सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाउने भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन विशेष समितिले हालसम्म सरोकारवाला विभिन्न निकायसँग ३३ पटक छलफल गरेको जानकारी दिए । अब केही व्यक्तिसँग सोधपुछ गरी प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य सँगसँगै अगाडि बढाउने उनले बताए ।
समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढाउँछौँ उनले भने ‘समितिको प्रतिवेदन पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउन सबै सत्य तथ्य खोज्छौँ ।’समस्याग्रस्त घोषणा भएका २० र विवादित नौगरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ । तीमध्ये केही सहकारीको वित्तीय विवरण पनि विश्लेषण गरिने थापाले जानकारी दिए । सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केहि सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको पनि उनले बताए ।
अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको भएता पनि त्यसको लागि कानुनी संरचना बन्न नसकेको उनले जनाए । सहकारीबाट वित्तीय अपचल मात्र नभएको भन्दै समाज रुपान्तरण र सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा ठुलो योगदान खेलेको उनको बुझाई छ । समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनको लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना फरार छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको छ ।
उक्त संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन् । समितिले गरेको अनुसन्धानका क्रममा राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए । समितिले आज संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन) , सहकारी पत्रकार समाज (सिजेएन) र आर्थिक पत्रकार सङ्घ सँग छानबिन र अध्ययन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे सुझाव लिएको छ ।
नेपालपत्र संवाददाता