आइतबार, मंसिर १३ गते २०८३

आदिम जंगली मानव: ज्ञान-विज्ञान र दर्शन

मंसिर १३, २०८३ आइतबार
आदिम जंगली मानव: ज्ञान-विज्ञान र दर्शन
*सरस्वती माेहाेरा
भनिन्छ वैज्ञानिक युगको शुरुवात कहिलेदेखि भयो भन्न सकिन्न। त्यसोभए तापनि इतिहासमा पहिलो वैज्ञानिक भनेर थेल्स् (Thales, 625-550 BC) को नाम उल्लेख भएको पाइन्छ(Great Scientists by Syamal Chakrabarti edi:2014,Page.1)।
थेल्स प्राचीन ग्रीकको समृद्ध शहर मिलेटस् मा २५००सय वर्षअघि जन्मिएका थिए।थेल्सको योगदानलाई वैज्ञानिक र दार्शनिक रूपमा मान्ने गरिन्छ। सम्भवत: तिनि नै पहिलो दार्शनिक पनि थिए।थेल्स व्यापारी थिए तर उनी राजनीतिज्ञ, गणितज्ञ र ज्योतिर्विद् पनि थिए ।
थेल्स बारे भन्ने गरिन्छ प्राचीन ग्रीसको कुनै एकठाउँमा सूर्य ग्रहण हुनुभन्दा अघिनै त्यसको मिति र समय उनले जोखी सकेका थिए रे।स्थानीय मानिसहरूलाई सूर्यग्रहण देखि भयभीत नहुन र ग्रहण पछि फेरि पहिलेकै आवस्थामा सूर्य देखिनेछ भन्ने कुरामा पनि उनले आश्वस्त गराएका थिए रे। नभन्दै उनको कुरा सही साबित भएको भनिन्छ।
थेल्स ईश्वर बिनाको विश्वको अवधारणालाई मान्दथे। उनी पृथ्वीमा भएका सबै चीजहरू पानीद्वारा बनेका हुन् भन्ने कुरामा विश्वास गर्थे। उनी आफुले अवलोकन र निरिक्षण गरेर पत्तो लगाइएका चीजहरूको मात्र कुरा गर्थे।यसरी जीवन जगत र प्रकृतिलाई हेर्ने, बुझ्ने कुरामा थेल्स‌ भौतिकवादी थिए भन्ने बुझिन्छ।
थेल्सको करीबन २०० वर्षपछि ग्रीक एथेन्समै सुकरात पनि जन्मेका थिए। ग्रीसमा एक महान् शिक्षकका रूपमा स्थापित सुकरात कुनै स्कुल,महाविद्यालय र विश्वविद्यालयका शिक्षक वा प्राध्यापक भने थिएनन् । तथापि उनले पश्चिममा जगतको बौद्धिक जीवन एवं बैचारिक क्षेत्रमा हलचल मच्चाइदिए।
भनिन्छ सुकरात खाली खुट्टै हिड्थे रे।बाटा,गल्ली,चोक र सडकहरूमा भेटेजति मानिसहरूसित दर्शन र ज्ञानका कुराहरु गरी हिड्थे रे। सत्यको खोजी गर्ने र सत्यसित साक्षात्कार गर्ने र गराउने कुरालाई सुकरात जीवनको आनन्द ठान्दथे। विद्वानहरू सुकरातलाई घुमन्ते दार्शनिक भन्न रूचाउँछन्।
प्लेटोले आफु सुकरातको शिष्य भएको र विशेष 'सुकरातको युगमा आफु जन्मिएकोमा आफ्नो जीवनको सर्वाधिक सुख र गौरवपूर्ण बिषय" भएको (सुकरात:A biography, पुण्यप्रसाद प्रसाई पृष्ठ १८)- उल्लेख गरेका छन्।
सुकरात एथेन्सका महान् दार्शनिक एनेक्सागोरसका शिष्य थिए।एनेक्सागोरस नास्तिक थिए। ग्रीक दर्शनको इतिहासमा एनेक्सागोरसको भुमिका बस्तुको गति सम्बन्धी अवधारणालाई लिएर महत्वपूर्ण मान्ने गरिएको छ। एनेक्सागोरस संसारको मुल के हो भन्ने कुरा खोज्दथे। प्लेटोका शिष्य प्रतिभाशाली अरस्तु एनेक्जागोरसको बौद्धिकताबाट असाध्यै प्रभावित थिए।
