शनिबार, आश्विन १७ गते २०८३

"केहि सहकारीले बचत फिर्ता गर्न सकेनन् भन्दैमा सबै सहकारीलाई अविश्वास गर्न मिल्दैन"


माघ ५, २०८० शुक्रबार
"केहि सहकारीले बचत फिर्ता गर्न सकेनन् भन्दैमा सबै सहकारीलाई अविश्वास गर्न मिल्दैन"

 

मुलुकले संघीय प्रणाली अवलम्बन गरेसँगै सहकारी संघसंस्थाहरु पनि तीन तहका सरकारको नियमन क्षेत्राधिकारभित्र परेका छन् । यस अघि केन्द्रबाट मात्र सहकारीको दर्ता, खारेजी, नियनम तथा प्रर्वद्धन जस्ता कार्य हुँदै आएकोमा संघीयतापछि तीनै तहका सरकारले उक्त कार्य गर्ने जिम्मेवारी पाएका छन् । बागमती प्रदेश पर्यटन, सँस्कृति तथा सहकारी मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजालले १३ जिल्लाका ३२०० सहकारी संस्थाको नियमन अनुगमन गर्दै आएको बताए । केहि सहकारी संस्थाले गरेको बदमासीका कारण सिंगो सहकारी अभियानप्रति सदस्यको अविश्वास बढेर गएको उनले बताए । सबै सहकारी संस्था गलत नभएको र सदस्यहरुले मुल्यमान्यता र सिद्धान्तमा चलेका सहकारीप्रति विश्वास गर्नुपर्ने उनको भनाई छ । सहकारीमा समस्या मात्र नभएको र यसमार्फत् आम सर्वसाधारणको जीवनस्तर बदल्न ठूलो टेवा पुगेको उनको भनाई छ । सहकारीका असल अभ्यासलाई आम जनसमुदायमा पुर्याई सहकारीप्रति विश्वासको बातावरण सिर्जना गर्न मन्त्रालयले भूमिका खेल्ने सचिव रिजालले बताए । मन्त्रालयले संस्थाहरुको नियमन र प्रवद्र्धनमा कसरी भूमिका खेलिरहेको छ ? सहकारीका बचतकर्ताले बचत फिर्ता नपाएको गुनासोको सम्बोधन कसरी गरिरहेको छ ? सहकारीमा समस्या आउनुको मुल कारण र समाधानका उपाय के हुनसक्छन् भन्ने विषयवस्तुमा केन्द्रित रहेर सचिव रिजालसँग गरिएको कुराकानी: 

 

बागमती प्रदेश मातहत रहेका सहकारी संस्थाहरुको समग्र अवस्था के छ ?

मुलुक संघीयतामा गएपछि सहकारीलाई पनि कार्यक्षेत्रको आधारमा ३ तहमा विभाजन गरिएको छ । कार्यक्षेत्र अनुसार सहकारीहरु स्थानीय, प्रदेश र संघीय सरकारको अधिकार क्षेत्रभित्र रहेका छन् । बागमती प्रदेश मातहत ३२२४ संस्था छन् । आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संघसंस्थाको नियमन तथा प्रवद्र्धनमा हामीले काम गरिराखेका छौं । हरेक वर्ष संस्थाहरुले वित्तीय विवरण बुझाउँछन् । त्यसैका आधारमा संस्थाहरुको अवस्थाका बारेमा जानकारी लिन्छौं । कतिपय संस्थाहरु दर्ता भएका तर सञ्चालनमा नआएको र कतिपय सञ्चालनमा आएपछि सम्पूर्ण कागजात अपडेट नगराएको अवस्था छ । केहि संस्थाहरु एकिकरणमा पनि गएका छन् । सहकारी रजिष्ट्रारको कार्यालयमा हरेक वर्ष संस्थाहरुले बुझाउने विवरणको आधारमा संस्थाहरुको अवस्था के छ ? सदस्य संख्या, बचत परिचालन, पुँजी संकलन र ऋण लगानीको अवस्था के छ ? कति संस्थाहरुले वार्षिक साधारणसभा गरेका छन् ? ती सबै कुराहरुको विवरण निकाल्ने गरेका छौं । तर हामीसँग पनि पूर्ण रुपमा एकिकृत तथ्यांक संकलन भने भइसकेको छैन । जसले गर्दा यकिन तथ्यांक बाहिर ल्याउन समस्या भइराखेको छ ।

