बुधबार, भाद्र ३ गते २०८३

राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या घटाउन योजना आयोगको सुझाव


आषाढ २९, २०८३ सोमबार
राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या घटाउन योजना आयोगको सुझाव

राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको सङ्ख्या घटाउन सुझाव दिएको छ । अर्थ समितिको सोमबारको बैठकमा आयोगका सदस्यसचिव रविलाल पन्थले  राष्ट्रिय गौरवका आयोजना अधिकतम १० वटामा सीमित गर्नुपर्ने बताए ।

 आयोजनामा देखिएका नीतिगत, कानुनी र व्यावहारिक जटिलताहरू औँल्याउँदै आयोजनाहरूको पुनरावलोकन गर्न  उनको सुझाव छ ।आयोगले गौरवका आयोजनाको सङ्ख्या बढीमा १० मा सीमित गरी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न सिफारिस गरेको छ । साथै, निर्माण सामग्रीको सहज आपूर्तिका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने र एक निर्माण व्यवसायीले एउटा प्याकेजभन्दा बढी ठेक्का नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए ।

सदस्यसचिव पन्थका अनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै र स्पष्ट कानुनी तथा नीतिगत व्यवस्था नहुँदा अन्य सामान्य आयोजना सरहकै प्रक्रियाबाट गुज्रनुपर्ने बाध्यता छ । यसले गर्दा आयोजनाहरूको प्रगति सन्तोषजनक हुन सकेको छैन । प्राथमिकताका आयोजनालाई परिणाममुखी बनाउने कार्यान्वयन कार्यविधिको अभाव, जग्गा प्राप्ति, रुख कटानी र मुआब्जा निर्धारणमा हुने ढिलाइ मुख्य समस्याका रूपमा रहेको उनले बताए ।

त्यसैगरी, ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको अभाव, वातावरणीय प्रभाव मूल्याङ्कनमा प्रक्रियागत ढिलाइ, बजेट व्यवस्थापनमा असन्तुलन र निर्माण व्यवसायीको कमजोर कार्यक्षमताले आयोजनाहरू प्रभावित भएका छन् । तयारी बिना नै गौरवका आयोजना घोषणा गरिएकाले प्रारम्भिक चरणमै लामो समय खर्च हुने गरेको आयोगको ठहर छ । हाल २७ वटा आयोजनालाई राष्ट्रिय गौरवको सूचीमा राखिएकोमा सीमित आयोजनाबाट मात्र ठोस नतिजा आउने सदस्यसचिव पन्थको विश्वास छ । समस्या समाधानका लागि आयोगले ५० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजनामा पर्याप्त बजेट विनियोजन गरी दुई वर्षभित्र सम्पन्न गर्ने रणनीति प्रस्ताव गरेको छ ।