अरस्तु सुकरातको चरित्र र व्यक्तित्वलाई आदर्श रूप मान्छन्।सुकरात जीवनको निरिक्षण र परिक्षण गरिनुपर्ने कुरामा जोड दिन्छन्। उनी जुन जीवन समीक्षाको कसीमा खरो उत्रन सक्दैन त्यो जीवन जिउने योग्य छैन भन्दछन्। तथापि प्रसव कष्टकर भएजस्तै सत्यसित साक्षात्कार गर्ने बिषय पनि निकै कष्टकर हुने भन्दछन्।
जीवनको मुल सार अनि मर्म उनी आफुलाई चिन्ने कुरालाई मान्दछन्।' मैले आफ्नो सारा जीवनमा आफुलाई चिन्ने प्रयत्न गरे!"(ऐजन,पृष्ठ २७)-भन्छन्। सुकरात मानवजीवन र मानवजीवनको मुल्य-सार्थकता र औचित्यमा नै दर्शन,ज्ञान र सत्यको औचित्य निहित छ भन्ने कुरा मान्दथे। आफुभन्दा अघिका naturalist प्रकृतिलाई जीवनको मुल ठान्ने प्रकृतिवादी दार्शनिक एवं भौतिकतत्व र प्रकृतिलाईनै मुल मान्ने आफ्ना गुरू एनक्सागोरसभन्दा छुट्टै सुकरात,'मानवता" लाई जीवनको मुल ठान्ने मानवतावादी दार्शनिक थिए।उनको दर्शनको मुल सार र आदर्श, मानवता र सत्यतामा निहित थिए। उनी त्यसैमानै सौन्दर्य देख्दथे।त्यही आदर्शकालागि सुकरातले निरंकुश सत्ताको बिरूद्ध संघर्षमा स्वेच्छालेनै आफ्नो जीवनको आहुती दिए।
सुकरातको मानवजीवनभित्रबाट सत्य ज्ञान एवं दर्शनको साक्षात्कार गर्ने र उद्घाटन गर्ने अन्तरसंवाद वार्तालापीय, वाद- विवाद-सम्वादको पद्धति द्वन्दात्मक रहेको बुझिन्छ। मार्क्सवादी दर्शनको कुरा गर्दा हिगेलको द्वन्दवादी पद्धति भन्दा अघि जानपरे अरस्तु र सुकरातसम्म पुग्नुपर्ने हुँदछ।
त्यस्तै साहित्य कलाको क्षेत्रमा -' होमरका कविताहरू र विशेष 'इलियड',(महाकाव्य)- मा बर्बर युगको उन्नत आवस्थाले आफ्नो बिकासको चरम शिखरमा पुगेको र उक्त बर्बर आवस्थामा उत्पादनको के, कसरी बिकास भएको थियो",'- भन्ने कुरालाई बुझ्न होमरका काव्यहरू महत्वपूर्ण ऐतिहासिक साक्ष्य/ प्रमाणको रूपमा रहेको एंगेल्सले भनेका छन्। उनले 'होमरका महाकाव्यहरू र सम्पूर्ण पुराणको बिरासतलाई लिएर युनानीहरूले बर्बर युगदेखि सभ्यताको युगमा प्रवेश गरेको ",- कुरा बताएका छन् (एंगेल्स: परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति, पृष्ठ ३३)। यसप्रकार दर्शन, ज्ञान विज्ञानको बिकासको सापेक्षतामा कलासाहित्यले पनि बिकास गरेको बुझिन्छ।
सभ्यताको प्रारम्भिक इतिहासमा मानवका सरल,सहज, स्वाभाविक भावोद्गारहरू मौखिक एवं स्रुति परम्पराका रूपमा विकास भएको बुझिन्छ। पश्चिमी लोकजीवनका आख्यान एवं गीतहरूको संयोजनको फलस्वरूप लोकगाथा अथवा ' ब्यालेड" बाट इलियड,ओडिसी जस्ता महान् कृतिहरूको रचना भएको हो भन्ने पश्चिमा विद्वानहरूको भनाई छ।यी दुवै महाकाव्यहरू ग्रीसेली लोकगीत र पुराणका भण्डार तथा पश्चिमा साहित्यका र विश्वकै उत्कृष्ट रचनाहरू भएको विद्वान् हरू मान्दछन्।