हामीले बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा रहेका सहकारीहरुको अवस्था के छ ? कति सहकारी संस्था सक्रिय छन् ? कुनकुन क्षेत्रमा सहकारीले काम गरेका छन् ? बचत तथा ऋण लगानीको अवस्था के छ ? जस्ता विवरण यस आर्थिक वर्ष भित्रमा नै संकलन गरिसक्ने योजना हाम्रो छ र सबै जिल्लाको सहकारीको विवरण संकलन गरेर एकिकृत तथ्यांक प्रकाशित गर्छौं । यो काम गरिसकेपछि मात्र कुन संस्थाको अवस्था कस्तो छ भन्न सक्ने अवस्था रहन्छ । संकलित विवरणलाई कम्प्युटरमा पनि अभिलेख गरेर राख्छौं । विवरण संकलन पछि बागमती प्रदेशभित्र रहेका सहकारी संस्थाको यकिन तथ्यांक प्राप्त भइ अवस्था यो छ है भन्ने निक्र्यौलमा पुग्छौं ।

पछिल्लो समय देशभर नै सहकारी संस्थाहरुले बचत फिर्ता गर्न नसकेको गुनासोहरु बढिरहेका छन् । बागमती प्रदेश मातहतका के कति संस्थाका सदस्यले बचत फिर्ता नपाएको गुनासो परेको छ ?

कोभिड १९ र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा नै समस्या आयो । त्यसको असर नेपालको समग्र अर्थतन्त्रका साथै सहकारी क्षेत्रमा समेत परेको छ । सहकारीको आर्थिक गतिविधिलाई अगाडि बढाउने क्रममा कोभिडले पनि नकारात्मक भूमिका खेलेको छ । पछिल्लो समय सदस्यहरुले आफ्नो बचत फिर्ता माग्ने र सहकारीमा राखेको बचतलाई असुरक्षित ठान्ने प्रवृत्ति बढेर गएको छ । एकैपटक सबै बचतकर्ताले बचत फिर्ता माग्दा सहकारी संस्थाले पनि फिर्ता दिन सक्दैनन् । संस्थाले सदस्यबाट लिएको बचत रकम ऋणको रुपमा लगानी गरेका हुन्छन् । त्यो लगानी एकैपटक असुली हुँदैन । यता सदस्यहरुले भने एकैपटक बचत फिर्ता माग्ने र बचत फिर्ता दिन नसकेपछि हाम्रो बचत असुरक्षित भयो वा सञ्चालक समिति र व्यवस्थापकले हिनामिना गरे भन्ने खालको जुन प्रचार भयो, यसले गर्दा राम्रोसँग सञ्चालन भइराखेका संस्थामा पनि केहि समस्या सृजना भएको छ । हामीकहाँ अहिलेसम्म २५० संस्थाको गुनासो आएको छ ।

सदस्यबाट बचत फिर्ता नपाएको गुनासो आएपछि हामीले सहकारीको अवस्था के छ भनेर वास्तविकता बुझ्ने काम गर्दै आएका छौं । गुनासोकर्ता र सहकारीका सञ्चालक एवं व्यवस्थापकबीचमा छलफल गराउने काम भएको छ । समय दिएर बचतफिर्ताको कार्ययोजना प्रस्तुत गर्न लगाउँछौं । तर समय दिँदा पनि संस्थाहरुले बचत फिर्ता गर्न सकेनन् भने कानुनी कारवाहीको लागि नेपाल प्रहरी र सीआइबीलाई पत्राचार गर्छौं । अहिलेसम्म हामीले २५० मध्ये ४०–४२ वटा संस्थालाई कारवाहीको प्रक्रियामा लेखिपठाएका छौं ।

