबाट ‘मुक्तिसेना’ मा भर्तीका लागि नेपालीहरूलाई जुटाईदिनमा उनको योगदान देखिन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालका साथै काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरसँग माईलाबाजेको राम्रो सम्पर्क थियो ।
देशभित्र विराटनगरमा चलेको पहिलो मजदूर हड्ताल (२००३ फागुन २१ देखि) को पर्सीपल्ट, मजदूर आन्दोलनका अर्का हस्ती मनमोहन अधिकारीको आमन्त्रणमा दार्जिलिङ्गबाट विराटनगर आएर माईलाबाजेले मजदूरसभामा भाषण गरे । यद्यपि देशभित्रको आन्दोलनमा ‘बाहिरिया’ लाई बोलाएर आन्दोलन बिथोल्न लागेको भन्ने चर्को आलोचना भएपछि माईलाबाजेहरू स्वदेश फर्के ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापनामा कलकत्तामा माईलाबाजेको सहयोग उल्लेखनीय थियो । पहुँचवाला सबल आर्थिक तहदेखि सीमान्तकृत वा बञ्चित समुदायलाई सामाजिक न्याय सुनिश्चित गर्नमा साहसिक योगदान पुर्याएकोले उनलाई दार्जिलिङ र भारतीय नेपाली समाजमा रोबिनहुडको उपाधिले पनि चिनायो । संघर्ष र विद्रोहका कारण पानी–पँधेरोजस्तै ४० पटक जेल गएर १२ वर्ष बन्दी जीवन बिताएका माइलाबाजेलाई अन्य बन्दीहरूले ‘लाल सिंह’ को उपाधि सम्मान दिएथे, जो उनको जीवनीको शीर्षक बन्यो ।
दार्जिलिङको भक्तेबस्तीमा पिता श्रीलाल शिवाकोटीकी कान्छी पत्नी मनमायाका तीन भाईमध्ये माइला छोरा भएर जन्मेकोले उनी ‘माइलाबाजे’ को रुपमा प्रख्यात भए । पिता, दोलखाको सुनखानीबाट ब्यापार–व्यवसायको लागि दार्जिलिङ्ग जाने–आउने गरिरहन्थे । धनमानसिंह परियार, भीमबहादुर तामाङ्गदेखि कलाकार मनबहादुर मुखियासम्म, तत्कालीन दोलखा वा रामेछापबाट दार्जिलिङ्ग गएका धेरै नेपालीका पिता–पुर्खा नेपाल–भारत सामाजिक सम्बन्धका कडी बन्नपुगे । दोलखा–दार्जिलिङ्ग जाँदा–आउँदा कान्छी पत्नीका साथ श्रीलालले स्थायी बसोबास उतै बनाए । सानै उमेरमा आमाबुवा गुमाएकोले बाल्यकालमा दिउँसो मजदूरी र बिहान–बेलुकी पढाई एकसाथ चलाउँदै माईलाबाजेको संघर्षपूर्ण जीवन चल्दैगयो । लेबोङ (दार्जिलिङ्ग) को ट्याक्सी सिन्डिकेटमा ट्याक्सी अपरेटर व्यवसायमा नजमेसम्म पेट पाल्न उनले अनेक इलम गरे ।
कोलकतामा ब्रिटिश भारतको राजधानी (१९१२) रहुन्जेल र त्यसपछि धेरै वर्षसम्म पनि दार्जिलिङ्ग ब्रिटिशहरूको सुविधाजनक हिल स्टेशन थियो । अर्कातिर नेपालीहरूको जीवन, सस्तो श्रमशक्तिको रुपमा अत्यन्त कष्टकर, तिरस्कृत र दासमय थियो । प्रवासी कामदारका बेवारिसे शवहरू प्रायः दार्जिलिङभरि दयनीय अवस्थामा फेला परिरहन्थे । १९३२ मा माइलाबाजेहरूकै प्रयासमा ‘गोरखा दुःख निवारक सम्मेलन’ (GDNS) स्थापना नहुन्जेल उनीसहित धनवीर मुखिया, हर्षद्वाज लामा, जितबहादुर खड्का, लालु प्रधान, मानबहादुर मुखियाजस्ता सहकर्मीहरूले मजदूरीको लागि गएर निधन भएका धेरै अज्ञात शवहरूको सम्मानजनक अन्त्येष्टि कार्यक्रम चलाए । आज त्यो संस्था (GDNS) दार्जिलिङ्गमा नेपाली भरोसाको प्रतिष्ठित बहुमुखी केन्द्र बनेको छ ।

 

Ratlal Brahmn.jpg

चिया मजदूर, दुग्धकिसान, रेलवे, ट्याक्सी, बस–ट्रक मजदूरहरूलाई पेशागत युनियनमा संगठित गर्नमा माइलाबाजे सदैव समर्पित थिए । १९४३ मा दोस्रो विश्वयुद्धको चपेटामा इतिहासमा चर्चित कहालीलाग्दो ‘बङ्गालको अनिकाल’ ले अराजकता र असहाय बनाएपछि ३ लाख बङ्गालीहरू भोकले मरे । तर दार्जिलिङमा माइलाबाजे सहितका युवाहरूले ‘खाद्य भण्डार रहँदासम्म व्यापारीले उचित मूल्यमा सामान वितरण गर्नुपर्छ’ भन्ने रगतले लतपतिएका पोस्टर–नारासहित, बजारलाई क्रित्रिम अभावरहित, निष्पक्ष र व्यवस्थित बनाउन कडा जनअभियान चलाएकोले दार्जिलिङमा खान नपाएर एकजना पनि मरेनन् रे ।
१९८९ मा सञ्च नहुँदाकै बीच केरलमा सम्पन्न भारतीय कम्युनिस्ट पार्टीको १३ औं महासम्मेलनमा सहभागी बनेर त्यहाँ पनि नेपाली भाषाको जोडदार वकालत गर्दै, संविधानमा राष्ट्रिय भाषाहरूको लागि राखिएको आठौं अनुसूचीमा नेपाली भाषालाई समावेश गर्न महासम्मेलनले जोडदार मागको प्रस्ताव पारित गराउन सफलता पाए । तर सम्मेलनबाट रेलमा फर्किँदा आन्ध्रप्रदेशको विजयवाडामा उनलाई ८९ वर्षको उमेरमा हृदयाघात भई तत्काल निधन भयो । यी महान नेपालीको अन्त्येष्टि पनि, अविष्मरणीय ऐतिहासिक घटना भयो ।
माथि उल्लेखित वाणी माईलाबाजेले विभिन्न मञ्चबाट आफ्नो भाषणमा व्यक्त गरेका थिए ।
सिलिगुडी सहर (भारत) को मुटुमा पर्ने ‘दार्जिलिङ मोड’ मा ‘माइला बाजे’ को शालिक ठडिएको छ । आफ्ना हजुरबाको जीवनी ‘द रेड लायन अफ द हिल्स’ (पहाडको लाल सिंह) उनकी नातिनी प्रीति ब्राह्मणले लेखेकी रहिछन् । दार्जिलिङ र भारतीय नेपाली समुदायको सामाजिक–राजनीतिक परिदृश्यमा एक साहसी र पौरखी व्यक्तिको रुपमा उनको जीवनलीला यस पुस्तकले उद्घाटित गरेको छ ।___________________
मूख्य स्रोत : दार्जिलिङ की स्वतन्त्र लेखिका सिमरन शर्माको लेख ‘रतनलाल ब्राम्हणको गौरवगाथा र ‘द रेड लायन अफ द हिल्स’ (माईलाबाजेको जीवनी)