संसारलाई यति विशिष्ट महान् रचनाहरू दिने र आफ्नो उत्कृष्ट कलाको माध्यम यौटा सिंगो युगको बयान गर्न सक्ने महाकवि होमर तर तारानाथ शर्मा र कतिपय विद्वानहरूको अनुमानमा घुमी हिड्ने गाइने थिए रे।यसरी भनौ प्रकृति र जीवनबाट प्रेरित, उत्साहित,सरल साधारण जीवन व्यतीत गर्ने तत्कालीन बुद्धिजीवी, दार्शनिक, कलाकारहरू सामाजिक जीवनमा तर महान, असाधारण र भव्य थिए।
अथवा यसो भनौ विज्ञान, दर्शन, कलासाहित्य,- मानव जीवन, व्यावहार अनि प्रकृतिको काखमा स्वाभाविक अनि सहज ढंगमा हुर्किएको बुझिन्छ।असलमा जीवन सितको संघर्षको क्रममा, प्रकृतिसितको संघर्षको क्रममा अथवा जीवन व्यवहार अनि सत्यको खोज गर्ने आवश्यकतामा विज्ञान,दर्शन,इतिहास एवं कलासाहित्यको प्रादुर्भाव भएको बुझिन्छ। त्यसैको सार अनि संश्लेषित रूपको छुट्टै व्यावहारिक अभिव्यक्ति संस्कृति र राजनीति भएको बुझ्नसकिन्छ।
निश्चय पनि ती सबैको आधार एवं कारक रूप भने तत्कालीन सामाजको अर्थनीति वा आर्थिक उत्पादन सम्बन्धनै मुल र प्रमुख रहेको बुझ्नसकिन्छ नै। अत: तत्कालीन उत्पादन सम्बन्ध आधारित त्यही रूपको सामाजिक चेतनाका विविध रूपहरू विज्ञान, दर्शन, इतिहास कलासाहित्य,राजनीति एवं संस्कृतिलाई बुझ्न सकिन्छ।इतिहास त्यही अनेकन् विविध रूपहरूको मोठ एकमुष्ट,एकगठ सार संश्लेषित अभिव्यक्ति बुझिन्छ। सो विज्ञान, दर्शन, साहित्यकला,राजनीति र संस्कृतिका साथै इतिहासको ज्ञानको आवश्यकता पनि मानव जीवनलाई अपरिहार्य हुँदछ।मानव इतिहासलाई हेर्दा प्रकृतिको सर्वश्रेष्ठ उपज मानव,आरम्भमा पनि पशु जीवनको तुलनामा कयौँ गुणा अघाडी देखिन्छ।
आगोको आविष्कार गर्ने आदिम जंगली मानव यो धर्तीमा पहिलो वैज्ञानिक र आविष्कारक थिए। घमाइलो घामको न्यानो, उष्ण र शुभ्र स्पर्शलाई सबैभन्दा पहिला अनुभुत गर्ने, बिहानीको रिमरिमे उषाकिरणमा रमाउने, आकाशबाट पानी खस्दा आकाश, अन्तरिक्ष र पानीको मुल खोज्ने पहिलो दार्शनिक आदिम जंगली मानव नै थिए। सौन्दर्यबोधी चेतनाको सम्पूर्ण रूपले बिकास नभएको आवस्थामा पनि,शुनशान शुन्य आकाशमा ताराहरू झि्ल्मिलाएको देख्दा व्यग्र उत्कण्ठा आवेग सहित उल्लासित र रोमाञ्चित हुनु, जुनेली आकाशमा उदाएको जुनको स्निग्ध सुन्दरतासित, उजेलिएको धर्तीको सुन्दरता र चहकलाई देखेर जीवन अनि जीवनको सुन्दरताबारे बोध गर्ने सबैभन्दा पहिलो सौन्दर्यबोधी सौन्दर्यचिन्तक ती आदिम जंगली मानिस नै थिए। त्यसो र जीवनबोधी सौन्दर्यको अनुपम उद्गार र अभिव्यक्ति स्वरूप ती जंगली मानिसले नै सर्वप्रथम सुस्तरीसित गीत जस्तो केही गुनगुनाए र कविता जस्तो केही बोले होला र यो धर्तीमा पहिलो 'आदािम कवि" जन्मिए होलान्। यसरी साहित्यकला सौन्दर्यदर्शनका पहिलो पारखी पनि ती जंगली मानिस नै भए होलान्। यसरी सभ्यताको युगको शुरुवात हुनुभन्दा धेरै अघि नै मानव जीवनको प्रथम प्रहरमा पनि, धर्तीमा आदिम जंगली मानवको उपस्थिति कुनै दुर्भाग्यपुर्ण दुर्घटना वा संयोग मात्र नभएर त्यो जीवन र प्रकृतिकै लागि आधारभूत पहिलो अप्रतिम शर्त अनि आवश्यकता भएको बुझिन्छ।