सबै कुराको समाधान कानुनी प्रक्रियाबाट मात्रै पनि सम्भव हुँदैन । संस्थामा आवद्ध सदस्यले चुनेको सञ्चालक समिति र व्यवस्थापनबीच छलफल गरेर समस्या समाधान होस् भन्ने हाम्रो मान्यता हो । संस्थाको अवस्था के छ ? सदस्यमाझमा संस्थालाई राम्रोसँग सञ्चालन गर्न सक्ने बातावरण बनाउन सकिन्छ भन्ने बुझाइ भयो भने अगाडि बढाउन सजिलो हुन्छ । जसले गर्दा बचतकर्तालाई पनि मर्का नपर्ने र सहकारीले पनि नियमित रुपमा आफ्नो गतिविधि गर्न सक्ने बातावरण बन्छ भन्ने कुरालाई मध्यनजर गरेर हामीले तत्कालै कारवाहीमा पठाउने गरेका छैनौं । छलफलको माध्यमबाट पनि कतिपय समस्या समाधान गर्ने गरेका छौं । लामो समयदेखि सहकारीको कार्यालय बन्द रहेको, सञ्चालक र व्यवस्थापकहरु फरार रहेको तथा पटकपटक कार्ययोजना पेश गर्न आग्रह गर्दा पनि कार्ययोजना पेश नगर्ने तथा छलफलको लागि बोलाउँदा समेत अटेर गर्ने र नआउने संस्थाको हकमा हामीले कानुनी प्रक्रियामा लैजाने गरेका छौं ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आगामी चैत्र मसान्त भित्र सदस्यको बचत फिर्ता गर्ने गरी कार्ययोजना पेश गर्न सबै संस्थाहरुलाई सुझाएको छ र सोही अनुसार भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले पनि सबैै निकायलाई परिपत्र गरेको छ । यो सन्दर्भमा बागमती प्रदेश सरकारले के गर्दैछ ?

जुन सहकारी संस्थाहरु जोखिममा छन्, जुन संस्थाका सञ्चालकहरु हाम्रो सम्पर्कमा आएका छैनन् र लामो समयदेखि बन्द रहेका छन्, ती संस्थाहरुलाई कारवाहीको प्रक्रियामा पठाउने काम भइराखेको छ । जुन सहकारी संस्थाका बचतकर्ता र व्यवस्थापनबीच आपसी छलफलका माध्यमबाट कसरी अगाडि बढ्दा संस्था पनि सञ्चालन हुन सक्छ र बचतकर्ताको बचत पनि सुरक्षित रहनसक्छ भन्ने सहमति हुन्छ, त्यस्ता संस्थाहरुको हकमा हामीले कार्ययोजना पेश गर्न लगाएका छौं ।

प्रदेश मन्त्रालयले सहकारी क्षेत्रको समस्या समाधानका लागि ३ सदस्यीय समित गठन गरेको छ । यो समितिले कसरी काम गर्छ र समस्यामा परेका संस्थाहरुका सदस्यले बचत फिर्ता पाउने बातावरण बन्छ त ?

