काठमाण्डाै । नेपालले साउन १६ गते पहिलोपटक ‘राष्ट्रिय कोदो दिवस’ औपचारिक रूपमा मनाउँदैछ। यस दिवसको मूल नारा ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ राखिएको छ। कृषि विभागको नेतृत्वमा गठन भएको मूल आयोजक समितिका अध्यक्ष तथा विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार कोदो दिवसको उद्देश्य नेपालमा कोदोजस्ता अन्नलाई स्वास्थ्य, वातावरण, आर्थिक, सामाजिक र खाद्य सुरक्षाको प्रमुख अङ्गका रूपमा स्थापित गर्नु हो।
सन् २०२३ लाई संयुक्त राष्ट्रसंघले “अन्तर्राष्ट्रिय कोदो वर्ष” घोषणा गरेको थियो। नेपालले पनि कोदोजस्ता परम्परागत खाद्यान्नको संरक्षण, प्रवर्द्धन र नवप्रयोगतर्फ ध्यान केन्द्रित गर्न थालेको हो।
कोदो दिवसको परिप्रेक्ष्य
- नेपालमा चामलमुखी आहार प्रणाली बढ्दै गएका कारण परम्परागत, स्थानीय, पोषिलो र वातावरणमैत्री अन्नजन्य बालीहरू ओझेलमा परिरहेका छन्।
- खाद्य स्वदेशीकरण, पोषण सुरक्षामा योगदान र जलवायु अनुकूल खेती प्रवर्द्धन गर्न राज्यको दायित्व बढ्दो छ।
- सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको छ, जसको मूल्य रु ७६ करोड ६३ लाखभन्दा बढी थियो। यस्तो आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादन वृद्धिको अभियान सुरु गरिएको हो।
कोदोको बहुआयामिक महत्व
स्वास्थ्य
- कोदोमा फाइबर, क्याल्सियम, फलाम, म्याग्नेसियम प्रशस्त हुन्छ, जसले मधुमेह, उच्च रक्तचाप र मोटोपन नियन्त्रणमा सहयोग पुर्याउँछ।
- ग्लुटेन-फ्री अन्न भएकाले विशेष आहार चाहिने व्यक्तिका लागि उपयुक्त छ।
- आधुनिक भोजन प्रणालीमा “सुपर फुड” को रूपमा स्थापित हुँदै गएको छ।
कृषि र खाद्य सुरक्षा
- कोदो कम मल, कम पानी, रासायनिक पदार्थबिना पनि उत्पादन गर्न सकिने बाली हो।
- उचाइअनुसार विभिन्न जात र बिउ अनुकूल हुने हुँदा पर्वतीय, मध्यम पहाडी क्षेत्र उपयुक्त छन्।
- जलवायु परिवर्तन प्रतिरोधात्मक बालीका रूपमा एफएओले समेत कोदोको सिफारिस गरेको छ।
आयआर्जनको स्रोत
- साना किसानका लागि लागत कम र शहरबजारमा माग बढ्दो रहेकोले आयआर्जनको राम्रो स्रोत बन्न सक्छ।
- प्रसंस्करण उद्योग (बिस्कुट, कुकीज, रोटी, ब्रेड आदि) मार्फत रोजगारी सिर्जना र आन्तरिक बजार विस्तार सम्भव छ।
- आयात प्रतिस्थापनमार्फत विदेशी मुद्रा बचत र आर्थिक आत्मनिर्भरता को बाटो खुल्छ।
सामाजिक र सांस्कृतिक पक्ष
- कोदो परम्परागत पर्व, भोजन र सामुदायिक जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको छ।
- आदिवासी, जनजाति, पहाडी क्षेत्रका समुदायको मुख्य आहारको रूपमा यसको सांस्कृतिक संरक्षण आवश्यक छ।
पर्यावरणीय पक्ष
- रासायनिक मलखाद र विषादीको न्यून प्रयोगले माटोको उर्वरता जोगिन्छ।
- कोदो खेतीले हरितगृह ग्यास उत्सर्जन कम गर्ने र जैविक विविधता संरक्षण गर्न सहयोग पुर्याउँछ।
कोदो दिवस केवल एउटा दिन मनाउने कार्यक्रम होइन। यो दिवस परम्परागत अन्नको पुनरुत्थान, पोषण सुरक्षाको पुनःस्थापना, र जलवायु–मैत्री कृषि प्रणालीको प्रवर्द्धन गर्ने दीर्घकालीन सोचको थालनी हो। सरकार, निजी क्षेत्र, किसान र उपभोक्ताबीचको सहकार्यबाट कोदोजस्ता बालीहरू भविष्यको खाद्य प्रणालीमा केन्द्रीकृत हुनसक्छन्। कोदोलाई फेरि भान्सासम्म ल्याउने र बजारसम्म पुर्याउने साझा राष्ट्रिय प्रयास भने आवश्यक रहेकाे छ ।