शनिबार, आश्विन १७ गते २०८३

लेखा समितिकाे क्षमता विकास गरी बचतकाे सुरक्षा प्रत्याभूत गराउनु गाेष्ठीकाे उद्देश्य हाे


बैशाख १७, २०८१ सोमबार
लेखा समितिकाे क्षमता विकास गरी बचतकाे सुरक्षा प्रत्याभूत गराउनु गाेष्ठीकाे उद्देश्य हाे

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी गर्नुको उद्देश्य के हो ?

साधारण सभाले सहकारीमा सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति गरी २ वटा समिति चयन गर्छ । लेखा सुपरिवेक्षण समितिले सञ्चालक समितिले गरेका क्रियाकलापको निगरानी गर्दै संस्थागत सुशासन कायम गर्न भूमिका खेल्छ । त्यसैगरी संस्थाको प्रवद्र्धन गर्ने, नीतिनियम र कानुन परिपालना भएनभएको हेर्ने र सदस्यलाई प्रतिफल दिलाउने कुराको सुनिश्चितता लेखा समितिले गर्नुपर्छ । सो समितिले सञ्चालक समितिले गरेका निर्णयहरुको बारेमा हेर्ने, बुझ्ने र नियम विपरित काम गरेको भए सुधारको लागि निर्देशन दिने काम गर्नुपर्छ । सुधारका लागि निर्देशन दिँदा पनि सञ्चालक समितिले गरेन भने ययार्थ अवस्थाको बारेमा साधारणसभा मार्फत सदस्यलाई जानकारी गराउने काम गर्नुपर्छ । 

ऐनमा व्यवस्था भए अनुसार निश्चित मापदण्डभित्र परेका व्यक्तिहरु लेखा सुपरिवेक्षण समितिमा चयन हुन पाउँछन् । सहकारीमा तालिम, शिक्षा, अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु व्यवस्थापन र सञ्चालकहरुको लागि धेरै हुने गरेको छ भने लेखा समितिलाई लक्षित गरी यस्ता कार्यक्रमहरु कमै हुने गरेको पाइन्छ । नेफ्स्कुनले पहिलोपटक २०७३ सालमा लेखा सुपरिवेक्षण समितिको शिखर गोष्ठी गरेको थियो । संस्थाहरुलाई सुशासनमा हिँडाउनको लागि र समितिको क्षमताको विकासका लागि यो गोष्ठी गर्न लागेका हौं । लेखा समितिमा बस्ने व्यक्तिमा के कस्तो क्षमता चाहिन्छ र के के जिम्मेवारी पुरा गर्नुपर्ने रहेछ, संस्थामा लेखा समितिको जिम्मेवारी के हो भन्ने कुराको अनुभूति गराउने प्रयास हामीले गरेका हौं । हामीले आठ वर्ष पछि यो कार्यक्रम गर्दैछौं । बचत तथा ऋण सहकारीको सिद्धान्त प्रतिपादन गर्ने निकाय विश्व ऋण परिषदका प्रतिनिधि कार्यपत्र प्रस्तुत गर्न नेपालमा पहिलोपटक आउँदै हुनुहुन्छ ।

दुई दिनको कार्यक्रममा २ वटा अन्तर्राष्ट्रिय कार्यपत्र प्रस्तुत हुँदैछन् । एशियाली ऋण महासंघ र विश्व ऋण परिषदका प्रतिनिधिबाट कार्यपत्र प्रस्तुत गरिनेछ । लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यास जस्ता विषयलाई समेटेर कार्यपत्र प्रस्तुत हुनेछ । त्यसका साथै सहकारी विभागका रजिष्ट्रारले पनि कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । नितान्त वित्तीय मापदण्ड, सुशासन र कम्पलायन्सको विषय भएको हुनाले चार्टर्ड एकाउन्टिङ एसोसिएसन(आइक्यान) बाट पनि कार्यपत्र प्रस्तुत हुन्छ । वित्तीय क्षेत्रको सुपरिवेक्षण र नियमनको काम गरिराखेको नेपाल राष्ट्र बैंकका प्रतिनिधिले पनि कार्यपत्र प्रस्तुत गर्नुहुन्छ । त्यसका साथै नेफ्स्कुन र अभियानका तर्फबाट पनि कार्यपत्र प्रस्तुत गर्नुका साथै राम्रा संस्थाहरुले गरेका असल अभ्यास आदानप्रदान हुनेछ । 

