शनिबार, आश्विन १७ गते २०८३

ललितपुर महानगरद्वारा सहकारीका समस्या बुझ्न वडा सचेतना कार्यक्रम सञ्चालन


जेठ २२, २०८१ मंगलबार
ललितपुर महानगरद्वारा सहकारीका समस्या बुझ्न वडा सचेतना कार्यक्रम सञ्चालन
 
ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्र मातहत रहेका सहकारी सस्थाहरुको बीचमा वडा सचेतना कार्यक्रम सुरु गरेको छ ।  महानगरपालिकाले हरेक वडामा गएर सहकारी सचेतना कार्यक्रम सञ्चालन गर्न गर्दै आएको हो। प्रत्येक वडामा रहेका सहकारी संस्थाका सञ्चालकहरुलाई सहभागि गराएर सचेतना कार्यक्रम सुरु गरिएको महानगरपालिकाले जनाएको छ । 
 
सचेतना कार्यक्रममा अहिलेको अवस्थामा सहकारी  संस्थालाई कसरी सहज रुपमा सञ्चालन गर्न सकिन्छ र महानगरपालिकाले के गरिराखेको छ भनेर प्रस्तुतिकरण गरिने गरेको छ । यस आर्थिक बर्षमा १ देखि १६ वटा वडामा सचेतना कार्यक्रम सञ्चालन गरिसक्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिका सहकारी शाखाका अधिकृत चन्द्रलाल डंगोलले सहकारी संस्थाका समस्याका बारेमा थाहा गर्ने र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेर छलफल गर्ने उदेश्यले सचेतना कार्यक्रम सुरु गरिएको बताए। हालसम्म ११ वटा वडामा सचेतना कार्यक्रम आयोजना गरिसकेको डंगोलले बताए । ऐनमा भएको व्यवस्था अनुसार वडा सञ्जाल विकास गरी भविष्यमा महानगरीय सञ्जाल गठन गर्ने उनले जानकारी दिए । ललितपुरमा महानगरपालिका मातहत ३१४ संस्था  रहेका छन् । जसमध्ये १४ वटा सहकारी संस्था समस्यामा परेका छन्।
 
सदस्यको बचत फिर्ता गर्न नसकेका र महानगरपालिकाको सम्पर्कमा  नआएका २ वटा सहकारी संस्थालाई प्रहरी कहाँ लेखिपठाइएको छ । अन्य सहकारी संस्थाका सञ्चालकलाई बचत फिर्ताको कार्ययाेजना माग गरिएको छ । सम्पर्कमा रहेका सहकारी संस्थाको हकमा दुबै पक्षबीच सम्झौता गरेर बचत फिर्ताको लागि पहल गर्दै आएको महानगरले जनाएको छ ।