बुधबार, भाद्र ३ गते २०८३

कोभिड–१९ बाट साढे दुई महिनामा मात्रै ६ हजार जनाको मृत्यु

आषाढ १३, २०७८ आइतबार
कोभिड–१९ बाट साढे दुई महिनामा मात्रै ६ हजार जनाको मृत्यु

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज थप ३४ जनाको मृत्यु भएसँगै मुलुकभर मृतकको संख्या ९००९ पुगेको हो । तथ्यांकले  कोभिड –१९ का कारण विगत साढे २ महिनाको अवधिमा नै ६ हजार जनाको मृत्यु भएको देखाउँछ । २०७७ सालभर कोरोना संक्रमणबाट जति मानिसको मृत्यु भएकोमा विगत साढे दुई महिना भित्रमा त्यसको झण्डै दोब्बर संख्यामा संक्रमितको ज्यान गएको छ । जम्मा ७५ दिनभित्र काेराेनाका कारण ६ हजार मानिसकाे ज्यान जानेगरी मुलुकले अकल्पनीय क्षति बेहाेरेकाे छ । 

गएको चैत्र महिनामा लगभग शुन्यमा पुगेका दैनिक मृत्यदर बैशाख महिना लागेसँगै बढ्दै गएर जेठ ५ गते २४६ सम्म पुगेको थियो । त्यस यता भने मृत्युदर घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना भाइरसको दोश्रो लहरले नेपाललाई नराम्रोसँग गाँजेको मात्र हैन दैनिक संक्रमण वृद्धिदरका हिसाबले विश्वकै एक नम्बरमा पुग्यो । केहि सातासम्म त दैनिक पीसीआर परिक्षण पुष्टि हुने दर ३५ प्रतिशतको हाराहारीमा रहेको थियो । पीसीआर र एन्टिजेन टेष्ट दुवैको आधारमा हालपनि दैनिक संक्रमण दर २० प्रतिशतको हाराहारीमा रहेको देखिन्छ । 

२०७७ चैत्रको तेश्रो साताबाट बढ्न थालेको कोरोना भाइरसको दैनिक संक्रमण २०७८ बैशाख २७ गतेसम्म आइपुग्दा दैनिक ९ हजार १२७ सम्म पुगेको थियो । 

मुलुकभर अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको छ । शुरुदेखि अहिलेसम्म करिब ३३ लाख २३ हजारभन्दा बढी परिक्षण भएको छ । पछिल्लाे २४ घण्टामा १९२० जनामा संक्रमण पुष्टि भएकाे छ । 

हालसम्म कोरोना संक्रमण भएर त्यसबाट मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।