प्रदेश सहकारी ऐनको दफा ८१ मा संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने परिकल्पना गरिएको छ । मन्त्रालयले सहकारी संस्थालाई समस्या ग्रस्त घोषणा गरेपछि ऐनको दफा ८२ मा व्यवस्थापन समिति गठन गर्न सक्ने प्रावधान छ । त्यहि ऐनको प्रावधानलाई टेकेर हामीले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेका छौं । हामी छिट्टै काठमाण्डौ उपत्यकाको उपयुक्त ठाउँमा कार्यालय स्थापना गर्छौं । अहिलेसम्म एउटा संस्थालाई मात्र समस्याग्रस्त घोषणा गरेका छौं । समितिले त्यही संस्थाको समस्यालाई समाधानको निम्ति आफ्नो गतिविधि अगाडि बढाउँछ । आगामी दिनमा आवश्यकता अनुसार संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्ने र संस्थाको बचत, ऋण र सम्पत्ति लगायतका दायित्वहरुलाई सुरक्षित राख्ने, त्यसको मुल्यांकन गर्ने र बचतकर्तालाई त्यहि सम्पत्तिको व्यवस्थापन गरेर बचत फिर्ता गर्ने काम हुन्छ । त्यस बाहेक सहकारीका सञ्चालक र व्यस्थापकले काम गर्दा बदमासी गरेको छ वा संस्थाको सम्पत्ति अपचलन गरेको भेटियो भने थप कारवाहीका लागि हामीले आफ्नो प्रक्रिया अगाडि बढाउँछौं ।

सहकारी संस्थामा वित्तीय संकट आउनुको मुख्य कारण के पाउनुभयो ?

मुल्य, मान्यता र सिद्धान्तमा रहेर सहकारीहरुले आफ्नो गतिविधि सञ्चालन गरेको भए यो समस्या आउने थिएन । हामीकहाँ रहेका ३२ सय सहकारीमध्ये करिब २५० संस्थामा विवाद आएको हो । त्यसमा पनि ४०–५० वटा संस्थामा मात्रै जटिल समस्या देखिएको छ । केहि सहकारी संस्थामा आएको समस्याको मार अन्य संस्थाहरुले पनि खेप्नु परेको अवस्था छ । केहि सहकारीका सञ्चालकले बचतकर्ताको पैसा आफुखुसी खर्च गर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने र ऋण लगानी गर्दा जायजेथा धितोको रुपमा राख्नुपर्नेमा त्यो नराखी दिने वा कमसल धितोमा ऋण प्रवाह गर्ने, समयमा ऋण असुल गर्न नसक्ने जस्ता थुप्रै समस्या देखिएका छन् । यसले गर्दा केहि सहकारीहरुलाई बचत फिर्ता गर्न समस्या भएको हो । त्यसपछि सहकारीप्रति आम मानिसको धारणा नकारात्मक बन्दै गएको छ । कतिपय सन्दर्भमा बचतकर्ताको बचत पनि असुरक्षित भएको अवस्था छ । सहकारीको मुल्य मान्यतालाई अक्षरस: पालना गर्ने हो भने अहिले देखिएको समस्या धेरैहदसम्म समाधान हुन्छ ।

केहि सहकारीले गरेको बदमासीका कारण सिंगो सहकारी अभियानप्रति आम सदस्यको विश्वास टुटेको छ । यस्तो परिप्रेक्ष्यमा सहकारीप्रति सकारात्मक वातावरण सृजना गर्न राज्यको पनि भूमिका हुन्छ होला नि ?

सहकारीको सात सिद्धान्तमध्ये स्वायत्तता एउटा सिद्धान्त हो । सहकारीमा सदस्य बन्ने र संस्थाको उद्देश्य अनुसार गतिविधि गर्न सदस्यहरु स्वायत्त छन् । राज्यले धेरै हस्तक्षेप गर्ने भन्दापनि सदस्यहरुलाई नै गतिविधि गर्न स्वायत्तता दिनुपर्छ । तर स्वायत्तता बढि भयो भने त्यसले छाडापन बढाउने र विकृति एवं विसंगति बढेर जाने सम्भावना रहन्छ । त्यसैले नियमनकारी निकायले चनाखो किसिमले संस्थाहरुले के कस्ता गतिविधिहरु गरिराखेका छन् भनेर बेलाबेलामा हेर्ने गर्नुपथ्र्यो ।

