बुधबार, भाद्र ३ गते २०८३

एसएसएफका योगदानकर्तासँग अतिरिक्त शुल्क नलिन स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन


श्रावण ७, २०८३ बिहीबार
एसएसएफका योगदानकर्तासँग अतिरिक्त शुल्क नलिन स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन

 

काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ) ले आफूसँग आबद्ध स्वास्थ्य संस्थालाई योगदानकर्तासँग कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिन कडा निर्देशन दिएको छ। कोषले सम्झौताविपरीत अतिरिक्त रकम असुल्ने, विशेषज्ञ चिकित्सकबाट उपचार गर्न अस्वीकार गर्ने तथा विभिन्न बहानामा योगदानकर्तालाई सास्ती दिने गुनासा बढेपछि यस्तो निर्देशन जारी गरेको हो।

कोषका अनुसार योगदानकर्ता, उनका श्रीमान्/श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीलाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा केही अस्पतालले एसएसएफ अन्तर्गत निःशुल्क उपलब्ध गराउनुपर्ने शल्यक्रिया र अन्य उपचारमा समेत अतिरिक्त शुल्क लिने गरेको पाइएको छ। साथै, विशेषज्ञ चिकित्सकबाट जाँच वा परामर्श गराउन अस्वीकार गर्ने प्रवृत्ति पनि देखिएको भन्दै त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिइएको छ।

त्यस्तै, ‘सर्भर डाउन’ वा ‘सिस्टम चलेन’ भन्ने बहाना बनाएर योगदानकर्तालाई नगद तिरेर उपचार गर्न बाध्य पार्ने, कोषले समेटेका महँगा परीक्षणको खर्च नबेहोर्ने भन्दै गलत जानकारी दिने तथा सामान्य बिरामी र योगदानकर्ताबीच विभेदपूर्ण व्यवहार गर्ने कार्य पनि पूर्ण रूपमा बन्द गर्न कोषले अस्पताललाई सचेत गराएको छ।

कोषका प्रवक्ता कृष्ण अधिकारीले अस्पताल र कोषबीच भएको सम्झौताअनुसार सेवा नदिएको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि प्रचलित कानुन, सम्झौता र योगदानकर्ताको अधिकारविपरीत रहेको बताए। उहाँका अनुसार अस्पतालविरुद्ध परेका उजुरीको अध्ययन भइरहेको छ।

कोषले कुनै पनि अस्पतालले यस्ता अनियमितता गरेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम कोषसँग भएको सम्झौता स्थगन वा रद्दसमेत गरिने चेतावनी दिएको छ।