शिखर गोष्ठीका लागि कस्तो थिम तय गर्नुभएको छ ?

‘संस्थागत सुशासन र सुरक्षाको प्रत्याभूति’ भन्ने थिममा रहेर यसपटकको गोष्ठी गर्दैछौं । सदस्यले संस्थामा जम्मा गरेको बचतको सुरक्षाको प्रत्याभूति दिन सक्ने क्षमता लेखा समितिले राख्नुपर्छ । अब प्रत्येक संस्थामा प्रभावकारी लेखा समिति चाहिन्छ, तब मात्र सदस्यको बचतको सुरक्षा सम्भव छ । गोष्ठीले लेखा समितिका संयोजक र सदस्यहरुमा ज्ञान, सीप र धारणा विकास गर्नेछ र समितिको भूमिका यो रहेछ र त्यो भूमिका निर्वाह गर्दै गर्दा जवाफदेहिता के हुन्छ भन्ने समेत स्पष्ट पार्छ । विश्वमा के कस्ता अभ्यास भइरहेका छन् र हुनुपर्ने के रहेछ भन्ने कुरा उक्त समितिमा बसेर काम गर्ने व्यक्तिहरुले थाहा पाउनुहुनेछ ।

सहकारी संस्थामा लेखा समिति नै आन्तरिक नियन्त्रण प्रणाली हो भन्ने भनाई छ । सहकारी स्वनमियनकारी संगठन भएकाले बाहिरबाट प्रभावकारी नियमन आवश्यक पर्दैन भन्ने बुझाई छ । सहकारीलाई स्वनियमनकारी संगठनको रुपमा स्थापित गर्नको लागि लेखा समिति जिम्मेवार निकाय बन्नुपर्छ । यसका लागि उक्त समितिले आफ्नो कर्तव्य र अधिकार थाहा पाउनुपर्छ र त्यसको कार्यान्वयन गर्दै सदस्यप्रति उत्तरदायी बन्नुपर्छ । नेपालमा सहकारी संस्थाहरु समस्यामा पर्नुको कारण मध्ये एउटा कारण लेखा समितिले प्रभावकारी भूमिका खेल्न नसक्नु हो । धेरै वटा कारणले सहकारीहरु समस्यामा परेका छन् । त्यसमध्ये लेखा समितिको भूमिका प्रभावकारी नहुनु पनि एउटा कारण रहेको छ । त्यसैले लेखा समितिलाई संस्थाप्रति कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने विषय नै गोष्ठीको मूल थिम हो । 

गोष्ठीको तयारी कहाँ पुग्यो ? 

केहि दिनभित्र सहभागि जुटाउने लगायत आवश्यक तयारी पुरा गर्ने हिसाबले हामी काम गरिरहेका छौं । हामीले अपेक्षा गरे अनुसारको सहभागिता पुग्ने विश्वास छ । विषयवस्तु प्रस्तुतकर्ताको वजनले गर्दा पनि अपेक्षा गरे अनुसार सहभागि पुग्ने विश्वास हाम्रो छ । गोष्ठीमा ४०० भन्दा बढी सहकारी संघसंस्थाका लेखा समितिमा रहेका व्यक्तिहरुलाई सहभागि गराउने योजना हाम्रो छ । धेरै सहकारी संस्थाबाट नाम दर्ता भइरहेको छ । र बैशाख २० गतेसम्म नाम दर्ताको सयम दिइएको छ । त्यस अवधिमा लक्ष्यअनुसारको सहभागिता जुट्ने विश्वास लिएका छौं । 

लेखा समितिको भूमिका सहकारी संस्थामा कस्तो पाउन सकिन्छ ? ऐन, कानुनले दिएको जिम्मेवारी उक्त समितिले पूरा गर्न सकेको छ त ? 

