बुधबार, भाद्र ३ गते २०८३

उद्योग परिसंघ, प्रभु बैंक र इन्भेष्टमेन्ट बैंकको सहकार्यमा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट

श्रावण ४, २०७८ सोमबार
उद्योग परिसंघ, प्रभु बैंक र इन्भेष्टमेन्ट बैंकको सहकार्यमा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट

 

नेपाल उद्योग परिसंघको अगुवाई एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। 

नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा प्लान्ट हस्तान्तरण एवं सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। अस्पताललाई
५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो । 

परिसंघका अध्यक्ष सतिशकुमार मोर र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

कार्यक्रममा परिसंघका अध्यक्ष मोरले देश संकटमा परेका बेला निजी क्षेत्र अग्रस्थानमा उभिएर आफ्नो कर्तव्य पुरा गरेको उल्लेख गरे । कोभिड–१९ को पहिलो र दोस्रो लहरले सिर्जना गरेको संकटमा पनि निजी क्षेत्रले आपूर्ति श्रृङ्खला सहज बनाउन सहकार्य गरेको उनले जनाए । 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राडा दिव्या सिंह शाहले कोभिड–१९ को संकटपूर्ण अवस्थामा शिक्षण अस्पतालले हरतरहले सेवा प्रदान गरेको बताइन् । 

प्रभु बैंकका अध्यक्ष जीवनप्रकाश सिटौलाले महामारी अझै नसकिएको भन्दै सबैले सचेत भएर जनताको जीवन रक्षाका काम गर्नुपर्ने जनाए । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले अक्सिजन प्लान्टको नियमित सञ्चालन र आवश्यकता अनुसार मर्मतसम्भार गरी आम जनतालाई नियमित सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।