बुधबार, भाद्र ३ गते २०८३

विश्वविद्यालयका परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप दिइने

श्रावण २७, २०७८ बुधबार
विश्वविद्यालयका परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप दिइने

 

सरकारले विभिन्न विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

त्रिभुवन विश्वविद्यालय द्वारा सञ्चालित विभिन्न तहका परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । 

खोपको व्यवस्था मिलाउन ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पत्राचार गरिसकिएको स्वास्थ्य सेवा विभागका निर्देशक डा। तारानाथ पोखरेलले जनाएका छन् । विभागले ७ वटै प्रदेशका जनस्वास्थ्य निर्देशनालय, ७७ वटै जिल्ला जनस्वास्वास्थ्य कार्यालयलाई परीक्षार्थीलाई खोपको व्यवस्था मिलाउन भनिएको छ । विद्यार्थीहरुले परीक्षा प्रवेशपत्र देखाएर अस्ट्राजेनेका वा भेरोसेलको पहिलो मात्रा खोप लिन पाउनेछन् ।  

काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । 

त्रिविले सञ्चालन गरिरहेको र गर्न लागेका परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान छ । परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै विभिन्न विद्यार्थी संगठनले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका थिए ।