प्रदेश संरचनाले १३ जिल्लाका ३ हजारभन्दा बढी सहकारी संस्थाको नियमन गर्नुपर्ने भयो । तर त्यसका लागि स्रोतसाधन र जनशक्तिको अभाव छ । विगतमा भएका जिल्लास्तरीय डिभिजन कार्यालयहरु खारेजी भई नयाँ संरचना बनेको अवस्था छ । यसले गर्दा तल्लो तहसम्म गएर सुक्ष्म ढंगले संस्थाहरुले गरेका गतिविधिको नियमन गर्न सकेनौं । नियमन गर्न नसक्दा कतिपय गलत कार्यहरुलाई पनि नियन्त्रण गर्न सक्ने अवस्था रहेन । त्यसले गर्दा पनि सहकारीमा केहि विकृति बढेको हो । तर यो भनिरहँदा सहकारी क्षेत्रलाई सुधार गर्न हामीले केहि गतिविधि नै नगरेको भने होइन । जिल्लास्तरमा जिल्ला सहकारी संघहरुसँग मिलेर विभिन्न कार्यक्रमहरु १३ जिल्लामा नै गर्दै आएका छौं । प्रदेश सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र अन्य संघसंस्थाहरुसँग सहकार्य गरेर विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छौं ।

पछिल्लो समय नियमन अनुगमन फितलो भयो कि भन्ने गुनासो आइसकेपछि प्रदेश सरकारले सहकारी अनुगमन सम्बन्धी निर्देशिका २०७७ बनाएको छ । त्यसमा प्रदेशस्तरीय र जिल्लास्तरीय सहकारी अनुगमनको पनि परिकल्पना गरिउको छ । हामीले जिल्लास्तरीय र प्रदेशस्तरीय सहकारी अनुगमन समिति दुवैको लागि केहि बजेट विनियोजन गरेका छौं । तल्लो तहसम्म मन्त्रालयको ईकाई नभएको हुनाले जिल्ला र प्रदेशस्तरीय संघहरुसँग समन्वय गरेर केहि सहकारी संस्थाको अनुगमन गर्दैछौं । आगामी दिनमा के गर्दा सहकारी अभियान सुध्रिन्छ, त्यसै अनुसारका कार्यक्रम अगाडि बढाउने योजना हाम्रो छ । यसमा प्रदेश सहकारी संघले पनि आफ्नो ढंगबाट सहयोग गरिरहेको छ । अनुगमनका साथै जिल्लास्तरमा देखिएका समस्याहरु समाधानमा हाम्रो भूमिका बढाउँछौं । तर तल्लो तहसम्म पुग्न कार्यालय र जनशक्ति अभावले नियमन अनुगमन जति प्रभावकारी बनाउनुपथ्र्यो, त्यो भने बनाउन नसकेकै हो ।

सहकारी संस्थाहरुको ऋण लगानी र असुलीलाई व्यवस्थित बनाउन कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण र कालो सूचिमा राख्ने जस्ता कुरा सहकारीले ऐनले परिकल्पना गरेको छ । यसतर्फ प्रदेश सरकारले के सोचेको छ ?

कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, कालो सूचिको व्यवस्था सहकारी ऐन २०७४ मा छ र प्रदेश सहकारी ऐनले पनि त्यसको परिकल्पना गरेको छ । कतिपय विषयहरु मन्त्रालय स्तरबाट मात्रै गर्न नसकिने अवस्था छ भने कतिपय विषयहरु प्रदेश सरकार तहबाट मात्र निरुपण नहुने र संघीय सरकारसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । यो विषयमा हाम्रो तर्फबाट संघीय सरकारसँग समन्वय गर्ने र कार्यान्वयनमा लैजानको लागि भनिराखेका छौं । ती संरचना गठन गर्न सके अहिले देखिएका वित्तीय विचलनका साथै बचतकर्तामा देखिएको मनोवैज्ञानिक असरलाई कम गर्नको लागि सहज हुन्थ्यो नै । आगामी दिनमा ऐनले परिकल्पना गरेको संयन्त्रहरुको निर्माण गरी ती संयन्त्रहरुले आफ्नो गतिविधि अगाडि बढाए भने अहिले देखिएको समस्याहरु धेरै हदसम्म कम भएर जान्छन् ।