लेखा समितिको भूमिकाको गहिराई संस्थाको आकार अनुसार हुन्छ । कुनै संस्थामा सुशासन मात्रै हेरे पुग्छ भने कुनै संस्थामा वित्तीय मापदण्ड पालनाको अवस्था पनि हेर्नुपर्ने हुन्छ । संस्थामा सुशासन कायम गर्ने र वित्तीय मापदण्ड पुरा गरेको छ कि छैन, कस्ता खालको जोखिम संस्थामा विद्यमान छन् भन्ने कुराको जानकारी र क्षमता राख्न सक्ने व्यक्ति लेखा समितिमा हुनुपर्छ । अहिलेको अवस्थामा संस्थाहरुमा उक्त समितिको भूमिका अपुग छ । आन्तरिक सुपरिवेक्षणका लागि समितिको भूमिका पुग्दैन । त्यस्तो किसिमको गहिराईमा गएर हेर्ने सूचकहरु बनेको पनि छैन । बचत तथा ऋण सहकारीमा नेफ्स्कुनले प्रवद्र्धन गरेका कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डमा सहभागी भएका संस्थाहरुको हकमा भने गहिराइमा गएर वित्तीय मापदण्डका सयौं ‘एरिया डिफाइन’ गरिएको छ । तर यो टुल्सभन्दा बाहिर रहेका संस्थाहरुले ऐनमा भएको व्यवस्थाअनुसार गर्छन् । ऐनमा पाँचछवटा काम उल्लेख छ, यो अपुग छ । सहकारीमा लेखा समितिकोे जिम्मेवारी कति छ र कत्तिको जिम्मेवार बन्नुपर्छ भनेर सिकाउन बाँकी छ । 

सहकारीमा अध्यक्ष वा व्यवस्थापन प्रमुख नै फ्रन्टलाइनमा देखिने र उनीहरुको भूमिका नै बढि हुने गरेको पाइन्छ । त्यो भन्दा बढी प्रभावकारी लेखा समिति हुनुपर्ने होइन र ? 

कार्यगत रुपमा कार्यकारीको भूमिकामा सञ्चालक समिति हुन्छ । संस्थाको कार्ययोजना तथा रणनीतिक योजना बनाउने तथा साधारणसभाबाट पारित भएका कार्यक्रमहरु कार्यान्वयन गराउने जिम्मेवारी सञ्चालक समितिको रहन्छ । साधारणसभाले तोकेका कार्यक्रम कार्यान्वयन गरी संस्थाको वृद्धिविकास गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिएको हुन्छ । म्याण्डेट अनुसारको काम सञ्चालक समितिले गरेको छ कि छैन र त्यो विधिसम्मत छ कि छैन भनेर लेखा समितिले हेर्नुपर्छ । सहकारीमा लेखा समिति अधिकारसम्पन्न निकाय हो । अधिकार सम्पन्न निकायले समयमा नै संस्थामा नीति विपरित गएर गरिएका निर्णय र गतिविधिका बारेमा बेलैमा सचेत गरायो भने सुधार गरेर जान सकिन्छ । तसर्थ संस्थामा ऐननियम र कार्यविधि विपरित सञ्चालक समितिले काम गर्छ भने लेखा समितिले त्यसलाई औंल्याएर सुधारका लागि निर्देशन दिनुपर्छ । 

सदस्यको बचतको सुरक्षाको प्रत्याभूति दिने जिम्मेवारी लेखा समितिको हो भनिन्छ, तर धेरै संस्था वित्तीय रुपमा संकटमा पर्दै गर्दा लेखा समितिको भूमिका कमजोर रहेको मान्न सकिन्छ ? 

