पुल्चोकमा केन्द्रिय कार्यालय रहेको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभले रक्तदान कार्यक्रमको आयोजना गरी २३ औं स्थापना दिवस मनाएको छ । कोभिड १९ को जोखिम कायमै रहेकाले संस्थाले सीमित मानिसको उपस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरेको सुमेरु ग्रुपका महाप्रबन्धक एचआर दाहालले बताए ।
जिल्ला प्रशासन कार्यालयले बाहिरी मानिसको उपस्थिति बिना नै संस्थामा कार्यरत कर्मचारीहरुबाट मात्रै रक्तदान गर्न सुझाएकाले सोही अनुरुप आफुहरुले कार्यक्रम गरेको उनले जानकारी दिए । संस्थाको केन्द्रिय कार्यालय परिसरमा रक्तदान जीवनदान भन्ने नाराकासाथ आयोजित कार्यक्रममा १५० जना स्वंसेवी रक्तदाताले रक्तदान गरेका थिए ।
सुमेरु सेभिङ्ग र लायन्स क्लब अफ काठमाण्डु, सुमेरुको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष भरत महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुमेरु ग्रुपमा आवद्ध संस्थाहरुमा कार्यरत कर्मचारी, सञ्चालकहरु, उपसमिति तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष महर्जनले अहिले पनि मानिसहरु चेतनाको अभावले रक्तदान गर्न हिचकिचाइरहको अवस्थामा रक्तदान गर्नुपर्छ भन्ने सन्देश दिन हरेक वर्ष स्थापना दिवसमा रक्तदान गर्दै आएको बताए । हालपनि विमारीहरुको लागि अति आवश्यक पर्ने रगत को अभाव कायम रहेको छ । “रगतको आपूर्ति स्वयंसेवी रक्तदानबाट मात्र सम्भव छ,’ उनले थपे ‘उमेर पुगेका प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् ।’
मुख्य कार्यालय सहित संस्थाले कालिमाटी, गठ्ठाघर तथा धापाखेलमा रहेका सदस्य सेवा केन्द्रबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । ‘स्वास्थ्य, शिक्षा, सहकारी, समृद्धि, व्यवसाय र रोजगारी भन्ने मूल नाराकासाथ दुई दशकअघि स्थापना भएको सुमेरु समुह अन्तर्गत हाल दर्जन भन्दा बढि संस्थाहरु सुमेरुकै नामबाट सञ्चालनमा रहेका छन् ।
सुमेरु ग्रुपले शिक्षा, स्वास्थ्य र सेवामूलक क्षेत्रमा आफ्नो लगानी बढाएको छ भने सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, किड्नी अस्पताल, डाइग्नोष्टिक सेन्टर, सुमेरु मार्ट, सुमेरु मेडिकल कलेज, सुमेरु एसियन कलेज, मनि एक्स्चेञ्ज, मनि ट्रान्सफर, सुमेरु योग व्यायामशाला जस्ता विभिन्न परियोजना सञ्चालनमा ल्याएको छ ।