हामीले एउटा संस्थाको अनुगमन गरेका थियौं, त्यो संस्थाले राम्रोसँग बचत संकलन र ऋण परिचालन गरिराखेको थियो र ऋण असुलीमा पनि केहि समस्या थिएन । तर त्यहि जिल्लामा रहेको अर्को सहकारी संस्थामा समस्या आयो । त्यो संस्थाका सञ्चालकहरु फरार हुनथालेपछि राम्रोसँग सञ्चालन भइरहेका सहकारीमा पनि सदस्यहरुले बचत गर्न छाडे । उल्टै आफुले राखेको बचत फिर्ता माग्न थाले । संस्थामा सञ्चालक र व्यवस्थापकले कुनै हिनामिना गरेका छैनन् । हरेक वर्ष समयमा साधारणसभा गरेका छन् । तर पनि त्यो संस्थामा समस्या आयो । एउटा संस्थामा समस्या आउँदा अर्को राम्रोसँग चलिरहेको संस्थाप्रति पनि बचतकर्ताले विश्वास गर्न सकेनन् । यो खालको समस्या धेरै ठाउँमा देखिएको छ । एकैपटक सबै बचतकर्ता बचत फिर्ता माग्न जान्छन् । सहकारीले पनि १५–२० प्रतिशत तरलता लिएर बसेका हुन्छन् र बाँकी रकम कहीँ न कहीँ लगानी भएको हुन्छ । एकैपटक शत्प्रतिशत बचतकर्ता आफ्नो बचत फिर्ता माग्न आएपछि समस्या पर्छ नै । संस्थाहरुले तरलताको रुपमा रहेको २० प्रतिशत रकम फिर्ता गर्न सक्छ । बाँकी ८० प्रतिशत रकम तत्कालै फिर्ता गर्न सक्ने अवस्था रहँदैन । त्यो भएपछि सहकारीले बचतको दुरुपयोग गर्‍यो, अन्य क्षेत्रमा लगानी भयो भन्ने दुष्प्रचार सदस्यहरुबाट नै हुन्छ । त्यो हुँदा राम्रोसँग चलिरहेको संस्थाहरु पनि बदनाम् हुने र बन्द हुनुपर्ने अवस्था सिर्जना भएको छ । त्यो हुन नदिनका लागि आफ्नो संस्थाको अवस्था यो छ है, संस्थाको वित्तीय अवस्था ठिक छ र सदस्यहरु आत्तिनु पर्दैन भनेर सञ्चालक समितिले सदस्यहरुलाई विश्वासमा लिनुपर्छ ।

प्रारम्भिक सहकारी, जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा रहेका छाता संघहरुले पनि जनसचेतना लगायतका सहकारी शिक्षा तथा तालिमका कार्यक्रम आयोजना गरेर सदस्यको मन जित्ने काम गर्नुपर्छ । हामीले पनि सबै सहकारीमा समस्या छैन र सदस्यहरु नआत्तिनुस् भनेर समयसमयमा भन्दै आएका छौं । सदस्यहरुको विश्वास जित्न सकियो भने अहिले भइरहेको गलत प्रचार धेरै हदसम्म कम हुन्छ । केहि सहकारीमा देखिएको समस्याले गर्दा अर्को संस्थामा आवद्ध भएका सदस्यहरु डराउने र भोलि के हुन्छ ? बचत फिर्ता पाइन्छ कि पाईंदैन अथवा अन्य संस्थाका सञ्चालक, व्यवस्थापकले जस्तै वित्तीय अपचलन गर्छन् कि भन्ने अविश्वास अहिले देखिएको छ । यसप्रकारको बातावरण हटाउनु अहिलेको आवश्यकता हो ।

