कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक सय दिनमा एक सय उपलब्धीमुलुक कार्य सम्पादन गरेको जनाएको छ । मन्त्री डा.मदनप्रसाद परियारले गत असोज ६ गते मन्त्रालयको कार्यभार सम्हालेपछि आफ्नो एक सय दिने कार्यकालमा एक सय उपलब्धीमुलुक काम गरेको दाबी गरे ।
मन्त्री परियारले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कृषि र किसानहरुसँग जोडिएका कृषिजन्य उत्पादन प्रवर्द्धन र बजारीकरण, प्रविधि प्रसारण र कृषि अनुसन्धानसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय सुधार भएको जनाएको छ ।मन्त्री परियार आफैं देशभरको विभिन्न स्थानका किसानको खेतबारीमा पुगेर छलफल गरी त्यसका आधारमा नीतिगत सुधार गरिएको सचिवालयको भनाई छ । मन्त्रालयका अनुसार च्याउ उत्पादक किसानहरुलाई च्याउ उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग हुने पराल ढुवानीमा सहजीकरणका लागि गृह मन्त्रालय र यातायात व्यवस्था विभागसँग समन्वय गरी पुष १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउने गरी सरकारबाट निर्णय भएको छ ।
स्वदेशी केरा उत्पादनलाई प्रबर्द्धन गर्न जातीय सम्भावना, उपभोक्ताको रोजाईका जात तथा नेपाली केराको बजारीकरणका लागि प्याकेजिङमा सुधार गरी प्रतिस्पर्धी बनाउन ४५ दिनभित्र कार्ययोजना सहितको प्रतिवेदन पेश गर्न मन्त्रालयले कार्यदल गठन गरेको छ । यस्तै मह उत्पादन प्रबर्द्धनतर्फ नेपाली मह उत्पादन, प्याकेजिङ्ग र बजारीकरण तथा निर्यातमा रहेका समस्या समाधानका लागि अध्ययन कार्यदल गठन गरिएको छ । यस्तै आयातित र स्वदेश मै उत्पादित महको गुणस्तरबारे प्रयोगशाला परीक्षण गरी प्रतिवेदन पेश गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिईएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पहिलो पटक नेपालगंजस्थित एकिकृत जाँच चौकीमा मिथाइल ब्रोमाइड धुमीकरण उपचारको सुरुवात भएर करिब ४० मेट्रिक टन सल्लाको आख्ला निर्यात भएको छ । चीनसँग हेलेज निर्यातको बिषयमा भएको समझदारीअनुसार साइलेज पनि समावेश गर्न प्रस्ताव गरि चीन सरकारबाट सहमति प्राप्त भएको छ । यो अवधीमा बाली तथा पशुधन वीमाको प्रिमियम अनुदान कार्यक्रमलाइ पूर्णतः डिजिटलाइज गर्ने प्रक्रिया सुरु गर्दै बालीविमातर्फ ९० लाख प्रिमियम अनुदान रकम सम्बन्धित विमा कम्पनीहरुलाई भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।
डिजिटल्ली इनेबल्ड सिड म्यानेजमेन्ट प्रणालीअन्तर्गत ३ सय २० मेट्रिक टन गहुँको स्रोत वीउ र ४ हजार मेट्रिक टन उन्नत वीउ स्थानीय तहसम्म आपूर्ति गरिएको छ । कोल्ड स्टोर व्यवसायीसँग छलफल गरि लामो समयदेखि बक्यौता रहेको विद्युत महसुलमा अनुदान भुक्तानी बिबाद समाधान गर्न कानुनी जटिलता फुकाउन कृषि विभागसहित सरोकारवालाहरुलाई गृहकार्य अघि बढाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
यस्तै पशु क्वारेन्टाइन प्रणाली सुद्धिढिकरणका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तर्गत १ क्वारेन्टाईन चेकपोष्ट ९गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल० तथा पशु क्वारेन्टाइन कार्यालय पोखरा र अन्तर्गतका २ वटा क्वारेन्टाईन चेकपोष्ट ९कोरला, मुस्ताङ्ग र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल० स्थापना गरि पशु क्वारेन्टाईन सेवा विस्तार भएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयले उखु किसानहरुको आन्दोलनको मागअनुसार छलफल गरी चालु आर्थिक वर्षमा २०८२/८३ मा उखुको न्यूनतम खरिद मुल्य अहिलेसम्मकै उच्च प्रति क्वीन्टल ६२० र थप अनुदान रकम ७० रुपैयाँ निर्धारण गरी उखु किसानलाई उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । सरकारबाट अनुदानित रासायनिक मल वितरण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउनका लागि अनुदानको मल वितरण सूचना प्रणाली अनलाइन ट्रयाकिङ पोर्टललाई परिमार्जन गरी सञ्चालनमा ल्याइएको छ ।
मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट हालसम्म ४ लाख ६६ हजार मेट्रिक टन रसायनिक मल खरिदका लागि ग्लोबल टेण्डर आव्हान भएर २ लाख ४३ हजार मेट्रिक टन वितरण भएको छ । यस्तै ८३ हजार मेट्रिक टन मौज्दात रहेको र १ लाख ३५ हजार मेट्रिक टन मार्गस्थमा रहेको मन्त्रालयको भनाई छ । साथै आगामि धान रोप्ने सिजनका लागि थप ६० हजार मेट्रिक टन मल खरिद गर्नका लागि आवश्यक रकमका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको जनाइएको छ ।
लामो समयदेखि दूध बिक्री वापत किसानलाई भुक्तानी दिन बाँकी रहेको रकमको बिषयमा मन्त्रालयले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मार्फत गत असोजदेखि पुस ९ गतेसम्मको १ अर्ब ३ करोड रुपैयाँमध्ये ८१ करोड रुपैयाँको भुक्तानी गरिएको जनाइएको छ । बाँकी रकम करिब २२ करोड रुपैयाँ आगामी फागुन मसान्तसम्म भुक्तानी गरिने मन्त्रालयले जनाएको छ ।
नेपालपत्र संवाददाता