त्यतिमात्र होइन आजपर्यन्त सर्वशक्तिमान कहल्याइएका, देवता र ईश्वरलाई जन्माउने पनि तिनै आदिम जंगली मानिस नै थिए। ती आदिम मानिसहरूले भयमुक्त गरेर आफैंलाई अभय दान दिन देवता र ईश्वरलाई जन्माएका थिए।देवता र ईश्वर यसरी आदिम मानवका आदिम चेतनाका उपज,ती तर आदिम जगली मानवले आफ्नो समस्याको हल आफैद्वारा गरेका महती उदाहरण र आदिम इतिहासका बालसुलभ सुन्दर प्रमाणहरू हुन्।
आधुनिक मानवले आफ्ना आदिम जंगली पुर्खाहरुले आफुलाई भयमुक्त गराउन जन्माएका देवता र ईश्वरहरू, आफ्ना पुर्खाहरूले इतिहासलाई दिएको आदिम धरोहरका विरासत र प्रमाणहरू हुन् भन्ने कुरालाई अझै विश्वास गर्न सकीरहेको छैन र इतिहासमा भौतिक मानवले जन्माएको पराभौतिक सामग्रीलाई इतिहासमा उचित र सम्मानित ठाउँ दिनपर्ने कुरामा आधुनिक मानव अझै विश्वस्त बन्न सकीरहेका छैनन्। यद्यपि संसार जहिले पनि परिवर्तनको आवस्थामा छ। त्यसैको सापेक्षतामा मानव विवेक पनि प्रगतिशील परिवर्तनको पक्षमा छ।
मानवका ज्ञान ,चेतना उत्पादन सम्बन्धमाथि आधारित, त्यसै अनुरूपको हुने यसबाट पनि बुझिन्छ। यद्यपि जुनसुकै समाजको विकासलाई गति दिने, उत्पादन सम्बन्ध परिवर्तनशील र गतिशील बिकासको प्रक्रियामा हुनुले मानवीय ज्ञान चेतना पनि परिवर्तनशील बिकासको गतिशील आवस्थामा भएको बुझसकिन्छ।
आदिम जंगली मानिसकै परिवर्तनशील स्वरूप आधुनिक मानव भएको पनि बुझ्नसकिन्छ। प्रकृतिको उषाकाल देखिकै प्रकृतिको दुर्लभ उपज मानिस, जंगली आदिमकाल देखिनै निरन्तर जीवनसंघर्ष र जीवन व्यावहारको क्रममा , सामाजिक बिकासको निरन्तर गतिशील प्रकियामा खारिँदै गइराखेको छ। यस रूपमा मानव ज्ञान, चेतना र विवेक उत्तरोत्तर अझै परिवर्तन, बिकास, प्रगति अपेक्षित र अग्रसरित रहेको छ/बुझिन्छ।
( सरस्वती माेहाेराजीकाे याे लेख  मानव नै ज्ञानको स्रष्टा हो, मानव नै विज्ञानको आविष्कारक हो र मानव नै दर्शन, कला, साहित्य तथा संस्कृतिको जन्मदाता हो। भन्ने यथार्थमा खडा गरिएकाे छ प्रकृतिसँगको संघर्ष, श्रम र सामाजिक जीवनको विकासक्रममा मानवले आफ्नै चेतना र विवेकको विकास गर्दै आएको छ। त्यसैले मानव इतिहासलाई बुझ्नु भनेको मानवले आफ्नो श्रम, ज्ञान, अनुभव र सामूहिक संघर्षबाट आफूलाई र आफ्नो संसारलाई कसरी निरन्तर परिवर्तन गर्दै आएको छ भन्ने कुरा बुझ्नु हो भन्ने यस लेखकाे अन्तर्य छ -संपादक )
*माेहाेराजीकाे मुहारपुस्तिकाबाट साभार