सहकारीको समस्या समाधान गर्न कुनै एउटा तहबाट मात्रै प्रयास गरेर हुँदैन । पहिलो दायित्व भनेको सहकारी संस्थाहरुले नै आफ्ना सदस्यहरुलाई संस्थाको स्थितिका बारेमा सुसूचित गराउनुपर्छ । समयमा साधारणसभा गरेर सदस्यहरुलाई संस्थाको बारेमा जानकारी दिने, सहकारी शिक्षा शिविर सञ्चालन गर्ने, ऋणी सदस्यलाई समयमा ऋण चुक्ताको लागि पहल गर्ने काम संस्थाहरुले गर्नुपर्छ । यो काम सबै सहकारीले गरे भने समस्या धेरै हदसम्म कम भएर जान्छ ।

सहकारीमा समस्या आउनुमा संख्यात्मक वृद्धि पनि एउटा मानिन्छ । यो संख्यालाई घटाएर गुणस्तरीय संस्था निर्माण गराउन सकिन्छ होला नि ? त्यसको लागि एकिकरण नै उपयुक्त माध्यम भनिन्छ । यसलाई बागमती प्रदेश सरकारले कसरी प्रवद्र्धन गरेको छ ?

एकिकरणमा जाने संस्थाहरुलाई प्रोत्साहनको कुनै कार्यक्रम हालसम्म ल्याएको छैन । तर सहकारीमा एकिकरणको कुरालाई हामीले प्रोत्साहन गरिराखेका छौं । सहकारीको संख्या आवश्यकता भन्दा बढी नै भएको हो । हिजोका दिनमा तल्लो तहसम्म सहकारी पुर्‍याउन राज्यले नै दर्ता दिएको हो । त्यो कारणले संख्या बढेर गएको हो । नियमनलाई प्रभावकारी बनाई संस्थाहरुलाई सुशासनमा राख्नको लागि संख्या अलि बढी भएको हाम्रो बुझाई छ । विभिन्न जिल्लामा कार्यक्रम गर्दा संख्या बढी भयो भनेर सरोकारवालाहरुबाट पनि आवाज उठिरहेको छ । आगामी दिनमा एकिकरणमा जाने संस्थाहरुलाई के सहुलियत दिन सकिन्छ ? त्यो विषयलाई बजेटमार्फत ने सम्बोधन गरेर जानुपर्छ । यसका लागि सरोकारवाला निकायहरुबाट सुझाव लिने काम भइराखेको छ । सुझावलाई नै आधार बनाएर एकिकरणमा जाने संस्थाहरुलाई केहि न केहि सुविधा प्रदान गर्छौं ।

मुलुकको सन्दर्भमा कुरा गर्दा सहकारी क्षेत्रले समाजमा पुर्‍याएको योगदानलाई कसरी लिन सकिन्छ ?

प्रदेश मातहत रहेका करिब तीन हजार सहकारीसंस्थामध्ये करिब २५० वटामा संस्थाको गुनासो आएको छ । बाँकी सहकारीले त राम्रो काम गरिरहेका छन् भन्ने हो । यद्यपि एउटा संस्थाले गरेको गल्तीको कारण अन्य राम्रा संस्थाहरु पनि दोषी हुनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसलाई निराकरण गरेर जानुपर्छ । सहकारीमा आवद्ध भइसकेपछि सदस्यहरुले ससानो बचत गर्ने गर्छन् । त्यहि बचतबाट सीप र जाँगर भएका सदस्यहरुले ऋण सुविधा पाएका छन् । एकल र सामुहिक रुपमा ऋण लिएर सदस्यहरुले व्यवसाय गर्दै आएका छन् । कृषि, दुग्ध, पशुपालन, तथा अन्य सहकारीमा जोडिएर सदस्यहरुले केहि न केहि पेशा र व्यवसाय गरिरहेका छन् । सदस्यहरुलाई आर्थिक, सामाजिक रुपमा सबल बनाउने र सदस्यहरुको आयस्तर वृद्धि गरी स्वावलम्बी बनाउने कुरामा सहकारीको महत्वपूर्ण भूमिका रहेको छ ।