सहकारी ऐन र नियमावलीले लेखा समितिको कामकर्तव्यका बारेमा प्रष्ट व्यवस्था गरेको छ । कतिपय संस्थामा लेखा समितिले आफ्नो भूमिका नखोजेको पनि हुनसक्छ भने कतिपय समितिमा बस्ने व्यक्तिलाई नै आफ्नो भूमिका र जवाफदेहिताको बारेमा थाहा नहुन पनि सक्छ । पैसा फिर्ता दिन नसक्ने, प्रतिफल नआउने क्षेत्रमा लगानी गर्ने, लगानी गरेको ऋण समयमा नउठ्ने जस्ता समस्या आउनुमा लेखा समितिले आन्तरिक सुशासन कायम गर्न प्रभावकारी भूमिका नखेलेको कारणले नै हो । 

सञ्चालक समिति र व्यवस्थापनले जे निर्णय गर्छन् त्यसमा हस्ताक्षर गर्ने भन्दापनि लेखा समितिले प्रतिपक्षको भूमिका खेल्नुपर्ने होइन ?

सञ्चालक समिति र व्यवस्थापनले गरेको कमीकमजोरीलाई लेखा समितिले औंल्याउन सक्नुपर्छ । यी यी निर्णय ठिक छन् र यसमा कमजोरी भएको छ, सुधार गरेर लैजानुपर्छ भनेर सल्लाह दिने काम समितिले गर्नुपर्छ । सहकारी ऐनले सञ्चालक समितिलाई भन्दा लेखा समितिका लागि धेरै कुरा बोलेको छ । लेखा समितिमा बस्न संस्थामा सदस्य बनेको ३ वर्ष पुगेको हुनुपर्ने भनेको छ । ताकि लेखा समितिमा बस्ने व्यक्तिले संस्थाको हरेक अवस्थाका बारेमा जानकार होस् । ऐनले लेखा समितिका लागि केहि योग्यता तोकिदिएको छ तर त्यो पर्याप्त छैन । नेपालमा जे जे प्रकृतिका सहकारी भएपनि अधिकांश सहकारीले वित्तीय कारोबार नै गर्छन् । वित्तीय कारोबार गर्ने संस्था जुनसुकै बेला जोखिममा हुन्छ । संस्थाको वित्तीय कारोबार जोखिममा छ कि छैन, हरियो, पहेँलो, रातो कुन अवस्थामा छ भनेर छुट्टयाउने ज्ञान लेखा समितिमा हुनुपर्छ । 

नेफ्स्कुनले गर्ने हरेक कार्यक्रम पाँचतारे होटलमा गर्ने गरेको र सहभागिहरुबाट महँगो शुल्क लिने गरेको आरोप छ नि ? 

हामीले अहिले ८ वर्षपछि लेखा समितिको राष्ट्रिय गोष्ठी गर्दैछौं । विशेष कारणले गर्दा यसप्रकारको गोष्ठी लामो समयको ग्यापपछि हुँदैछ । तर हरेक ४ वर्षमा राष्ट्रिय गोष्ठी गरेर एउटा सन्देश दिनुपर्छ । राष्ट्रिय शिखर गोष्ठी भएकाले यसले राष्ट्रिय मुद्दाहरु उठान गर्नुपर्छ ।

