काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाहरूलाई आकस्मिक प्रकृतिका बिरामीलाई मात्र बीमा अन्तर्गत सेवा दिन निर्देशन दिएको छ। बोर्डले २०८३ असार १८ गते जारी गरेको सूचनामार्फत यस्तो जानकारी गराएको हो।
स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी सूचनामा निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन भनिएको छ। त्यस्ता बिरामीलाई आवश्यक परे भर्ना (आईपिडी) तथा शल्यक्रिया (ओटी) समेत गरी उपचारपछि डिस्चार्ज गर्न सकिने उल्लेख गरिएको छ।
तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको नाममा उपचार गरी बीमा दाबी पेश गरेमा त्यस्ता दाबीको भुक्तानी नहुने र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बोर्डले चेतावनी दिएको छ।
बोर्डले आम सेवाग्राहीलाई पनि सूचनाको पूर्ण पालना गर्न आग्रह गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन र तोकिएबमोजिमको उपचार सेवा प्राप्त गर्न सहयोग गर्न अपील गरेको छ।
नेपालपत्र संवाददाता