सदस्यहरुले व्यवसाय गर्दा स्थानीय श्रोत साधनको परिचालन हुनुका साथै त्यसको सदुपयोग पनि भएको छ भने सानो स्केलमा भएपनि रोजगारी सिर्जना भएको छ । रोजगारीले गरिबी निवारणमा सकारात्मक प्रभाव पार्ने नै भयो । त्यसले नागरिकको जीवनस्तर माथि उठाउने सन्दर्भमा पनि भूमिका खेल्ने नै भयो । सहकारीमा आवद्ध भएर धेरैले विभिन्न व्यवसाय गरिराखेका छन् । त्यसै कुरालाई मध्यनजर गरेर सहकारीमार्फत भएका राम्रा गतिविधि र सफलताको कथा प्रकाशन गर्न यस आर्थिक वर्षको बजेटमा हामीले केहि रकम विनियोजन गरेका छौं । नकारात्मक कुराको मात्र बढि प्रचारप्रसार अहिले भइराखेको छ । अब सहकारीमार्फत रसुवा, सिन्धुली वा दोलखामा के कस्ता असल अभ्यास भएका छन् ? तिनको प्रचारप्रसार गरेर समाजमा सहकारीप्रतिको महत्व बढाउने योजना हामीले अघि सारेका छौं । कुनै एक संस्थाले गरेको राम्रो गतिविधिले संस्थामा आवद्ध सदस्य र समुदायमा परेको राम्रो कामको प्रचारप्रसार होस् भन्ने हाम्रो उद्देश्य हो । एकातिर राम्रो काम गरिरहेको व्यक्तिलाई पनि राम्रो गर्न थप प्रोत्साहन मिल्छ भने अरुले पनि सिक्ने अवसर पाउँछन् । अर्कोतर्फ सहकारीप्रति भएको नकारात्मक प्रचारप्रसार पनि निकै कम हुन्छ । यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ भन्ने मन्त्रालयको सोच छ ।

एउटै व्यक्ति सहकारी संघसंस्थाको दोहोरो पदमा बस्न नपाउने व्यवस्था ऐनले गरेपनि, त्यो कार्यान्वयनमा आउन सकेको छैन नि ?

कुनै एउटा व्यक्ति एक संस्थाको पदाधिकारी भएपछि अर्को संस्थाको सञ्चालक वा पदाधिकारी हुनुहुँदैन भन्ने हो । अहिले एउटै व्यक्ति विभिन्न संघ/संस्थाको सञ्चालक बसिराखेको छन्, त्यसको अन्त्य गरेर जानुपर्छ भन्ने ऐनको उद्देश्य हो । सो सन्दर्भमा एउटा माथिल्लो तहको कुनै जिम्मेवारी पुगेपछि तल्लो तहको जिम्मेवारी स्वत: खारेज हुनुपर्छ । एउटै व्यक्ति धेरै ठाउँमा बस्नु हुँदैन भन्ने कुरालाई व्यवहारमा कार्यान्वय गर्न ऐनले खोजेको छ । जो व्यक्ति सहकारी संघसंस्थाको धेरै वटा छाता संघ हुुनुहुन्छ उहाँहरुले सरकारले लागु गर्न खोजेको नीति अनुसार एक पदमा बस्दा राम्रो हुन्छ । यसमा अभियानको पनि केहि विमतिहरु रहेका छन् । यसलाई कसरी लागु गर्दा प्रभावकारी हुन्छ, त्यसतर्फ हामीले छलफल गरेर अगाडि बढ्नुपर्छ र अहिले नै यो विषय प्रभावकारी भयो भन्न सक्ने अवस्था भने छैन ।