अरु देशमा के कस्ता अभ्यास भएका छन् भनेर हामीले अन्तर्राष्ट्रिय अभ्यासको आन्तरिकीकरण गर्छौं । गोष्ठीमा सरोकारवाला निकाय, अभियान, अन्य क्षेत्रका स्टेकहोल्डर र राम्रोसँग संस्था सञ्चालन गरेका लेखा समितिका पदाधिकारीको सहभागिता रहन्छ । त्यसका साथै लेखा समितिमा बसरेर सिक्दै गरेका र अनुगमन र नियमनको एउटा ढाँचा मात्र थाहा पाएका व्यक्तिहरु पनि सहभागि हुन्छन् । सरकारलाई नीति बनाउन सजिलो होस्, अन्तर्राष्ट्रिय अभ्यासको जानकारी मिलोस् भन्ने हो । वित्तीय क्षेत्रको व्यवस्थापन गरेर बसेको राष्ट्र बैंक, लेखा परिक्षण हेर्ने आइक्यान, सरकार र अभियानका लागि एउटा साझा मञ्च बनाउन खोजिएको हो ।

नीतिगत परिमार्जन, नीतिगत अध्यावधिक र नीतिगत रुपमा मार्गप्रशस्त गर्न तथा विद्यमान समितिले कुन तरिकाले काम गर्नुपर्ने रहेछ भनेर साझा बुझाई बनाउन राष्ट्रिय स्तरमा गोष्ठी आयोजना गरेका हौं । हामीले हरेक वर्ष कुनै न कुनै कार्यक्रम गर्दै आएको हुनाले सुलभ मुल्यमा नै कार्यक्रम तय गरेका छौं । दुई दिनको लागि १५ हजार ५ सय महँगो होइन । त्यहाँको भेन्यु तथा ब्रेकफास्ट, लञ्च, श्रोतव्यक्ति लगायतलाई हेर्दा त्यति महँगो भन्न मिल्दैन । 

तर सहभागी संस्थाले यसलाई कसरी ग्रहण गर्छन्, यो महत्वपूर्ण हुन्छ । सहकारी संस्थामा लेखा समितिमा रहेर काम गर्ने व्यक्तिहरुको लागि उपलब्धीमूलक कार्यक्रम रहेको छ । विश्वमा बचत तथा ऋण सहकारी संस्था सञ्चालनको सिद्धान्त प्रतिपादन गर्ने देशको व्यक्ति नै रिसोर्स पर्सनको रुपमा आउँदैहुनुहुन्छ । उहाँ त्यहाबाट केही  लिएर आउनुहुन्छ र यहाँबाट केही लिएर जानुहुन्छ । 

राष्ट्रिय गोष्ठीमा सहभागी किन हुने ? 

नेफस्कूनले सञ्चालक समिति र व्यवस्थापन प्रमुखहरुको क्षमता विकासको लागि छुट्टै कार्यक्रम गर्दै आएको छ । म्यानेजर, लेखा र ऋण व्यवस्थापनको तालिम नियमित हुँदै आएको छ । यो गोष्ठीबाट लेखा समितिको क्षमता विकास, बुझाई, जिम्मेवारी र जवाफदेहिता जस्ता कुराको ज्ञान र सीप विकास हुन्छ । सहभागीहरुमा हामीले हेरेनौं भने संस्था बिग्रने रहेछ है भन्ने जिम्मेवारीको बोध यो गोष्ठीले गराउँछ । हामीले बचतको सुरक्षाको प्रत्याभूति लिइदिएनौं भने सदस्यहरु अलमलमा पर्ने रहेछन् । त्यसैले संस्थाको हरेक गतिविधिलाई हामीले सदस्यहरुको माझमा सुसूचित पारिदिनु पर्ने रहेछ भन्ने धारणाको विकास गोष्ठीले गर्छ । प्रस्तोताहरुबाट जानकारी लिने र क्षेत्रगत रुपमा सम्बोधन हुनेछ । संस्थमा कुन कुन परिक्षणको क्षेत्र रहेछन् र सदस्यलाई कसरी सुरक्षाको प्रत्याभूति दिन सकिन्छ भन्ने कुराको जानकारी गोष्ठीबाट मिल्नेछ । गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिहरुमा सक्रियता र चासो बढाउन सहयोग पुग्छ ।